आइतवार, अशोज २०, २०८१
Sunday, October 6, 2024

पूर्णेश्वर मा.वि.मा भारत सरकारले बनाईदियो कम्प्युटर भवन

जेठ १८, २०७९
पर्वत : पर्वतको कुश्मा नगरपालिका–१० वितलवमा रहेको पूर्णेश्वर माध्यमिक विद्यालयमा भारत सरकारको आर्थिक सहयोगमा भवन निर्माण भएको छ। विद्यालमा रहेको कम्प्युटर शिक्षालाई गुणस्तरीय र व्यवस्थित बनाउनको लागि भारतले २ करोड ३१ लाखको लगानीमा कम्प्युटर भवनको निर्माण गरिदिएको हो।
उक्त भवनको भारतीय राजदूतावास काठमाडौंका प्रथम सचिव करुण वन्सलले मङ्गलवार उद्घाटन गरेका छन्। सो अवसरमा बोल्दै उनले परियोजनाले दुई देशबिचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्। भारत र नेपालबिच रहेको मैत्रीपूर्ण सम्बन्धको बारेमा बताउँदै उनले भारत सरकारले यस्तै खालका सहयोग नेपाल सरकारलाई उपलब्ध गराइरहने विश्वास पनि दिलाएका छन्। गाउँमा रहेको विद्यालयमा सञ्चालनमा रहेको प्राविधिक धारतर्फको शिक्षाप्रति चासो राख्दै वन्सलले आफू प्राविधिक शिक्षातर्फ थप सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्।
त्यस्तै विशिष्ट अतिथि कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङले पूर्णेश्वर मावि जिल्लाकै अब्बल विद्यालय रहेको बताउँदै यसको थप शैक्षिक प्रगति र उन्नतिमा आफूले सधैँ सहयोग गरिरहने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा विव्यस अध्यक्ष तथा शैक्षिक, सामाजिक अगुवा गणेश शर्मा पौडेलले विद्यालयको पृष्ठभूमि बताउँदै पूर्णेश्वर मावि जिल्लाको मात्र नभई यस क्षेत्रकै अग्रणी शैक्षिक धरोहर रहेको बताएका छन्। उनले भारत सरकारको सहयोगमा निर्मित भवन र कम्प्युटर ल्याबले विद्यालयको भौतिक र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सहयोग पुगेकोमा खुसी व्यक्त गर्दै सहयोगका लागि भारतीय सरकार र भारतीय राजदूतावासलाई धन्यवाद व्यक्त गरे। कार्यक्रममा नगर शिक्षा अधिकृत विष्णु तिवारी र विद्यार्थी शान्ति नेपालीले मन्तव्य राखेका थिए।
कार्यक्रमका अध्यक्ष पौडेलले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङका लागि ३२ सिटे गाडी, सुविधा सम्पन्न छात्रावास, कम्पाउन्ड वाल निर्माण र सिभिल इन्जिनियरिङका लागि आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन प्रमुख अतिथि मार्फत भारतीय सरकार र भारतीय दूतावासमा मानपत्र पेस गरेका थिए। विद्यालयका प्रधानाध्यापक नारायण अर्यालले स्वागत र उक्त कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सन्तोष पौडेलले गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive