पर्वत : अपाङ्गता भएका व्यक्तिहरुको हक तथा अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको संस्था नेपाल अपाङ्ग उत्थान समाज पर्वतले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको पक्षमा काम गर्न सम्बन्धित सबैमा अपिल गरेको छ।
समाजको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन सम्बन्धी सञ्चार माध्यमहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले नीतिगत तहमा विभिन्न निर्णय र व्यवस्था गरेको भए पनि तिनीहरुको कार्यान्वयन नहुँदा फरक क्षमता भएका व्यक्तिहरुले समस्या खेप्नुपरेको बताएका छन्।
कार्यक्रममा बोल्दै समाज पर्वतका संस्थापक अध्यक्ष तथा अधिवक्ता भोलानाथ शर्माले अपाङ्गता भएका व्यक्तिहरु अझै पनि समाजको मूल प्रवाहमा आउन नसकिरहेकोप्रति चिन्ता व्यक्त गरे। राज्यले अधिकार दिएर पनि विभिन्न कारणले उनीहरुले ती अधिकारको उपयोग गर्न नसकिरहेका बताए। त्यसका लागि सञ्चार माध्यमहरु अपाङ्गता भएकाहरुप्रति थप संवेदनशिल हुनुपर्ने उनले सुझाए।
‘उनीहरुको आत्मसम्मान र व्यक्तित्वमा असर गरिरहेको छ। अपाङ्गता भएकाहरुलाई सम्बोधन गर्ने सम्मानजनक शब्दहरु छन तर ती शब्दको प्रयोग कम भइरहेको अवस्था छ। बिज्ञहरुसँग सल्लाह गरेर समाचारमा शब्द चयन गर्नुपर्छ’, उनले भनेका छन्, ‘अपाङ्गता भएकाहरुका पनि सबै अधिकारहरु छन्। प्राकृतिक अधिकारहरु छन। ती पाएको हुनुपर्छ। अपाङ्गता भएकाहरुले शारीरिक परिश्रम गर्न सक्दैनन भनेर निष्क्रिय अवस्थामा राख्दा अवस्था झनै स्वास्थ्य तथा शारीरिक अवस्था बिग्रिन्छ। सक्नेसम्मको काम गरेको हुनुपर्छ। उनिहरुमाथि विभेद भएका भए सञ्चार माध्यमहरुले खोजिदिनुपर्छ।’
अपाङ्गता भएका व्यक्तिहरु असक्षम नभई फरक क्षमताका व्यक्ति भएको तथा उनीहरु भगवानको श्रापका कारण नभई मानवीय त्रुटीका कारण शारीरिक, मानसिक वा अन्य पक्षमा फरक हुने शर्माको भनाई छ। जनताको अभिव्यक्ति स्वतन्त्रताको बारेमा ध्यान दिनुपर्ने भन्दै उनले आवाज उठाउन सक्नेहरु आफै बोल्ने भए पनि बोल्न नसक्नेहरुको बोली कलमले बोल्ने भएकाले अपाङ्गता भएकाहरुको उत्थानको लागि सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने उनले बताए।
नेपाल अपाङ्ग उत्थान समाज पर्वतका अध्यक्ष जगन्नाथ शर्माले बैँकदेखि बिमासम्म तथा सरकारी कार्यालयदेखि गैह्र सरकारी निकायसम्म पनि अपाङ्गता भएका व्यक्तिहरुले सास्ती खेपीरहनुपरेकोमा दुःखेसो पोखे। विगतको तुलनामा अवस्थामा सुधार आएको भए पनि अहिलेको अवस्थामा जे हुनुपर्ने थियो त्यो नभएकोमा उनको गुनासो छ।
अन्य क्षेत्रको तुलनामा यातायाताका साधनको उपयोग गर्दा फरक क्षमता भएका व्यक्तिहरुले दुःख पाउने गरेकोप्रति उनले सञ्चारकर्मीहरुलाई ध्यानाकर्षण गराएका छन्। ‘यातायामा झनै बढी समस्या देखिएको छ। सडकमा उभिएर बसिरहेका फरक क्षमता भएकाहरुले यात्रा गर्नका लागि गाडीहरु रोके पनि रोकिन्नन। राज्यले ५० प्रतिशत छुट भने पनि सवारीले त्यो कार्यान्वयन गरेका छैनन्’, उनले भने, ‘अब सबैमा सचेतना आउने गरि सार्वजनिक सुचनाहरुलाई प्राथमिकतामा राखीदिन सञ्चारकर्मी र सञ्चार माध्यमहरुलाई अनुरोध गर्दछु।’
नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले पत्रकारिता तथा सञ्चारको क्षेत्रबाट अपाङ्गता भएकाहरुको हक अधिकार स्थापित गर्ने तथा उनीहरुको अवस्थामा सहजीकरण गर्ने प्रयोजनाका लागि बिभिन्न सवालमा बोल्दै र लेख्दै आएको बताए। राज्यले नितिगत रुपमा व्यवस्था गरे पनि राज्यकै तर्फबाट सबै कुरा कार्यान्वयन नहुँदा फरक क्षमता भएका नागरिकहरु झन झन समस्यामा परेको उनको भनाई छ। तर अब देश संघियतामा भएपछि टोल टोलमा जनताका प्रतिनिधिहरु रहेकाले उनीहरुले यसको नेतृत्व लिनुपर्ने थापाको सुझाव छ।
कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष उत्तम अधिकारीले अपाङ्गता भएकाहरुले समस्या भोगिरहेके अवस्थामा अन्य व्यक्तिहरुले गरेको व्यवहारले झनै मानसिक चिन्ता थपेको उल्लेख गरे। अपाङ्गता भएकाहरुले परिचय पत्र पाउन समेत समस्या रहेको भन्दै उनले अस्पतालमा समेत अपाङ्गता भएको हो कि होईन भनी छुट्याएर सेवा प्रदान नगर्दा समस्या देखिएको उनको गुनासो छ।
कार्यक्रममा नेपाल प्रेस सङ्गठन पर्वतका अध्यक्ष निर्मल पौडेल, पत्रकार लक्ष्मण सापकोटा, संजय रेग्मी, कमला लामिछाने लगायतले पनि अपाङ्गता भएकाहरुले भोगिरहेको समस्या र समाधानका लागि सुझाव राखेका थिए।
अपाङ्गता भएकाहरुको अधिकारका लागि सबै लागौँ : अपाङ्ग उत्थान समाज
माघ २८, २०७९
