पर्वत : सूचना तथा प्रविधिको क्षेत्रमा काम गर्नेहरूको सङ्गठन कम्प्युटर एसोसिएसन महासङ्घ नेपाल अन्तर्गत पर्वत शाखाको सम्मान तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ।
परिवारका सदस्यहरू समेत सहभागी वनभोज कार्यक्रमको अवसरमा हालै सम्पन्न भएको अधिवेशनबाट नयाँ कार्यसमितिका आएका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। प्रमाणपत्र प्राप्त गर्नेहरूमा अध्यक्ष अच्युत पौडेल, उपाध्यक्ष विष्णु सुवेदी, सचिव भरत सापकोटा, सहसचिव रमेशप्रसाद शर्मा, कोषाध्यक्ष मिलन पौडेल तथा सदस्यहरू प्रवेशराज पुरी, गोविन्द रेग्मी, सिता बि.क, गीता हिताङ र आशिष पौडेल रहेका छन्। उनीहरूलाई निर्वाचन मण्डलका संयोजक तथा क्यानका सदस्य विश्वराज पाण्डेले प्रमाणपत्र प्रदान गरेका हुन्।
सोही अवसरमा क्यान पर्वतका पूर्व अध्यक्षहरूलाई पनि सम्मान गरिएको छ। जिल्लामा सूचना तथा सञ्चार क्षेत्रको विकासमा कम्प्युटर तथा अन्य विद्युतीय उपकरणको प्रयोगमार्फत महत्त्वपूर्ण योगदान गरेको भन्दै संस्थापक अध्यक्ष राजु पौडेल, पूर्व अध्यक्षहरू ढाकाराम सापकोटा, गोपीनाथ तिमिल्सिना र खड्कबहादुर गुरुङ (मदन) लाई दोसल्ला र सम्मान–पत्रद्वारा सम्मानित गरिएको हो। उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा क्यान पर्वतका सल्लाहकार हिमबहादुर पौडेल क्षेत्रीले सम्मान गरेका हुन्।
सो अवसरमा बोल्दै क्षेत्रीले विद्यालय क्षेत्रमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्न सकेमा बालबालिकाहरूको सिकाई प्रभावकारी हुनुका साथै देशले पनि दक्ष जनशक्ति पाउने बताए। क्यान पर्वतले बेला बेलामा विभिन्न कार्यक्रमहरूको आयोजना गरेर संस्थालाई चलायमान बनाइराखेकोमा खुसी व्यक्त गर्दै उनले पछिल्ला प्रविधिको प्रयोगलाई बढाउने जिम्मेवारी क्यानमा रहेको उल्लेख गरे।
वनभोज कार्यक्रमलाई रमाइलो बनाउन घैँटो फुटाउने प्रतियोगिता पनि सञ्चालन गरिएको थियो। करिब ४० जनाले प्रतिस्पर्धामा भाग लिएको भए लिएका थिए। क्यानका संस्थापक अध्यक्ष राजु पौडेलले मात्रै घैँटो फुटाउन सके। उनलाई क्यान पर्वतका अध्यक्ष अच्युत पौडेलद्वारा प्रायोजन गरिएको नगद पुरस्कार हस्तान्तरण गरिएको छ।
क्यान पर्वतका अध्यक्ष अच्युत पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत क्यान पर्वतका कोषाध्यक्ष तथा सम्मान र वनभोज कार्यक्रमका संयोजक मिलन पौडेलले गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव भरत सापकोटाले गरेका थिए। अध्यक्षको तर्फबाट भनाई राख्दै अध्यक्ष पौडेलले प्रबिधिको प्रयोगले काम गर्दा नतिजा वास्तविक आउनुका साथै समयको पनि बचत हुने भएकाले सकेसम्म प्रबिधिको प्रयोगमा सबैले जोड दिनुपर्ने बताए। ‘डिजिटल साक्षरता’ को कुरा जोडतोडका साथ उठिरहेकोले हरेक व्यक्तिले आफूलाई सूचना तथा प्रबिधिमा ‘अपडेट’ बनाउर्ने बाध्यता रहेको उनको भनाई छ।
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025