जेठ १५, २०७९
पर्वत : पर्वतको कुश्मा नगरपालिका–१ पाङको एक परिवारले आफ्नो परिवारका स्वर्गीय सदस्यको सम्झनामा तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ।
स्थानीय ज्यो.बाबुराम रिजाल, चन्द्रकला रिजाल, रामजी रिजाल र देवी रिजालले आफ्ना स्वर्गीय बुबा÷ससुरा को सम्झनामा स्थानीय पाङ धैरेनी माध्यमिक विद्यालयमा उक्त अक्षयकोष स्थापना गरेका हुन्। वि.सं. १९७९ सालमा जन्म भई २०३१ सालमा स्वर्गीय भएका पं. गुणराज रिजालको सम्झनामा विद्यालयमा अक्षयकोष गरिएको विद्यालयका सूचना अधिकारी तथा शिक्षक जयराम सुवेदीले बताए।
स्वर्गीय गुणराजले पनि विद्यालयको प्रगतिका लागि विभिन्न सहयोग गर्दै आएका र अहिले पनि सोही विद्यालयमा सहयोग गर्दा उनको आत्मले शान्ति पाउने भएका कारण विद्यालयमा अक्षकोषको स्थापना गरिएको सहयोगदाता बाबुराम बताउँछन्। अक्षयकोषमा रहेको पैसाको ब्याजबाट गरिव, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्दा समस्यामा परका बालबालिकाहरुले अध्ययनको लागि थोरै पनि राहत हुने र त्यो नै आफूहरुका लागि आशिर्वाद भएको उनको भनाई छ।
स्वर्गीय गुणराजका छोरा बुहारीहरु सहित नातिनातिनाहरू मिनु, बिनोद, पूजा, अर्जुन, टिका, तुलसी, यशोदा, नारायण, कल्पना, गोबिन्द, पार्वती, मनकुमारी बाँस्तोला, धनकुमारी कँडेल, नारायणी कँडेल तथा पनातीपनातिनीहरू कुशुम, सुप्रिया, गणेश, गौरव र तृप्ति रिजालहरूले स्वर्गीय बुबा र हजुरबुवाको आत्मको चीरशान्तिको कामना गर्दै उक्त अक्षयकोषका लागि योगदान गरेका हुन्।
अक्षयकोष स्थापना गरेको परिवार स्वर्गीय पं. गुणराजको स्मृतिमा राख्ने मूर्तिको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले अनावरण गरेकी छन्। सो अवसरमा बोल्दै उनले आफ्नो व्यवस्थापकीय नेतृत्मा रहेको विद्यालयको विकासको लागि आफूले आफ््नो ठाउँबाट सकेको सहयोग गर्ने विश्वास व्यक्त गरिन्। आफू विद्यालयको अध्यक्ष रहेको बेलामा नै कुश्मा नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकाले विद्याललाई शैक्षिक र भौतिक गुणस्तरमा अब्बल बनाउन आफूले सकेको पहल गर्ने पनि उनको भनाई छ
यसैबीच, पाङ निवासी प्रताप रिजाल र गोपाल रिजालले आफ्नी आमा गीता रिजालको जन्म दिनको सु–अवसरमा विद्यालयको शैक्षिक तथा भौतिक अभिबृद्धिका लागि पाँच हजार पाँच सय रुपैयाँ सहयोग गरेका हुन्।
विद्यालयले गरेको शैक्षिक प्रगतिका कारण उक्त विद्यालयमा अभिभावहरुको विश्वास बढ्दै गइरहेको छ। जसका कारण विवाह, ब्रतबन्ध, जन्मदिन लगायतका विशेष अवसर पारेर गाउँलेहरुले आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेका विद्यालयका सूचना अधिकारी शिक्षक जयराम सुवेदीले बताए।
विद्यालयका प्रधानाध्यापक गुणराज पौड्यालका अनुसार विद्यालय र समुदायबिचको असल सम्बन्धका कारण पाङ धैरेनी माध्यमिक विद्यालयले समुदायबाट आवश्यक सहयोग पाएको छ। जसका कारण त्यहाँका नागरिकले आफ्नो घरलाई जस्तै माया विद्यालयलाई पनि गर्ने उनको भनाई छ। पाङवासीले विभिन्न अवसरमा स्थापना गरेका अक्षयकोष र आर्थिक सहयोगले विद्यालयमा अध्ययनरत धेरै बालबालिकाहरुलाई सहयोग गर्न पाइएको पनि प्रधानाध्यापक पौडयालले बताए।