जेठ १८, २०७९
पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले कास्कीको पोखरा महानगरपालिका–४ मा रहेको एक दोहोरी घरमा जुवा खेल्दै गरेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ।
चिप्लेढुङ्गामा रहेको साननानी दोहोरी घरमा जुवा तास खेलिरहेको भन्ने सूचना पाएको आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।
पक्राउ परेकाहरूमा स्याङ्जाको वालिङ नगरपालिका–३ घर भई पोखरा महानगरपालिका–१५ नयाँगाउँमा बस्दै २४ वर्षीय दीपक गुरुङ, सिद्धार्थ चोकमा बस्दै आएका २८ वर्षीय निम प्रसाद गुरुङ, ३० वर्षीय चित्र बहादुर गुरुङ, वालिङ–४ घर भई पोखरा–२६ बुढिबजारमा बस्दै आएका ४३ वर्षीय मुक्तिमान गुरुङ, पर्वतको कुश्मा नगरपालिका–१३ घर भई पोखराको चिप्लेढुङ्गामा बस्ने ४३ वर्षीय जय परियार, तनहुँको शुक्लागण्डकी नगरपालिका–२ घर भई पोखरा–८ मा बस्दै आएका ३८ वर्षीय गगन सिंह गुरुङ र कास्कीकै पोखरा महानगरपालिका–१६ बाटुलेचौर बस्दै आएका ४० वर्षीय दिलीप गायक रहेका छन्।
उनीहरुको साथबाट ८४ हजार ६५० नगद पनि बरामद भएको छ। पक्राउ परेकाहरु विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पनि कास्की प्रहरीले बताएको छ।
जुवा खेल्दै गरेका ८ जना पक्राउ
