शनिबार, चैत्र १, २०८१
Saturday, March 15, 2025

हरेक वडाका ज्येष्ठ नागरिकलाई सम्मान र विपन्नलाई सामग्री बाँड्दै कुश्मा नगरपालिका

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान र सामग्री हस्तान्तरण कार्यक्रमको सुरुवात गरेको छ।
‘ज्येष्ठ नागरिक सम्मान तथा अन्तर पुस्ता हस्तान्तरण कार्यक्रम अन्तर्गत’ रहेर नगरपालिकाभित्र रहेका १४ वटा वडामा पुगेर यो कार्यक्रम सञ्चालन गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङले बताए। ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको जिम्मेवारी सबैमा रहेकोले उनीहरूप्रतिको सम्मान र सामाजिक सुरक्षालाई ध्यानमा राखेर यो कार्यक्रम सञ्चालन गरिएको हो।
एउटा वडाबाट सबैभन्दा ज्येष्ठ नागरिक एक जनालाई प्रमाणपत्र, दोसल्ला र एक थान ‘थर्मस’ तथा वडाका दुई जना विपन्न ज्येष्ठ नागरिकलाई एक थान ‘थर्मस’, एक थान ‘हर्लिक्स’ र एक थान ‘ब्लाङ्केट’ दिने गरी सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका–५ बाट यो कार्यक्रमको सुरुवात गरिएको छ।
‘हामीले वितरण गरेको सामग्री पर्याप्त त होइन नै। तर यो एउटा उदाहरणको काम हो। यस्तै काम सरकारी तथा गैह्र सरकारी निकाय वा आम नागरिकबाट हुनुपर्छ भन्ने सन्देश दिने काम हामीले गरेका हौँ। अन्तर पुस्ता हस्तान्तरण कार्यक्रमले दुई फरक पुस्तालाई एकै ठाउँमा जोड्ने प्रयास गर्ने छ’, प्रमुख प्रशासकीय अधिकृत गुरुङ भन्छन्, ‘जाडोको बेलामा तातो पानी पिउनकै लागि थर्मसले सघाउने छ। शरीर न्यानो पार्नको लागि ब्लाङ्केटले काम गर्ने छ। ज्येष्ठ नागरिकहरू समाजका गहना हुन् र उनीहरूले सम्मानजनक स्थान पाउनुपर्छ भन्ने सबैले बुझ्नुपर्छ।’
यो कार्यक्रममा १४ वटा वडाका ४२ जना ज्येष्ठ नागरिकहरू समावेश हुन लागेका छन्। कुश्मा नगरपालिका–५ र ७ बजारमै रहेकाले ज्येष्ठ नागरिकलाई वडामा बोलाएर सामग्रीहरू दिइएको भए पनि बाँकी वडामा भने उनीहरूको घरमा नै पुगेर सामग्री वितरण गरिने छ। नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख चेतकुमारी शर्माका अनुसार सम्बन्धित वडा कार्यालयहरूले नै यो कार्यक्रममा समावेश गर्न सकिने ज्येष्ठ नागरिकहरू छनोट गरेर नामावली पठाएका छन्। त्यसैको आधारमा नगरपालिकाको कार्यालयबाट जाने जनप्रतिनिधि, कर्मचारी तथा वडाबाट जाने वडाध्यक्ष र सदस्यहरूले ज्येष्ठ नागरिकका घरमा नै पुगेर सामग्री वितरण गर्ने छन्।
‘उहाँहरूलाई वडामा आउन समस्या हुने देखिएकाले नगरपालिकाको टोली गाउँमा नै जाने छ। २÷३ दिन भित्रमा वडाबाट सिफारिस भई आएका हरेक ज्येष्ठ नागरिकको घरमा नै पुगेर वितरण गर्ने छौँ। यसका लागि दुई लाख जतिको परिधिमा रहेर काम गर्ने छौँ,’ उनले भनिन, ‘वडाबाट आएका तथ्याङ्कको आधारमा ज्येष्ठ नागरिक र विपन्न ज्येष्ठ नागरिकलाई सामग्री उपलब्ध गराउने छौँ।’
कुश्मा नगरपालिका–७ का ज्येष्ठ नागरिकलाई सामग्री उपलब्ध गराउन पुगेकी नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले अहिलेको पुस्ताले अघिल्लो पुस्तालाई सम्मान, माया र हेरविचार गर्नुपर्छ भन्ने सन्देश सबैमाझ पुग्नका लागि नगरपालिकाले यो कार्यक्रम सुरु गरेको बताउँछिन्। काम गर्न नसक्ने, शरीर कमजोर हुने, आफ्नो ख्याल आफै राख्न नसक्ने, रोग र भोकले सताएका ज्येष्ठ नागरिकको ख्याल गर्न सम्बन्धित परिवारले ध्यान दिनुपर्ने उनको भनाई छ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive