बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

मिलन फाउण्डेसनद्धारा दालपोखरी आधारभूतका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

पर्वत : सामाजिक सेवाको क्षेत्रमा सक्रिय मिलन फाउण्डेसन नेपालको तर्फबाट कुश्मा नगरपालिका–४ दुर्लुङमा रहेको दालपोखरी आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
मिलन फाउण्डेसनकी अध्यक्ष गंगाकुमारी गुरुङ नेपाल आएको अवसर पारेर ३७ जना बालबालिकाहरुलाई बिभिन्न शैक्षिक सामग्रीहरु वितरण गरिएको हो । त्यस बाहेक विद्यालयको भौतिक व्यवस्थापनका लागि केही थान कुर्चीहरु पनि सहयोग गरिएको छ । दुर्लुङकै पुरानो विद्यालयको रुपमा रहेको प्राथमिक तहको उक्त विद्यालयको अवस्था दयनीय रहेको तथा अधिकांश विद्यार्थीहरु कमजोर आर्थिक अवस्थाका रहेका कारण विद्यालयमा सहयोग गरिएको फाउण्डेसनकी अध्यक्ष गंगाकुमारी गुरुङले बताईन ।
शैक्षिक सामग्रीहरु विद्यार्थीलाई हस्तान्तरण गर्दै उनले मिलन फाउण्डेसनले शिक्षा, स्वास्थ्य, कृषि, मनोरञ्जन लगायतका क्षेत्रमा बिभिन्न ठाउँमा सहयोग गर्दै आएको बताउँदै सोही अनुसार दालपोखरीका विद्यार्थीहरुलाई सहयोग गरिएको बताइन् । आफ्नो जन्मगाउँको विद्यालय भएकाले पनि सहयोगका लागि आफू तत्पर रहेको भन्दै उनले विद्यालय र अभिभावक दुबैको आर्थिक अवस्था कमजोर हुँदा विद्यार्थीहरुको समस्या समाधान गर्न कठिन देखिएको बताईन् । ग्रामिण क्षेत्रमा रहेका विद्यालय, स्वास्थ्य संस्था लगायतका सार्वजनिक संस्थाहरु अझै पनि दुःखद अवस्थाबाट गुर्जिनुपर्ने अवस्था रहेको गुरुङको भनाई छ ।
कार्यक्रममा बोल्दै मिलन फाउण्डेसनकी कार्यबाहक अध्यक्ष देवी गुरुङले सामाजिक सेवाको क्षेत्रमा काम गर्न पाउँदा मिलन फाउण्डेसनले सबैको माया पाएको बताइन् । फाउण्डेसनका सदस्य जयप्रसाद गुरुङले बालबालिकाहरु नै देश निर्माणको आधार भएकाले बालबालिकाहरुको बृत्ति विकासमा सबैको ध्यान जानुपर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा धनकुमारी गुरुङ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सुकबहादुर गुरुङ, फाउण्डेसनका सदस्य जीवन मल्ल, ममताज गुरुङ, धरमदेवी गुरुङ, बिजय गुरुङ, विजयालक्ष्मी पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष गणेश बसेल, सदस्य शान्ती सार्की, ईश्वरी साकी, चण्डी यूवा क्लबका अध्यक्ष दिपेन्द्र सार्की लगायतको उपस्थिति रहेको थियो ।
पर्वतकै मोदी गाउँपालिकाको बाजुङमा जन्मिएर हाल हङकङमा रहँदै आएको दुर्गा घोताने गुरुङ ‘मिलन’ ले मिलन फाउण्डेसन स्थापना गरेका हुन् । देश बाहिर रहे पनि देशभित्रका विभिन्न कार्यक्रममा सघाउँदै आएका उनले पर्वत जिल्ला सहित देशका अरु जिल्लामा पनि आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेका छन् । आफ्नो एकल लगानीमा सामाजिक सेवामा सक्रिय रहँदै आएका उनले आफ्नो कमाईको रकमलाई नै सामाजिक रुपमा खर्चिने गरेका हुन् ।

 

 

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive