पर्वत : पर्वतको कुश्मा नगरपालिका–८ चुवाका वडाध्यक्ष सुरेन्द्र के.सी.ले आफू पदमा पुगेपछि सम्पन्न गरेका एक सय दिन अवधिका कामहरुको विवरण सार्वजनिक गरेका छन्।
स्थानीय तहको निर्वाच नगत वैशाख ३० मा भएकोमा जेठ ११ गते उनले वडाध्यक्ष पदको सपथ ग्रहण गरेका थिए। एक सय दिनको अवधिमा गरिएकामध्ये प्रमुख १५ ओटा कामहरु उनले सार्वजनिक गरेका हुन्। गरेका कामहरुमा देवी थानदेखि चाइनाचोकसम्म हरियाली सडक शीर्षक अन्तर्गत जिल्ला डिभिजन बन कार्यालय र वडा कार्यालयको पहलमा अशोक तथा कल्की जातका बिरुवा रोप्नुका साथै ट्री गार्डको व्यवस्था गरिएको, वडाभित्रका सडक बत्तीहरु मर्मत गरेर पु्नः सञ्चालनमा ल्याइएको, कृषकहरुको मागको आधारमा २६ थान मिनी पावर टिलर वितरण गरिएको, सामाजिक सुरक्षा भत्तालाई घर–घरमा नै पुगेर बाँडिएको उल्लेख गरिएको छ।
आर्थिक वर्षका लागि बजेट तथा नीति निर्माण गरिनु, सार्वजनिक सेवा प्रदायक संस्थाहरु विद्यालय, स्वास्थ्य चौकी लगायतमा अनुगमन गरिएको, विभिन्न किसिमका सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुको परिचयपत्र नवीकरण गरिनु, मराङसिङ आहाल हुँदै हर्राचौर आउने भल बाढीको व्यवस्थापन गरी अस्थायी रुपमा आहाल डाँडाबाट सुन्दरे खोला जाने व्यवस्था गरिनु, वडाभित्रका विपन्न तथा गरिबहरुलाई किरिया खर्च उपलब्ध गराइनु, सुत्केरी महिलालाई घरदेखि अस्पताल आउजाउ गर्दाको रकम बेहोर्नुलाई पनि वडाले एक सय दिनका उपलब्धिका रुपमा हेरेको छ।
वडाध्यक्ष के.सी.ले नहर तथा सिचाईँ कुलाहरु बिग्रिएको ठाउँमा माग अनुसार पाईप उपलब्ध गराइएको, वडाका प्रशासनिक कार्यहरुलाई चुस्त दुरुस्त राखेको, अति विपन्न सुत्केरीको घरमा आमा र बच्चाको लागि पोषणको व्यवस्था गरिएको, वर्षाका कारण घर आवासमा क्षति पुगेकाहरुलाई तत्कालिन राहत उपलब्ध गराइएको तथा दोबिल्ला स्थित फलेवास चोकमा बाढीको कारण टहरा बगाएका पिडितहरुलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराउनको लागि कुश्मा नगरपालिकाको कार्यालयमा सिफारिस पेस गरिएको कुरालाई पनि सय दिनको उपलब्धिको रुपमा राखिएको बताए