वैशाख ८, २०७९
पर्वत : बिहीबारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा एसईईको लागि पर्वतमा सबै तयारी पूरा भएको छ ।
जिल्ला विकास तथा समन्वय ईकाईले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर जिल्लाका सात ओटै स्थानीय तहमा रहने १९ ओटै परीक्षा केन्द्रमा सबै तयारी पूरा भएको जानकारी दिएको हो । सम्मेलनमा बोल्दै समन्वय इकाई प्रमुख रामेश्वर लामिछानेले उत्तरपुस्तिकाहरु सम्बन्धित परीक्षा केन्द्रमा पुगेको र प्रश्नपत्रहरु परीक्षा केन्द्रको पायकको स्थानमा रहेको प्रहरी चौकीको सुरक्षामा राखिएको बताए ।
बिहीबार बिहान ८ बजेबाट सुरु हुने परीक्षाको लागि १९ जना केन्द्राध्यक्ष, २० जना सहायक केन्द्राध्यक्ष, एक सय १८ जना निरीक्षक, २४ जना परीक्षा सहायक, ४६ जना कार्यालय सहयोगी तथा सुरक्षाको लागि कम्तीमा पनि एक सय जना प्रहरीहरुको व्यवस्थापन गरिसकिएको छ ।
इकाई प्रमुख लामिछानेका अनुसार गत वैशाख ५ मा बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकबाट १९ ओटा केन्द्र राख्ने निर्णय भएको र केन्द्राध्यक्षको रुपमा केन्द्र रहेको विद्यालयको प्रधानाध्यापकलाई नै राख्ने निर्णय भए अनुसार नै केन्द्राध्यक्षको व्यवस्थापन गरिएको हो ।
यस वर्षको एसईई परीक्षामा जलजला गाउँपालिकामा दुई ओटा, कुश्मा नगरपालिकामा छ ओटा, फलेवास नगरपालिकामा तीन ओटा, बिहादी गाउँपालिकामा दुई ओटा, पैयूँ गाउँपालिकामा दुई ओटा, मोदी गाउँपालिकामा दुई ओटा र महाशिला गाउँपालिकामा दुई ओटा केन्द्रहरु रहेका छन् । ती केन्द्रहरुमा नियमित तर्फका २२ सय ८३ जना, स्तर वृद्धिका २८ जना र प्राविधिक विषयतर्फका ३३ जना गरी कुल २३ सय ४४ जना परीक्षार्थीहरु सहभागी हुँदै छन् । ती केन्द्रहरुमा जिल्लाका ८० ओटा सामुदायिक र १२ ओटा संस्थागत विद्यालयका विद्यार्थीहरु रहेका छन् । नियमित परीक्षार्थी अन्तर्गत खुल्ला विद्यालय अन्तर्गत शिवालय माध्यमिक विद्यालय कुश्माबाट १० जना सहभागी हुन लागेको पनि ईकाई प्रमुख लामिछानेले जानकारी दिए ।
परीक्षाको स्थानीय तहको शिक्षा शाखा, राष्ट्रिय परीक्षा बोर्ड, जिल्ला परीक्षा समन्वय समिति, सामाजिक विकास कार्यालय, निर्देशनालय, समन्वय इकाई लगायतका पर्यवेक्षकहरुबाट अनुगमनको व्यवस्था गरिएको छ ।