पर्वत : पर्वतको मोदी गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई सङ्क्रमण रोकथाम सम्बन्धी तीन दिने तालिम प्रदान गरिएको छ।
गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, मोदी गाउँपालिको समन्वय तथा नवचेतना सामुदायिक विकास केन्द्रको आयोजनामा वास फिट परियोजना रहेर तालिमको सञ्चालन गरिएको हो। गाउँपालिकाभित्र रहेका आठ ओटा वडाहरुमा कार्यरत १६ जना स्वास्थ्यकर्मीहरुलाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणको बारेमा प्रशिक्षण दिइएको हो।
विभिन्न रोगहरु सङ्क्रामक रुपमा आएर नागरिकको जीवनस्तरमा नै खलबल बनाउने अवस्था कायमै रहेको बेलामा स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गरेर उनीहरुलाई सङ्क्रमक रोगहरु नियन्त्रणमा सबल बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको हो।
तालिममा सहभागी स्वास्थ्यकर्मीहरुले प्रशिक्षणबाट आफूहरुको क्षमता विकासमा थप सहयोग पुगेको बताउँदै कुनै पनि सङ्क्रामक रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि आफूहरुले हदैसम्मको प्रयास गर्ने बताए। त्यसका लागि व्यवस्थापकीय र कार्यान्वयनका पक्षमा महत्वपूर्ण सिकाई भएको उनीहरुले बताएका छन्। आफूहरुले सिकेको ज्ञान सिप आफनो स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारीहरुलाई पनि बाँडेर सबैको सहकार्यमा सङ्क्रामक रोगहरुको बिरुद्ध एक भएर लाग्ने तालिममा सहभागी स्वास्थ्यकर्मीहरुको प्रतिबद्धता छ।
तालिममा समापन समारोहमा सहमभागीकोतर्फबाट बोल्दै गोकुल प्रसाद अधिकारी र फुलमाया वि.क. आफ्ना लागि तालिम उपलब्धिमूलक रहेको बताए। स्वास्थ्य क्षेत्र तथा सङ्क्रामक रोगको रोकथाम तथा नियन्त्रणमा कतिपय विधिहरु परिर्वतन भएको सन्दर्भमा आफूहरु पनि त्यसबारे जानकार हुने पाएको उनीहरुले खुसी व्यत्तः गरे।। फोहोर व्यवस्थापनमा आ–आफनो स्वास्थ्य संस्थामा व्यवस्थापनलाई अझै प्रभावकारी बनाउने अन्य सहभागीहरुले पनि बताएका छन्।
गाउँपालिकाका स्वास्थ्य संयोजक उमेश कुमार अधिकारीले न्युन्तम मापदण्ड अपनाएर ज्ञान सिप व्यवहार परिवर्तन गर्ने विषयमा जानकारी गराएका थिए। प्रशिक्षक अन्जना पौडेलले सङ्क्रामक रागको नियन्त्रणको बारेमा थाहा नभएका स्वास्थ्यकर्मीहरुलाई परिवर्तित विषयमा सिकाउन पाउनुले स्वास्थ्य प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन।
गुड नेर्वस इन्टरनेसनल नेपालका परियोजना संयोजक मनकुमार राइ र स्वास्थ्य सहसंयोजक प्रकाश सुवेदीको पनि सहभागिता रहेको थियो।
मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024