चैत २४, २०७८
पर्वत : साहित्यकार पारिजातको उपन्यास ‘शिरीषको फूल’ मा आधारित नाटक ‘शिरीषको फूल’ बिहीबारदेखि पोखरामा मञ्चन सुरु भएको छ।
पोखरा थिएटरको गन्धर्व नाटक घरमा चैत २७ गतेसम्म नाटक मञ्चन गर्न लागिएको पोखरा थिएटर संस्थापक तथा क्रियटिभ डाइरेक्टर परिवर्तनले बताए। नाटकको निर्देशन अञ्जान प्रदीपले गरेका छन्। थिएटर मल र पोखरा थिएटरको सहकार्यमा नाटक मञ्चन सुरु गरिएको हो। नाटक हरेक दिन साँझ पाँच बजे र शनिवार दिउँसो एक पनि मञ्चन हुनेछ।
केदार श्रेष्ठको परिकल्पना रहेको नाटकमा समृद्धि नेपाल, संजय विश्वकर्मा, हाङ ओ हाङ राई, सविना गोपाली, मञ्जु महर्जन, अञ्जु रिजाल, अस्मिना भारती, रेजी बस्नेत र जेनी सुनुवारको अभिनय हेर्न पाइनेछ। नाट्य आलेख चौथो आयामले तयार पारेका हुन्।
यो नाटक सुप्रसिद्ध साहित्यकार पारिजातको मदन पुरस्कार विजेता उपन्यास शिरीषको फूल (वि.स.२०२२)मा आधारित छ।
थिएटर मलका संस्थापक तथा कला निर्देशक रहेका परिकल्पनाकार केदार श्रेष्ठ ‘शिरीषको फूल’ को देश यात्रा सुन्दर नगरी पोखराबाट सुरु हुन लागेकोमा उत्साहित भएको बताउँछन्। ‘पोखरामा व्यक्तिगत रुपमा मेरो तेस्रो नाटक हो। धेरै समयदेखि नाट्य गतिविधि नभइरहेको बेला २०७३ मा नाटक मान भर्सेस मति लिएर पोखरा आइपुगेको थिएँ,’ उनले भने, ‘त्यसपछि निर्देशकहरूको कार्यशालाबाट तयार नाटक खबर हराएका चिठ्ठी मार्फत यहीँ पोखरा थिएटरको मञ्चमा साक्षात्कार गर्ने मौका पाएको थिए। फेरि शिरीषको फूलको देवयात्रा सुन्दर नगरी पोखराबाट सुरु भएको छ।’
नाटक मञ्चनको लागि पोखरा आएको थिएटर मलको टिमले पोखराका नाट्य प्रेमी दर्शकको साथ पाउने अपेक्षा गरेको छ।
पोखराको गन्धर्व नाटक घरमा ‘शिरीषको फूल’
चैत्र २४, २०७८




