पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयको दृष्टिबिहीन स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गरिएको छ ।
स्रोत कक्षामा अध्ययन गर्ने बिद्यार्थीहरुलाई सघाउनका लागि चर वर्ष अगाडि पर्वत वेलफेयर सोसाईटीले स्थापना गरेको १० लाख रुपैयाँको अक्षयकोषबाट प्राप्त भएको ब्याज रकम बिद्यार्थीहरुलाई वितरण गरिएको हो । विद्यालयमा आयोजना गरिएको एक औपचारिक कार्यक्रमकाबिच स्रोत कक्षामा हाल अध्ययनरत १२ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी पाँच हजार रुपैयाँका दरले छात्रावृत्ति वितरण गरिएको हो ।
उनीहरुलाई संबिधान सभाका सदस्य तथा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको हातबाट रकम हस्तान्तरण गरिएको हो । सो अवसरमा बोल्दै जोशीले स्रोत कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई आर्थिक तथा आवासमा समस्या हुने भएकाले यसमा सघाउन सबैलाई अपिल गरे । आफूले बिद्यार्थीहरुको अवस्था प्रत्यक्ष रुपमा नियालेको बताउँदै आफूले पनि सकेसम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
छात्रावृत्ति वितरण समारोहमा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, कुश्मा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरी, फलेवास नगरपालिका ३ शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्की, समाजसेवी सरस्वती शर्मा जिज्ञासु, विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चापागाईँ लगायतको उपस्थिति रहेको थियो ।
प्रधानाध्यापक चापागाईँका अनुसार उक्त छात्रावृत्ति रकम विद्यार्थीहरुका दैनिक आवश्यकता पूरा गर्न, आवश्यक औषधोपचार, लुगा, अध्ययनका सामग्री लगायतका सामग्रीको व्यवस्थापनमा खर्च हुने छ । उक्त रकम विद्यार्थी आफैले आफ्नो इच्छा अनुसार खर्च गर्ने छन् ।
नेपाल सरकारले स्रोत कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई मासिक चार हजार रुपैयाँका दरले वर्षमा १० महिनाको रकम पाउने गरेका छन् । त्यो रकमबाट पाँच सय रुपैयाँ विद्यार्थीको व्यक्तिगत खर्चका लागि उपलब्ध गराउने गरिएको छ भने बाँकी रहेको ३५ सय रुपैयाँ छात्रावासका लागि खर्च हुने गरेको छ ।
विगतमा शालिजाको विद्यालयमा रहेको स्रोत कक्षालाई २०७३ सालमा कुश्मा सारिएको हो । ग्रामिण क्षेत्रमा राख्दा बिद्यार्थी तथा उनीहरुका अभिभावकलाई आउजाउ गर्न समस्या हुने तथा चिसोले पनि सताउने गरेका कारण शिवालय मा.वि.मा सारिएको हो । सुरुमा कुश्माकै राम मन्दिरनेर भाडामा राखिएको भए पनि पछि भने प्लान नेपाल नामक संस्थाले विद्यालयमा नै भवन निर्माण गरिदिएपछि दृष्टिबिहीन विद्यार्थीहरु छात्रावासमा नै बस्दै आइरहेका छन् ।
शिवालयको दृष्टिबिहीन स्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई छात्रावृत्ति वितरण
