मङ्लबार, फाल्गुन २७, २०८१
Tuesday, March 11, 2025

गठबन्धनका पाँच भाइ खान जन्मेका हुन् : ओली

पर्वत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनका पाँच भाइहरू बाँडिचुँडी खान जन्मिएको बताएका छन्।

नेकपा एमाले पर्वतको आयोजनामा सदरमुकाम कुश्मा बजारमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उनले विकासका काम गरिरहेको सरकारलाई ढालेर मिलिजुली बाँडेर खाइरहेको आरोप लगाए।

‘यिनीहरूको काम भनेको जनताका अधिकार खोसेर आफन्तलाई पद दिनका लागि हो। गभर्नर आफ्नो नभएका कारण निलम्बन गर्छन्, आफ्ना भाइ, साढुभाइ, आफन्तलाई पद दिएका छन्’, उनले भने, ‘पाँचदलीय गठबन्धनका पाँच भाइहरू बाँडिचुँडी खान जन्मिएका हुन्। उनीहरूले बाँडेर खाएको त देखिएको छ।’

आफन्तहरूलाई पद बाँड्नैका लागि पार्टी फुटाएर गएकाहरू समेत मिलेर बनेको गठबन्धनका नेताहरू हात खप्टी खप्टी पानी समात्दै कसम खाए पनि एमाले भने डराउने अवस्थामा नरहेको अध्यक्ष ओलीको भनाइ छ। एमालेलाई पराजित गर्न सक्ने कोही पनि नभएको र भत्काउन सक्ने क्षमता कसैमा नरहेको पनि उनले बताए।

‘गठबन्धनका निर्णय सुनेर सबैले हात खप्टी खप्टी पानी समाते, कसम खाए अरे भनेर आत्तिनु पर्दैन। जनलहर यसरी आएको छ कि गठबन्धनका चौटाहरू वरपर छिरलिने छन्’, उनले थपे, ‘पार्टीमा प्रवेश गर्नेहरूले बिहान बेलुका फुर्सदै छैन। जहाँ गयो उहीँ टीका लगाउनेहरूको भीड छ। यो देखेर उनीहरूको सातो गएको छ।’

केही वर्षअघि आफूले गरेको भाषणमा जोडिएको अरिङ्गालको प्रसङ्ग जोड्दै अध्यक्ष ओलीले एमालेको गोलो अरिङ्गालको भन्दा पनि भयानक भएकाले एमालेसँग नखेल्न चेतावनी दिए। आउँदो स्थानीय निर्वाचनमा अरिङ्गालको गोलोको शक्ति र एमाले भनेको के हो? भन्ने कुरा देखिने दाबी गरे।

‘अरिङ्गालले त गोलो चलाउँदा त टोक्छ भने एमालेको गोलो चलाउँदा के होला? अब चुनावमा थाहा पाउँछन्, अरिङ्गाल भनेको के हो? एमाले भनेको हो?’, उनले भने, ‘एमाले साम्प्रदायिक पार्टी होइन, जातका कुरा गरेर भड्काउँदै हिँड्दैन। जनताको सेवा गर्ने ठाउँ स्थानीय तह भएका कारण स्थानीय तहमा एमालेको जित हुनुपर्छ।’

निहित स्वार्थका लागि पार्टी फुटाएकाहरूले पार्टीलाई सिद्ध्याउने प्रयास भइरहेका वेला कार्यकर्ताले नै जोगाएको भन्दै उनले एमालेमा समाहित हुन सर्वसाधारणलाई आह्वान पनि गरे।

आफू नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्सा प्रयोग गर्न गठबन्धनका नेताहरू डराएको पनि एमाले अध्यक्ष ओलीको भनाइ छ। एमालेलाई जिताउन सबैले सङ्कल्प गरेको भन्दै उनले स्थानीय तहको निर्वाचनमा एमाले नै पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरे।

स्थानीय तह नै सिंहदरबार भएका कारण विकासको क्रम स्थानीय तहबाटै शुरु हुनुपर्ने ओलीको भनाइ छ। गलत तरिका प्रयोग गरेर जनतालाई भुलाउने काम एमालेले नगर्ने भन्दै उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ निर्माणको जिम्मा पनि एमालेकै भएको बताए।

thahakhabar.com

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive