मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024

विज्ञान शिक्षक समाजको आयोजनामा शिक्षकलाई प्रशिक्षण

पर्वत : पर्वतका बिभिन्न विद्यालयहरुमा अध्यापनरत शिक्षकहरुलाई विज्ञान विषय शिक्षणमा थप सहयोग गर्न एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाभर कार्यरत रहेका विज्ञान शिक्षकहरुको भेलाबाट हालै मात्र स्थापना भएको विज्ञान शिक्षक समाज नेपाल, जिल्ला कार्यसमिति पर्वतको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । ‘विज्ञान प्रविधिमा लगानी विस्तार ः समुन्नति र समृद्धिको आधार’ भन्ने नाराका साथ मनाइएको १० औँ राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको समाजका पर्वत अध्यक्ष प्रोमोद सुवेदीले बताए । प्रशिक्षण कार्यक्रममा विद्यालयमा प्रयोगात्मक कक्षा व्यवस्थापन गर्ने विधिको बारेमा छलफल भएको थियो ।
शिक्षक तालिम केन्द्र दमौलीका शाखा अधिकृत प्रकाश देवकोटाले सहजीकरण गरेको प्रशिक्षण कार्यक्रममा कक्षाकोठामा शिक्षकहरुले भोगिरहेका व्यवहारिक समस्याहरु, शैक्षिक सामग्री, बदलिएका आधुनिक शिक्षण विधि, बाल मनोविज्ञानमा केन्द्रीत शिक्षण सिकाई, शिक्षक अभिभावक तथा शिक्षक विद्यार्थी सम्बन्ध लगायतको बारेमा पनि सहभागीहरुबिच छलफल भएको थियो । उनीहरुले आपसी अनुभव साटदा मात्रै पनि धेरै नयाँ कुराहरुको सिकाई हुने भएकोले विज्ञान शिक्षक समाजले आगामी दिनमा पनि यस्तै कार्यक्रमको आयोजना गर्न अनुरोध गरे ।
प्रशिक्षणको उदघाटन समारोहमा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्धिमराज पौडेलले तालिममा सिकेका कुराहरुलाई कक्षाकोठामा प्रयोगात्मक रुपमा नै प्रयोगमा ल्याउनुपर्ने बताए । परिवर्तन गर्ने र आफूले गरेरै देखाउने इच्छाशक्ति भएमा सिकेका कुराहरुलाई सबैले व्यवहारमा उतार्न सकिने उनको भनाई छ । विज्ञान शिक्षक समाजले प्रयोगात्मक शिक्षण क्रियाकलापको लागि गरेको प्रशिक्षण कार्यक्रम प्रशंसनीय रहेको र शिक्षा विकास तथा समन्वय ईकाई सहकार्य गर्नका लागि तयार रहेको पनि इकाई प्रमुख पौडेलको भनाई छ ।
कुश्मा नगरपालिकाका शिक्षा अधिकृतद्धय दीपक सुवेदी र अर्जुन पौडेलले पनि कार्यक्रममा भनाई राखेका थिए । उनीहरुले शिक्षकहरु गरेको मिहिनेतका कारण देशका धेरै सामुदायिक विद्यालयहरु विद्यार्थी थेग्नै नसक्ने अवस्थामा रहेको उदाहरण दिँदै अभिभावकहरु गुणस्तरीय शिक्षाको खोजीमा भौतारिएको उल्लेख गरे । भर्खरै स्थापना भएको विज्ञान शिक्षक समाजले सुरुमा नै शिक्षकहरुको लागि तालिमको आयोजना गरेर गुणस्तरीय शिक्षा प्रवाहमा गरेको प्रयासमा आफूहरुको पनि साथ रहने आगामी दिनमा कुश्मा नगरपालिकाले पनि समाजसँगको सहकार्यमा कार्यक्रमहरुको आयोजना गर्ने बताए ।
समाजको जिल्ला कार्यसमिति पर्वतका अध्यक्ष प्रोमोद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गणेशराज पौडेलले र सञ्चालन सचिव यामनारायण चापागाईँले गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive