पर्वत : पर्वतका सहिद हरिदत्त तिवारीको २० औँ पुण्य तिथिको अवसर पारेर दृष्टिविहीन विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ ।
सहित हरिदत्त तिवारी स्मृति प्रतिष्ठानले सदरमुकाम कुश्मा बजार स्थित शिवालय माध्यमिक विद्यालयको दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई ब्लाङकेट र पोसाक वितरण गरिएको हो । पर्वत सहित म्याग्दी र बागलुङका समेत गरेर १२ जना बालबालिकाहरू रहेकामा उनीहरू सबैलाई कपडा वितरण गरिएको हो ।
उनीहरूलाई नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य अर्जुनप्रसाद जोशीका हातबाट कपडा वितरण गरिएको हो । पोसाक वितरण गर्दै नेता जोशीले शारीरिक रूपमा दृष्टिविहीन भए पनि वास्तविकतामा उनीहरू अन्तर दृष्टिका हुने भएकाले प्रकृतिले सिर्जना गरिदिएको कुरा स्वीकार गर्नै पर्ने बताए । फरक क्षमता भएका विद्यार्थीहरूको अध्ययन तथा व्यवस्थापनमा राज्यले अझै धेरै ध्यान दिन आवश्यक रहेको उनको भनाई छ ।
सरकारले उपलब्ध गराउने थोरै रकमबाट जसोतसो दैनिकी चलाइरहेका उनीहरूलाई जाडोको बेलामा झनै समस्या हुने भएकाले स्वर्गीय बुबाको सम्झनामा विद्यार्थीलाई सहयोग गरिएको प्रतिष्ठानका संरक्षक समेत रहेका सहिद तिवारीका पुत्र तथा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले बताए । ‘यहाँका बाबु नानीहरू समस्यामा रहेको भनेर हेड सरले भन्नुभएको आधारमा उनीहरूलाई सहिदको सम्झनामा सहयोग गरेका हौँ’, उनले भने, ‘टाढा टाढाबाट आउनुभएका र घरको आर्थिक अवस्था पनि कमजोर रहेका बिद्यार्थीहरुलाई झनै समस्या भइरहेको रहेछ ।’
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा फलेवास नगरपालिका–३ शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्की, कुश्मा नगरपालिका–६ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरी, विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चापागाईँ, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य सरव्ती शर्मा (जिज्ञासु) ले पनि भनाई राखेका थिए । कार्यक्रमा फलेवास नगरपालिका–४ का वडाध्यक्ष तथा फलेवास नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव नरबहादुर थापाले गरेका थिए। प्रतिष्ठानका अध्यक्ष कार्कीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
वि.सं. १९८७ सालको पुसमा जन्मिएका हरिदत्तको २०६० सालको माघ १ गते राती तत्कालीन विद्रोही माओवादी कार्यकर्ताहरूले हत्या गरेका थिए । माघे सक्रान्तिको दिन घरका परिवारसँग बसिरहेको अवस्थामा घरमा प्रवेश गरेका उनीहरूले त्यहीँ खाना खाएर तिवारीसँग केही सोधपुछ रहेको भन्दै घरबाट लिएर गएका थिए । घरबाट करिब पाँच सय मिटर टाढा रहेको जङ्गलमा लगेर राती करिब १० बजेको समयमा खुट्टा भाँचेर छाडेको अवस्थामा तिवारी भेटिएका थिए । कर्फयूकै बिचमा पनि उपचारको लागि सदरमुकाम लैजाँदै गर्दा हालको कुश्मा नगरपालिका–९ कटुवाचौपारीको साइकल चोकमा पु¥याउँदा तिवारीको मृत्यु भएको थियो ।
नेपाली काँग्रेसको राजनीति गर्दै आएका तिवारी फलेवास नगरपालिका–३ शंकरपोखरीमा पटक–पटक प्रधान पञ्च पनि भएका थिए । शंकरपोखरी क्षेत्रमा सडकको विस्तार तथा खानेपानीको व्यवस्थापनको लागि उनी आफ्नो कार्यकालमा निकै खटेका थिए ।
सोमवार, कार्तिक १९, २०८१
Monday, November 4, 2024