पर्वत : जिल्लाको मोदी गाउँपालिका–५ बाजुङमा आयोजना भएको जिल्लाभित्रको खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको बिजेता मोदी यूवा सञ्जाल बनेको छ।
मङ्गलबार भएको खेलमा प्रतियोगिताको आयोजक समेत रहेको सञ्जालको समूहले तीन सेटमा विजय कायम गरी दुक्तानको समूहलाई पराजित गरेका हो। सञ्जालले २५–१५, २५–२१ र १५–१३ ले तीन सेट जित्दा दुक्तानले २५–२२ र २५–१९ मा दुई सेट जितेको थियो।
आयोजकको समूह घरेलु मैदान र दर्शकको सर्मथनको जोशका साथ मैदानमा उत्रिँदा दुक्तानको समूहले पनि उत्तिकै जोशका साथ खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो। देस्रो सेटमा भने सञ्जालले दुक्तानलाई आफ्नो दबाबमा राखेर खेल जित्यो। दुक्तान दबाबमा रहँदा आयोजकले २५–१५ ले सेटा आफ्नो पोल्टामा पारेको थियो। लयमा फर्किनुपर्ने बाध्यता रहेको दुक्तानले तेस्रो सेटमा पुनरागमन गर्दै २५–१९ ले सञ्जाललाई हराउन सक्यो। दुक्तानलाई पराजित गर्ने दाउमा रहेको सञ्जालले खेलमा सुधार गर्दै २५–२१ ले सेट जित्यो। ‘बेस्ट अफ फाइभ’ को आधारमा भएको खेलमा निर्णायक तथा अन्तिम सेट निकै रोमाञ्चक र प्रतिस्पर्धी बनेको थियो। निर्णायक सेटमा अन्ततः आयोजक हाबी हुँदै १५–१३ ले प्रतियोगिताको ट्रफी आफ्नो पक्षमा पारेको छ।
प्रतियोगिताको तेस्रो स्थानमा भने लिमिठानाको टोली आएको छ। बाजुङको समूहसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने भए पनि लिमिठाना पाहुना टोली भएकोले उसको सम्मानमा बाजुङले ‘वाक ओभर’ दिएपछि तेस्रो स्थानमा लिमिठाना आएको हो।
भलिबल प्रतियोगितामा बिजेता बनेको अयोजक मोदी यूवा सञ्जालको टोलीले १ लाख १ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ। उपबिजेता बनेको दुक्तानको टोलीले ५१ हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र तथा तेस्रो बनेको लिमिठानाको समूहले २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ।
बाजुङ घर भई हाल हङकङमा रहँदै आएका समाजसेवी तथा ‘मिलन ग्रुप अफ नेपाल’ का संयोजक दुर्गा घोताने गुरुङ ‘मिलन’ ले प्रथम पुरस्कारको सौजन्य गरेका थिए। अघिल्लो संस्कारणमा पनि प्रथम पुरस्कार उनकै सौजन्यमा प्रदान गरिएको थियो। देश बाहिर रहे पनि देशभित्रका विभिन्न कार्यक्रममा सघाउँदै आएका उनले विगतमा पनि बाजुङ सहितका ठाउँमा आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेका छन्। समाजसेवी गुरुङले नै मिलन फाउण्डेसन संस्था स्थपना गरेर आफ्नो एकल लगानीमा सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। कतिपय संस्थाहरुलाई दाताले सहयोग गरेर सामाजिक सेवाका क्षेत्रमा लगानी गर्ने गरेको भए पनि गुरुङले आफ्नो कमाईको रकमलाई नै सामाजिक रुपमा खर्चिने गरेका हुन्। सामाजिक सेवाको कामले समस्यामा परेकाहरुलाई सहयोग गर्दा आत्मसन्तुष्टी मिल्ने भएकाले आफूले संस्थाकोतर्फबाट शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा काम गरिरहेको मिलन फाउण्डेसनका संरक्षक गुरुङ बताउँछन्।
यस्तै दोस्रो पुरस्कार बाजुङ नै घर भई हाल अमेरिकामा रहँदै आएका राजु शर्मा तथा तेस्रो पुरस्कार मोदी गाउँपालिका–६ को कार्यालय तिलाहारले सौजन्य गरेको थियो।
प्रतियोगितामा पुरुष भलिबलतर्फका बेस्ट स्पाईकर अनिल कुँवर, बेस्ट ब्लकर जगदीश सुवेदी, बेस्ट लिफ्टर बिमल गुरुङ, बेस्ट प्लेयर आदर्श क्षेत्री र बेस्ट लिब्रो यामबहादुर परियार बनेका छन्। उनीहरुलाई पनि पुरस्कार प्रदान गरिएको छ।
यस्तै ४० वर्ष उमेर माथिको प्रौढ भलिवल प्रतियोगिताको बिजेता बन्दै खुईँजरीको टोलीले २५ हजार तथा उपबिजेता बनेको कुश्माको टोलीले १५ हजार रुपैयाँ पाएका छन्। उनीहरुले मेडल र प्रमाणपत्र पनि पाएका छन्। प्रतियोगिताको अर्को आकर्षण रहेको ‘आर्म रेस्लिङ’ अर्थात ‘हात जुधाई’ रहेको थियो। हाज जुधाउन सिपालु जिल्लाका बिभिन्न स्थानका दर्जन बढी प्रतिस्पर्धीको भिडमा अर्जुन क्षेत्री पहिलो, मिलन थापा दोस्रो र याम बहादुर मल्ल (जीवन) तेस्रो भएका छन्। बिजेता बनेका क्षेत्रीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
मोदी यूवा सञ्जाल (बाजुङ शाखा) को आयोजनामा खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम भएको हो। विगतदेखि नै हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको शाखाले यस वर्ष ‘युवाहरुलाई खेलकुद तर्फ आकर्षण गरौँ, स्वस्थ र समुन्नत समाजको निर्माण गरौँ’ भन्ने मूल नारा सहित कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रमको पुरस्कार वितरण तथा समापन कार्यक्रममा बोल्दै मिलन फाउण्डेसन नेपालकी अध्यक्ष गंगा कुमारी गुरुङले खेलप्रति गाउँमा रहेका यूवाहरुको चासो देखेर खुसी लागेको बताएकी छिन्। अवसर नपाएका कारण आफूहरुमा रहेको क्षमता प्रदर्शन गर्ने अवसर नपाएका धेरै यूवाहरुमा गाउँ गाउँमा रहेको बताउँदै उनले गाउँ गाउँमा रहेका क्लबहरुले यूवाको क्षमता प्रदर्शनमा चासो दिनु खुसीको कुरा भएको बताइन्। नेपालमा रहेका सँस्कृतिहरु मौलिक रहेकाले तिनीहरुको संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै उनले मोदी यूवा सञ्जाल बाजुङ शाखाले गरेका कामप्रति आभार व्यक्त गरिन्।
यस्तै मिलन फाउण्डेसनकी कार्यबाहक अध्यक्ष देवी गुरुङले मिलन फाउण्डेसनले सामाजिक समस्यामा परेकाहरुलाई सहयोग गर्नेदेखि आर्थिक समस्याका कारण अध्ययनमा कठिनाई भोगिरहेका बालबालिकाहरु, खेलाडीहरु लगायतलाई पनि सहयोग गर्दै आइरहेको बताईन। मोदी यूवा सञ्जालसँग आगामी दिनमा पनि सहकार्य गर्ने उनले प्रतिबद्धता जनाइन्।
सञ्जाल बाजुङ शाखाका अध्यक्ष दिपेन्द्र हमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव चन्द्रप्रकाश पौडेल (सुमन) ले गरेका थिए। सो अवसरमा कार्यक्रम सम्पन्न गर्नका लागि आर्थिक, भौतिक तथा नैतिक रुपमा सहयोग गरेका व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो।