मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

शिक्षामा प्रविधिको प्रयोग बढाउन गण्डकीका स्थानीय तहमा ‘आईसीटी रोस्टर’

पुस २५, २०७९

पर्वत : शिक्षामा सूचना, सञ्चार तथा प्रविधिको प्रयोग बढाउन गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रदेशका ८५ जना शिक्षकलाई तालिम दिन शुरु गरेको छ।

प्रदेशको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा तालिम केन्द्र, तनहुँको आयोजनामा प्रशिक्षण शुरु गरिएको शिक्षा तालिम केन्द्र प्रमुख नेपालहरि रानाभाटले बताए।

गण्डकी प्रदेशका ११ जिल्लाका ८५ वटा स्थानीय तहका लागि रोस्टर प्रशिक्षकका रूपमा सूचीकृत गर्ने गरी तालिम शुरु गरिएको हो।

‘विषयगत र तहगत रूपमा तालिम चल्ने गरेका छन्। कोभिडले शिक्षा क्षेत्रमा पारेको प्रभावको वेला थाहा भयो। कम्प्युटर हुनेले पढाउने हो, नहुनेले पर्दैन भन्ने मान्यता थियो। कम्प्युटरको तालिममा बोलाउँदा शिक्षककहरूले नै अब ५-७ वर्ष मात्रै छ किन दुःख गर्ने? भन्ने सोच्नुभयो’, रानाभाट भन्छन्, ‘तर कोभिडका वेला अध्यापनका लागि आईसीटी के हो? भन्ने कुरा थाहा भयो। पश्चिमा मुलुकले ४०-५० वर्षअगाडि नै आइटीको प्रयोग गरेका वेला नेपालमा भने अझै पनि कालोपाटीमा चक नै घोटिरहेको अवस्था छ। अब त ह्वाइट बोर्डको प्रयोग पनि हट्दै गइरहेको छ।’

चालू आर्थिक वर्षमा स्वीकृत भएको ८५ जनाका लागि कास्कीको पोखरा, तनहुँको दमौली, बागलुङको बागलुङ बजार र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को नवलपरासीमा प्रशिक्षण दिइनेछ। जस अन्तर्गत पहिलो समूहको तालिम पोखरामा शुक्रवारदेखि शुरु भएको हो।

प्रदेशका प्रत्येक स्थानीय तहबाट सहभागी हुने भएपछि रोस्टर प्रशिक्षक बनेर जाने शिक्षकले तालिमबाट फर्किएपछि सम्बन्धित स्थानीय तहमा पुगेर प्रशिक्षकको रूपमा काम गर्नुपर्ने छ। शिक्षा क्षेत्रमा सूचना तथा प्रविधिको प्रयोग बढाउन स्थानीय तहले आयोजना गर्ने प्रशिक्षण कार्यक्रममा अहिले तयार पारिने प्रशिक्षकहरूले प्रशिक्षण दिने गरी तालिम केन्द्रमा सूचीकृत गरिनेछ।

प्रशिक्षकहरूलाई ‘आईसीटी’को क्षेत्रमा शिक्षा क्षेत्रमा मिल्ने गरी भित्रिएका पछिल्ला ‘अपडेट’बारे छलफल गरिने तालिमका संयोजक तथा शाखा अधिकृत विदुरहरि आचार्यले बताए। हरेक मिनेटमा नयाँ–नयाँ प्रविधि भित्रिने गरेको अवस्थामा सूचना प्रविधिको प्रशिक्षण आफैँमा पूर्ण नहुने भए पनि प्रशिक्षकहरूमा रहेका अनुभव आदानप्रदान गरेर नयाँ कुराको सिकाइमा सहजीकरण गरिने उनको भनाइ छ।

‘नयाँ नयाँ कुरा प्रयोगमा आइरहेका छन्। टाइप गर्नु मात्रै होइन कि नयाँ सफ्टवेयर बारेमा अद्यावधिक हुन सक्नुपर्छ। प्रशिक्षक हुन दैनिक परिवर्तनका कुरा फलो गर्नुपर्छ’, आचार्य भन्छन्, ‘शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सम्बन्धित पालिकामा पनि कार्यक्रम दिएको छ। यहाँबाट फर्किएपछि सम्बन्धित पालिकामा पुगेर तालिम सञ्चालन गर्नुपर्नेछ। विद्यालयमा आवश्यक पर्ने प्रविधिको विषयमा  छलफल हुनेछ।’

कोभिडका-१९ को महामारीपछि शिक्षा क्षेत्रमा परेको प्रभावले पनि शिक्षामा ‘आईसीटी’को माग निकै बढेको छ। महामारीको अगाडिको समयमा ‘आईसीटी’ लाई सामान्य काम चलाउ वा घोकाइकै रूपमा लिने गरे पनि अब भने प्रयोगात्मक र प्रभावकारी प्रयोगको आवश्यकता बढ्दै गइरहेको सरोकारवालाहरू बताउँछन्।

तालिममा सहभागी प्रविधिमैत्री शिक्षक समाज गण्डकी प्रदेशका सचिव संविधान लामिछानेले अब शिक्षणमा प्रविधिको प्रयोगको विकल्प नरहेको बताउँछन्।

‘कोभिडका वेला ५-७ सयभन्दा बढी  शिक्षकहरूलाई आईटीको प्रयोगका बारेमा जुम क्लासबाट सिकाएर तयार पारेपछि उहाँहरूले विद्यार्थीलाई अनलाइनबाट अध्यापन गर्नुभयो,’ उनी भन्छन्, ‘प्रदेश सरकारले स्थानीय तहमा नै अरू विषयमा जस्तै रोस्टर प्रशिक्षक नै तयार पारेर आईसीटी’को प्रयोगलाई बढाउन प्रयास गर्नु खुसीको कुरा हो। यसले ग्रामीण क्षेत्रमा थन्किएर बसेका कम्प्युटर वा अन्य उपकरणलाई प्रयोगमा ल्याउन पनि दबाब दिएको छ।’

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive