आइतवार, अशोज २०, २०८१
Sunday, October 6, 2024

पार्वती गुफा : प्रदेश सरकारको दुई करोड दिने, स्थानीयले दिए निःशुल्क जग्गा

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१ पाङ र वडा नं. २ खुर्कोटको सिमानामा पर्छ पार्वती गुफा । पार्वतीले भगवान् शिवलाई पति पाउँ भनी व्रत बसेको स्थल तथा भगवान् शिव र पार्वतीको क्रिडास्थलको रूपमा समेत परिचित छ पाङ क्षेत्र ।
पाङमा नै रहेको सहस्रधारामा पार्वतीले स्नान गर्ने गरेको तथा पार्वतीचौर शिव र पार्वतीको क्रिडास्थल रहेको भनी पाङवासीले ती क्षेत्रहरूको संरक्षण सहित भौतिक पूर्वाधार निर्माणका कामहरू अगाडि बढाइरहेका छन् । धार्मिक इतिहास बोकेको गुफाको विकासको लागि पछिल्लो समय प्रदेश सरकार र स्थानीय सरकार लागि परेका छन् ।
प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल पार्वती गुफामा पैदल मार्ग, तार बार, पर्खाल, मन्दिर लगायतका भौतिक संरचना निर्माण गर्न थालिएसँगै गण्डकी प्रदेश सरकारले स्वीकृत गरेको दुई करोड रुपैयाँमध्ये ४० लाख रुपैयाँ निकासा भएको छ ।
गुफा परिसरमा जग्गा रहेका जग्गादाताहरूले पाँच रोपनी भन्दा क्षेत्रफल रहेको जग्गा निःशुल्क रूपमा दिएपछि गुफा क्षेत्रमा धार्मिक पूर्वाधारहरूको निर्माण प्रक्रिया सुरु भएको छ । स्थानीय हरि शर्मा पौडेल, रविलाल पौडेल, जनकराज पौडेल र श्यामप्रसाद पौडेलले उक्त जग्गा पार्वती गुफा संरक्षण तथा पर्यटन क्षेत्र विकास समितिलाई प्रदान गरेका छन् ।
वडाध्यक्ष लालकृष्ण बास्तोलाका अनुसार गण्डकी प्रदेश सरकारले गुफा क्षेत्रको विकास र प्रवर्द्धनका लागि पाँच वर्षभित्रमा दुई करोड रुपैयाँ उपलब्ध गराउने भनेको थियो । तर त्यो रकमबाट बन्ने भौतिक पूर्वाधारका लागि गुफा आसपासमा रहेको जग्गा पार्वती गुफा संरक्षण तथा पर्यटन क्षेत्र विकास समितिमा आउनुपर्ने थियो। दाताहरूले बुधवार गुफा आसपासमा रहेको जग्गा समितिलाई निःशुल्क रूपमा हस्तान्तरण गरेपछि प्रदेश सरकारले स्वीकृत गरेको दुई करोड रुपैयाँ नै गुफा क्षेत्रमा लगानी गर्न पाइने भएको वडाध्यक्ष बास्तोलाले बताए ।
उक्त जग्गा बुधवार मालपोत कार्यालय पर्वतबाट समितिको नाममा पास गरिएको छ । लालपुर्जा हस्तान्तरण कार्यक्रममा सहभागी कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजाल, समितिका पदाधिकारी तथा सदस्य, सरोकारवालाहरू सहभागी थिए । प्राप्त भएको जग्गामा सत्तल, मठमन्दिर, विभिन्न मूर्तिहरू, बगैँचा लगायत विभिन्न पूर्वाधारहरू निर्माण गरिने छ । अहिले विनियोजन भएको ४० लाखबाट सत्तल निर्माण गरिने छ ।
वडाध्यक्ष बास्तोलाले गुफा क्षेत्रको विकासको लागि डिपीआर तयार भएको बताउँदै अहिलेसम्म गुफाभित्र मन्दिर निर्माण गर्ने, गुफा बाहिर सिँढी र रेलिङ बनाउने, गुफाको प्रवेश स्थलमा गेट बनाउने काम सकिएको जानकारी दिए ।
गुफाभित्रको भित्तामा विभिन्न देवी देवताका आकृतिहरू देख्न सकिन्छ । प्राकृतिक रूपमा आफै बनेका आकृतिले गुफामा भगवानको शक्ति रहेको स्थानीयवासी तथा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजाल बताउँछिन् । करिब एक सय मिटर भागसम्म फैलिएको गुफाको सुरुको भागमा फराकिलो भए पनि गुफाको अन्तिमसम्म जान पनि कठिन छ । साँघुरो भाग रहेकाले केही व्यक्तिहरूले मात्रै हिँडेर गुफा छिचोलेका छन् ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive