शुक्रबार, चैत्र १४, २०८१
Friday, March 28, 2025

पोखरामा आइतबारदेखि सुरु हुँदै छ तेस्रो संस्करणको टाइगरकप भलिबल

पर्वत : ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’को तयारी पुरा भएको छ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिताको बारेमा जानकारी दिँदै संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले आइतबार दिउसो एक बजे गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिताको उद्घाटन गर्ने बताए।
प्रतियोगितामा पहिलो दिन तिन खेल हुने छन्। पहिलो खेल बिहान १० बजे सुरु हुने छ। पहिलो खेल महिलातर्फ न्यु डायमन्ड र नेपाल आर्मी भिड्ने छन् भने मध्यान्ह १२ बजे पुरुषतर्फ त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लबका बिच हुने छ। त्यस्तै दिउसो साढे दुई बजे पुरुषतर्फ आयोजक गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच उद्घाटन खेल हुने छ।
प्रतियोगितालाई थप आकर्षक बनाई दर्शकलाई सहज तरीकाले खेल हेर्न मिल्ने गरी प्यारापिट निर्माण गरिएको छ। यस पटकको खेललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन ‘एल.इ.डी स्क्रिन’ राखिएको छ। ‘हामीले दर्शकहरूलाई सहज ढङ्गबाट खेलको अवलोकन तथा मनोरञ्जन लिन अस्थायी प्यारापिट बनाएका छौँ भने वृद्ध–वद्धाहरुको लागि छुट्टै कुर्चीको व्यवस्था समेत गरिएको छ।’, उनले भने।
राउन्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगिताको अन्तिम समयमा आएर महिलातर्फ नेपाल पुलिसले सहभागिता नजनाउने बताएको टेक्निकल टिमका सदस्य टहल सिंह थापा मगरले जानकारी दिए। केही खेलाडी घाइते भएको र कोही बिरामी भएको कारण देखाउँदै नेपाल पुलिस महिला टिम अन्तिम समयमा नआउने घोषणा गरेको उनको भनाई छ। महिलातर्फकै अर्को एक विदेशी टोली भारतको ‘केरेला स्टेट इलेकट्रोनिक बोर्ड’ ले समेत अन्तिम समयमा नआउने बताएको छ।
महिलातर्फ दुई टोलीको सहभागिता नभएपछि आयोजकले गण्डकी प्रदेशको महिला टिमलाई प्रतियोगितामा सहभागी गराएको छ। गण्डकीको महिला टिममा तीन जना राष्ट्रिय स्तरका भारतीय खेलाडीहरू टोलीमा समावेश गरिएका छन्। गण्डकीको महिला टिम राष्ट्रिय टिमकी कप्तान समेत रहेकी अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिने छ।
प्रतियोगितामा पुरुषतर्फको एक विदेशी टिम ‘सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब, श्रीलङ्का’ को सहभागिता रहने छ।
प्रतियोगितामा महिलातर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, र होङ्गवान्जी न्यु डायमन्ड स्पोर्टस क्लब रहेका छन्। यस्तै पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलङ्का, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ।
गत वर्ष सम्पन्न दोस्रो संस्करणमा महिलातर्फ एपिएफ क्लबले र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले उपाधि हात पारेका थिए।
आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशि दोब्बर बनाएको छ। महिला–पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई पाँच÷पाँच लाख रुपैयाँ नगद, उपविजेता टिमलाई समान नगद दुई लाख ५० हजार, तेस्रो हुने टिमलाई नगद एक लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाण पत्र दिइने छन्।
प्रतियोगितामा हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीलाई नगद पाँच हजार र तीन हजार बराबरको स्वास्थ्य परीक्षण कुपन भौचर प्राप्त गर्ने छन्। महिला तथा पुरुषतर्फ उत्कृष्ट एक/एक खेलाडीले जनही समान २५/२५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। हरेक विद्याका उत्कृष्ट खेलाडीहरू र प्रशिक्षकलाई नगद १०/१० हजार र ट्रफीले सम्मान गरीने छ।
प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। प्रतियोगिता सफल बनाउन आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष शर्माको नेतृत्वमा एक सय एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।
सुश्री मिडिया प्रा.लि काठमाण्डौको विशेष समन्वय तथा राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगर पालिकाको सहयोगमा आयोजना भएको हो।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive