पर्वत : नवौँ खेलकुद प्रतियोगिता, २०७९ अन्तर्गत पर्वतमा सम्पन्न भएको कराँते प्रतियोगितामा विभागीय टिम हाबी भएका छन्।
गत असोज २९ गतेदेखि बुधवारसम्म पर्वत सदरमुकाम कुश्मा बजारको बडागाउँ स्थित सेमी कभर्ड हलमा भएको कराँतेको ५३ औँ राष्ट्रिय प्रतियोगितामा कराँतेका १९ स्वर्ण पदकमध्ये विभागीय नेपाल पुलिस क्लबले सर्वाधिक ९ स्वर्ण पदक हात पार्दै कराँतेमा आफ्नो वर्चस्व कायम गरेको छ। पुलिसले ३ रजत र ५ कांस्य पदक गरी १७ पदक सहित आफूलाई पहिलो स्थानमा उभ्याएको हो।
पुलिस क्लबका खेलाडीले महिला एकल काता, महिला ४५ के.जी तौल समूह, महिला ५० के.जी तौल समूह, महिला ५५ के.जी तौल समूह, पुरुष ६० के.जी तौल समूह, पुरुष ६७ के.जी तौल समूह, पुरुष ७५ के.जी तौल समूह, पुरुष ८४ के.जी भन्दा माथिको तौल समूह र महिला ६८ के.जी भन्दा माथिको तौल समूहमा स्वर्ण पदक हात पारेका छन्। यस्तै पुरुष टिम काता, महिला टिम कुमुते र महिलाको ६१ के.जी तौल समूह गरी ३ रजत पदक पाएको पुलिसले महिला समूह काता, पुरुष एकल काता, पुरुष ५० के.जी तौल समूह, महिला ६८ के.जी भन्दा तलको तौल समूह र पुरुष ८४ के.जी भन्दा माथिको तौल समूह गरी ५ वटा कांस्य पदक जितेको छ।
दोस्रो स्थानमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लब हाबी भएको छ। एपीएफले ५ स्वर्ण, १ रजत र ७ कांस्य सहित १३ पदकका साथ दोस्रो स्थान कब्जा गरेको छ। एपीएफले पुरुष टिम काता, पुरुष टिम कुमुते, पुरुष एकल काता, पुरुष ५५ के.जी तौल समूह र महिला ६८ के.जी भन्दा तलको तौल समूहमा स्वर्ण पदक पाएको हो। पुरुष ६७ के.जी तौल समूहमा रजत पदक पाएको एपीएफले महिला ५०, ५५ र ६१ के.जी तौल समूह, पुरुष ६० के.जी, पुरुष ८४ के.जी भन्दा माथि र तलको दुई तौल समूह तथा महिला टिम कुमुतेमा कांस्य पदक पाएको छ।
तेस्रो स्थानमा समेत विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब हाबी छ। आर्मी २ स्वर्ण, ६ रजत र १ कांस्य गरी ९ पदक सहित आर्मी तेस्रो स्थानमा आएको हो। आर्मीले महिला ६१ के.जी तौल समूह र महिला टिम कातामा स्वर्ण पदक, पुरुष ५५ के.जी, ८४ के.जी भन्दा माथि र तलको गरी दुई तौल समूह, महिलाको ६८ के.जी भन्दा माथि र तलको गरेर दुई तौल समूह र महिला एकल काताबाट रजत तथा पुरुष टिम कुमुतेबाट कांस्य पदक जितेको छ।
प्रतियोगितामा बागमती प्रदेशले २ स्वर्ण, २ रजत र ४ कांस्य गरी ८ पदक हात पारेको छ। उसले पुरुषको ८४ के.जी भन्दा तलको तौल समूह र महिला टिम कुमुतेबाट स्वर्ण, पुरुष एकल काता र पुरुष ५० के.जी तौल समूहबाट रजत तथा पुरुष टिम काता, महिला टिम काता, पुरुष टिम कुमुते र पुरुष ७५ के.जी तौल समूहबाट कांस्य पदक जितेको हो।
त्यस्तै सुदूरपश्चिम प्रदेशले १ स्वर्ण सहित ६ कांस्य पदक प्राप्त गर्दा गण्डकीले ३ रजत र ३ कांस्यमा चित्त बुझाएको छ। सुदूरपश्चिमले पुरुष ५० के.जी तौल समूहबाट स्वर्ण तथा महिला एकल काता, महिला ४५ र ५० के.जी तौल समूह, पुरुष ५५ र ६० के.जी तौल समूह र महिला टिम कुमुतेबाट कांस्य पदक पाउँदा गण्डकीले पुरुष टिम कुमुते, पुरुष ६० र ७५ के.जी तौल समूहबाट रजत तथा महिला ५५ के.जी तौल समूह, पुरुष ५० के.जी तौल समूह र पुरुष ६७ के.जी तौल समूहबाट कांस्य पदक पाएको छ।
प्रदेश नम्बर १ ले ३ रजत र ६ कास्यपदक प्राप्त गरेको छ। उसले महिला टिम काता तथा ४५ र ५५ के.जी तौल समूहबाट रजत र पुरुष टिम काता, पुरुष एकल काता, पुरुष ५५ र ७५ के.जी तौल समूह, महिला ६८ के.जी भन्दा तल र माथिका दुई तौल समूहबाट कांस्य पदक हात पारेको हो।
लुम्बिनी प्रदेशले १ रजत र ३ कांस्य पदक प्राप्त गर्दा कर्णालीले भने २ कांस्य पदकमा मात्रै चित्त बुझाएको छ। लुम्बिनीले महिला ५० के.जी तौल समूहबाट रजत तथा पुरुष ८४ के.जी भन्दा माथिको तौल समूह तथा महिला ६१ र ६८ के.जी भन्दा माथिको तौल समूहबाट कांस्य पदक पाउँदा कर्णाली प्रदेशले महिला एकल काता र महिला ४५ के.जी तौल समूहबाट कांस्य पदक पाएको हो।
मधेस प्रदेशले पुरुष ६७ के.जी तौल समूहबाट कांस्य पदक पाउँदा सुदूरपश्चिम प्रदेशले पुरुष ५०, ५५ र ६० के.जी तौल समूहबाट रजत तथा महिला एकल काता, महिला ४५ र ५० के.जी तौल समूह र महिला टिम कुमुतेबाट कांस्य पदक पाएको छ।
प्रतियोगिताका अन्य विधामा सहभागिता जनाएको गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले भने कराँते विधामा सहभागिता जनाएन। कराँतेमा १९ स्वर्ण, १९ रजत र ३८ कांस्य सहित जम्मा ७६ पदकका लागि खेल भएको हो।
खेलको समापन समारोहमा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पर्वतमा सौहार्दपूर्ण रुपमा खेल सम्पन्न भएको भन्दै खेल सम्बद्ध निकायहरुप्रति आभार व्यक्त गरे। आफू खेल क्षेत्रको विकासको जहिले पनि तयार रहेको बताउँदै उनले कराँते खेल आत्मानुशासनको खेल पनि भएकाले यसको थप विकास हुनुपर्ने धारणा राखे। जिल्लामा खेलको विकासका लागि आवश्यक भौतिक संरचनाहरु अभाव रहेको भन्दै नगर प्रमुख जोशीले नगरपालिकाकातर्फबाट गर्न मिल्ने सम्मको सहयोग उपलब्ध गराउने बताए।
यस्तै नेपाल कराँत महासंघका केन्द्रिय कार्यबहाक अध्यक्ष दावा गुरुङले पर्वतमा कराँतेका राम्रा खेलाडीहरु उत्पादन भएको बताउँदै आफूले खेलका लागि म्याट उपलब्ध गराउने घोषणा गरेका छन्। म्याटको अभावमा खेलाडीहरुलाई अभ्यास गर्न कठिनाई भएकाले उनीहरुलाई अभ्यास गर्ने वातावरण प्रशस्त गर्नको लागि सहयोगको घोषणा गरेका हुन्।
समापन कार्यक्रममा स्वागत मन्तब्य राख्दै कराँते पर्वतका संयोजक राम श्रेष्ठले जिल्लामा कराँते खेलको विकासका लागि पूर्व खेलाडीहरुले गरेको योगदान महत्वपूर्ण रहेको बताए। खेल क्षेत्रमा लागेर जीवन निर्वाह गर्न सक्ने अवस्था नरहेको बेलामा पनि पर्वतमा कराँते खेलको विकास उत्साहजनक रुपमा अगाडि बढीरहेको उनको भनाई थियो। अर्को प्रसङ्गमा उनले कराँतेको राष्ट्रिय प्रतियोगितालाई पर्वतमा आयोजना गर्न दिएर राष्ट्रिय खेलकुद परिषद र कराँते महासंघले यहाँको खेल क्षेत्रलाई उत्साहित बनाएकोमा धन्यवाद ज्ञापन गरे।
कार्यक्रमको सञ्चालन कराँतेका मुख्य सहायक प्रशिक्षक दीपक श्रेष्ठले गरेका थिए।
बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024