पर्वत : पर्वतको कुश्मा नगरपालिका र बागलुङको बागलुङ नगरपालिका जोड्ने कालीगण्डकी नदी माथि बनेको झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गरेका एक व्यक्तिको शवको नेपाली सेनाले उद्धार गरेको छ।
सोमबार दिउसो करिब दुई बजेको समयमा बागलुङ नगरपालिका–१४ धन्सार गाउँ निवासी ४४ वर्षिय ताराबहादुर हरिजनले पुलबाट हाम फालेर आत्महत्या गरेका थिए। घट्नाको विषयमा सोही ठाउँका वडाध्यक्ष चक्र बहादुर खत्रीले पर्वतमा रहेको नेपाली सेनाको नयाँ रणभीम गुल्मलाई जानकारी गराएपछि सेनाले पुलबाट हाम फालेका हरिजनको खोजी सुरु गरेको थियो। रणभीम गुल्मका गुल्मपति सेनानी अजित थापाको कमान्डमा खटिएको टोलीले कालीगण्डकी नदीको किनारमा खोज्ने क्रममा शव फेला पारेको हो।
खोजतलासका लागि अनुरोध आए लगत्तै गुल्मको सामूहिक तालिम इलाका कुश्मा नगरपालिका–५ मोदीवेणीको तालकुनादेखि उत्तरतर्फ करिब नौ सय मिटरको दुरीमा हरिजनको शव फेला परेको थियो। सेनानी थापाका अनुसार कालीगण्डी नदीको बिच भागमा रहेको ढुङ्गामा शव अड्किएको अवस्थामा फेला पारेको थियो। शवलाई नदीबाट करिब १५ फिट बाटोमा उद्धार गरिएको थियो। शव जिल्ला प्रहरी कार्यालय पर्वतबाट घटनास्थलमा खटिएको प्रहरीको टोलीलाई जिम्मा लगाइएको छ।