शिक्षक सेवा आयोगले २०७८ चैत्र २ गते देखि लागु हुने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम, २०७८ सार्वजनिक गर्यो । १०० पूर्णाङ्कको परीक्षा र ५० प्रतिशत उत्तीर्णाङ्क तय गरेर पाठ्यक्रम सार्वजनिक गर्यो । पाठ्यक्रम अनुसार जम्मा ५० ओटा प्रश्न सोद्ने र प्रत्येक सही उत्तरको २ नम्बरका दरले अङ्क प्रदान गर्ने पाठ्यक्रमले निर्धारण गर्यो ।
खस्कँदै गएको नतिजालाई केही राहत दिन आयोगले लाइसेन्सको परीक्षामा केही सुधार गर्ने भएको छ । आयोगका उच्च अधिकारीका अनुसार शिक्षक छनोटका लागि लिएको तीनै तहको सामान्य विषयको परीक्षाको नतिजा लज्जास्पद आएपछि आयोगले माध्यमिक तह शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा वस्तुगत प्रश्नमा नेगेटिभ मार्किङ हटाइएको छ।
आयोगले गत चैत्र ३० गते माविको लाइसेन्सका लागि विज्ञापन गरेको थियो । २०७९ बैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ ५ गतेसम्म अबिलम्ब (दोब्बर) शुल्कमा परीक्षा आवेदन फाराम खुला गरेको थियो । सो परीक्षामा सहभागी हुन ६७ हजार २६८ जनाले आवेदन दिएका छन्। ६५ हजार १७६ जना आवेदकले समय सीमाभित्र आवेदन दिएका थिए ।
आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार सुदूरपश्चिम प्रदेशबाट ६ हजार ८३६, कर्णालीबाट ५ हजार ८१३, लुम्बिनीबाट १० हजार ९६२, गण्डकीबाट ५ हजार ६९६, बागमतीबाट १७ हजार ७८, मधेशबाट ८ हजार ६९७, र प्रदेश एकबाट १० हजार ९४, जनाले आवेदन दिएका छन् ।
मावि अध्यापन अनुमतिपत्रको परीक्षा असार १८ गते बिहान ८ बजे प्रदेशगत रुपमा सञ्चालन गर्ने आयोगले विज्ञापन गरेको छ।




