पर्वत : नेपाली भाषाको क्षेत्रमा काम गर्दै आएका तथा विद्यालयमा नेपाली विषय अध्यापन गराउँदै आएका शिक्षकहरुको विषयगत संस्था नेपाली भाषा शिक्षक परीषद् पर्वतको तेस्रो अधिवेसन सम्पन्न भएको छ ।
पर्वत सदरमुकाम कुश्मा बजारमा शनिवार सम्पन्न अधिवेसनबाट सन्तोष पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण भएको छ । यस अघि लगातार दुई कार्यकाल आनन्द रिमालले नेतृत्व गरेका थिए । नयाँ बनेको कार्यसमितिका अध्यक्ष पौडेल कुश्मा नगरपालिका स्थित पिपलटारीमा रहेको पूर्णेश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक हुन् ।
समितिको उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा झलक पौडेल, सहसचिवमा कृष्णराज पौडेल, कोषाध्यक्ष्मा सावित्री शर्मा चयन भएका छन् । कार्यसमिति सदस्यमा सूत्रप्रसाद पौडेल, गोपाल सुवेदी, कमल तिमिल्सिना, पुण्यप्रसाद पौडेल, लक्ष्मण पौडेल र लक्ष्मी परियार आएका छन् । अधिवेसनले केन्द्रीय प्रतिनिधिका रुपमा झलक पौडेललाई छनोट गरेको छ ।
अधिवेसनकै अवसर पारेर लोक संस्कृतिविद् प्राध्यापक डा. कुसुमाकर न्यौपानेद्धारा नेपाली विषय शिक्षकहरुलाई सम्मान गरिएको छ । सोही अवसरमा शिक्षक झलक पौडेलद्वारा प्रकाशित ‘हिज्जे सौगात’ नामक पुस्तक डा. न्यौपानेकै हातबाट लोकार्पण गरिएको छ ।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले नेपाली भाषाको प्रबद्र्धनका लागि सबैले चासो दिनुपर्ने बताइन् । भाषा मौलिक संस्कृति समेत भएकाले यसको संरक्षण गर्नु हरेक नागरिकको कर्तव्य हुने उनको भनाई छ । शैक्षिक गुणस्तर विकासका लागि कुश्मा नगरपालिकाले सवै शैक्षिक संघसंगठनहरुसँग सहकार्य गर्दै अघि बढ्ने बताइन् ।
कार्यक्रममा नेपाली भाषा शिक्षक परिषद् कास्कीका अध्यक्ष लगायतको पनि सहभागिता रहेको थियो ।