पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको अन्नपूर्ण बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको चौथो साधारण सभा, सम्मान तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
फलेवास नगरपालिका–४ मुडिकुवा स्थित शिर्सुवामा आयोजना गरिएको वनभोज कार्यक्रमकै अवसरमा संस्थाको साधारण सभा पनि सम्पन्न भएको हो । साधारण सभामा संस्थाकी अध्यक्ष राधाकुमारी कुँवर क्षेत्रीले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन तथा कोषाध्यक्ष गोविन्दप्रसाद पोखरेलले पेस गरेको आर्थिक प्रतिवेदन सहभागी शेयर सदस्यहरुबाट पारित गरिएका छन् ।
सो अवसरमा बोल्दै शेयर सदस्य कार्यक्रमका प्रमुख अतिथि फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले सहकारी संस्थाले नागरिकको आर्थिक कारोबारमा जोडिएर गरेको सहयोग अतुलनीय रहेको बताए । ससंस्थाहरुको सङ्ख्या धेरै रहँदा नागरिकले उनीहरुको अवस्था हेरेर कारोबार गर्ने अवसर पाउने भए पनि कतिपय अवस्थामा भने अस्वस्थ प्रतिस्पर्धाका कारण नागरिक नै समस्यामा पर्ने गरेको उनको भनाई थियो ।
संस्थाकी अध्यक्ष क्षेत्रीले संस्था स्थपना भएलगत्तै सुरु भएको कोभिड–१९ को महामारीले आफूहरुलाई केही समस्यामा पारेको बताइन । कृषि, व्यापार, उद्योग लगायतका क्षेत्रमा लगानी गर्नका लागि आफूहरु तयार रहेको भए पनि लगानीकर्ताहरु नै कोभिडको मारमा परेको उनले सुनाईन । अध्यक्ष क्षेत्रीले सहकारीले आगामी दिनमा गर्न सक्ने काम तथा शेयर सदस्यहरुले गर्न सक्ने केही कामहरु पनि प्रस्ताव गरेकी छिन् । ती प्रस्तावहरु सोही भेलबाट पारित भएका छन् ।
यस्तै सहकारीका कोषाध्यक्ष पोखरेलले सहकारी भनेकै सहकार्य भएकाले एक अर्काको सहकार्यमा सबैको जीवनस्तर माथि उठाउने प्रयास गर्नु नै सहकारीको मर्म रहेको बताएका छन् । अन्नपूर्ण सहकारीले जनताको आर्थिक अवस्थालाई माथि उठाउने गरी बिभिन्न क्षेत्रमा लगानीका लागि प्रोत्सहान गरिरहेको बताए । ऋण लगेका व्यक्तिले इमान्दारीपूर्वक ऋण फिर्ता गरेको भए पनि कोही ऋणीहरु स्वयं आर्थिक चपेटामा पर्दा केही रकम उठ्न बाँकी रहेको बताए ।
सो अवसरमा सहकारीका शेयर सदस्यहरुमध्येबाट थप प्रगती गरेका व्यक्तिहरुलाई सम्मान पनि गरिएको छ। फलेवास नगरपालिकाको प्रमुख बनेका गंगाधर तिवारी, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको केन्द्रिय अध्यक्ष बनेका राजेन्द्र पहाडी, नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य बनेका छविलाल तिवारी, पर्वत गुरुकुल एकेडेमीको प्रधानाध्यापक बनेका उज्वल अधिकारी, माध्यमिक तहको द्धितिय श्रेणीको शिक्षकमा बढुवा भएको बालकृष्ण बास्तोला, माध्यमिक तहको शिक्षकमा स्थायी भएका अमृत अधिकारी र जयप्रसाद पौडेल, अधिकृत स्तर छैटौँ तहमा बढुवा भएका रमेश शर्मा पौडेल र टेकप्रसाद भुसाल सम्मातिन भएका छन् ।
यस्तै नि.मा.वि तहको द्धितिय श्रेणीमा पदोन्नती भएका गोविन्द ढकाल, प्राथमिक तहको प्रथम श्रेणीमा बढुवा भएका आनन्द पौडेल, नेपाल शिक्षक संघ कुश्मा नगर समितिको अध्यक्ष बनेका मिम शर्मा लामिछाने, नेपाल प्रहरीको बरिष्ठ हवल्दारमा बढुवा भएका युवराज कुँवर, उत्कृष्ट बचतकर्ता जगन्नाथ अधिकारी, गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गरेका नारायण माध्यमिक विद्यालय कुश्माका विद्यार्थी मानव पोखरेलका पिता गोविन्दप्रसाद पोखरेल, सार्वजनिक माध्यमिक विद्यालय कटुवाचौपारीकी प्रतिभा रिजालका पिता केशवप्रसाद पंगाली, पूर्व व्यवस्थापकद्धय सन्ध्या कुमारी रिजाल र कमला शर्मा, कर्मचारीद्धय दुर्गादेवी शर्मा सापकोटा र नविना लामिछानेलाई पनि सम्मान गरिएको छ ।
संस्थाकी अध्यक्ष राधाकुमारी कुँवर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष गोविन्दप्रसाद पोखरेलले गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव टंकलाल भुसालले गरेका थिए ।
बिहिबार, अशोज १७, २०८१
Thursday, October 3, 2024