पर्वतमा बाम–लोकतान्त्रिक गठबन्धन दलले चुनावी कार्यक्रमलाई आक्रामक रूपमा अघि बढाइरहेका छन् । प्रत्येक मतदाताको घरघरमा पुगेर गठबन्धन दलका उम्मेदवारहरूले मत मात्र मागिरहेका छैनन्, उनीहरूले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
निर्वाचनको दिन नजिक आउँदै गर्दा गठबन्धन दलले विभिन्न स्थानमा सम्पर्क कार्यालय खोल्ने र कार्यालयमा नै बसेर मतदातासँग भेटघाटदेखि उनीहरूका गुनासाहरू सुन्ने कार्य गर्दै आएको छ । यसै अनुरूप गठबन्धन दलले अन्यत्र जस्तै आज मोदी गाउँपालिकाको पातिचौर बजारमा बाम–लोकतान्त्रिक गठबन्धन चुनाव प्रचारप्रसार सम्पर्क कार्यालयको स्थापना गरेको छ ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार अर्जुन प्रसाद जोशी र पर्वत प्रदेश (क) उम्मेदवार सुदिप कुँवरको उपस्थितिमा कार्यालयको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार जोशीले सम्पर्क कार्यालय चुनावी प्रचारप्रसारको लागि मात्र नभएर जनताका गुनासा, सल्लाहदेखि आलोचनासमेत सुन्न सुनाउने थलोको रूपमा रहेको बताउनुभयो ।
“मोदी गाउँपालिका कृषि, पर्यटन, हस्तकला, ढाका र जडीबुटीहरूका लागि प्रख्यात ठाउँ हो ।”, उहाँले भन्नुभयो, “यहाँको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्नुपर्ने आवश्यकता देखेको छु । यो काम म सँसदमा पुगेर नीतिगत रूपमै निर्णय गराउँछु र गाउँका उत्पादनलाई ब्राण्डिङ गर्न भूमिका निर्वाह गर्छु ।”
सोही कार्यक्रममा पर्वत प्रदेश सभा (ख) उम्मेदवार सुदिप कुँवरले काँग्रेस र माओवादीसहितको गठबन्धन दलले मात्रै गाउँ र गाउँलेहरूका समस्यालाई पहिचान गर्न सक्ने बताउनुभयो । “मोदीको समस्या बारे म पुरापुर जानकार छु ।”, उहाँले भन्नुभयो, “बिजुली गाउँका रूपमा परिचित मोदीलाई अब पर्यटकीय ठाउँका रूपमा पनि लैजानुपर्ने देखेको छु । कृषि र पर्यटनबाट नै यहाँका नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सकिन्छ, त्यो म गर्नेछु ।”
कार्यक्रममा नेकपा समाजवादीकी सङ्गीता सुबेदी, नेकपा माओवादीका केन्दि«य सदस्य मनहरि तिमिल्सिना, संयुक्त गठबन्धन चुनाव परिचालन समितिका संयोजक खगेन्द्र तिवारीले बोल्नु भएको थियो ।
यस्तै नेपाल समाजवादी पार्टीका केन्दि« सदस्य देवी लामिछाने, गण्डकी प्रदेशका निवर्तमान सभामुख नेत्रनाथ अधिकारी, नेपाली काँग्रेसकी प्रदेश सदस्य मिना केसी र निवर्तमान गण्डकी प्रदेश सभा सदस्य ललितकला गुरुङले समेत आफ्नो धारणा राख्नुभएको थियो ।
मोदी गाउँपालिकाको काँग्रेस सभापति निर्देश लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा मोदी–२ चुनाव प्रचारप्रसार समितिका संयोजक देवराज गिरी र कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र मोदीका अध्यक्ष कृष्ण सुबेदीले गर्नुभएको कुरा पत्रकार उत्तम अधिकारीले जानकारी दिनुभयो ।