मङ्लबार, चैत्र ११, २०८१
Tuesday, March 25, 2025

दोबिल्लामा जीर्ण भएको मोटरेवल पुलको ठाउँमा नयाँ पुल बन्दै

पर्वत : पर्वतको दक्षिणी क्षेत्रलाई सदरमुकाम कुश्मा बजार तथा कुश्मा हुँदै पोखरासम्म जोड्ने पुल कुश्मा नगरपालिका–८ चुवा स्थित दोबिल्लामा मोदी खोलामाथि रहेको पुल हो।

निर्माण भएको एक दशकसम्म पनि आवश्यक मर्मत सम्भारको अभावमा पुलका नट बोल्ट खिया लागेर भाँचिए भने सवारी गुड्नका लागि बिछ्याइएका फलामका पाता पनि भाँचिए। गुड्दै गरेका सवारीका टायर तिनै भ्वाङ पर्दा पुलमै अड्किएर बस्नुपर्नेसम्मको अवस्था आयो।

दक्षिण पर्वतलाई सदरमुकामसँग जोड्ने प्रमुख सडकमा पर्ने उक्त पुल रहेको ठाउँमा नयाँ पुलको निर्माण गरिने भएको छ। फलेवास नगरपालिकाले गरेको निरन्तरको प्रयासपछि यसै वर्षबाट नयाँ पुल निर्माण अघि बढ्ने भएको हो।

गत मङ्सिर २० गते सम्भाव्यता अध्ययन गरिएको मोदी खोलामाथि नयाँ पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माण लगायत भौगोलिक अवस्थितिको अध्ययन गर्न प्राविधिक टोली सोमबारदेखि स्थलगत रूपमा खटिएको थियो।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सडक विभागले उक्त पुल निर्माणको प्रक्रिया अघि बढाउन डिपिआरका लागि टोली पठाएको हो। यसअघि सम्भाव्यता अध्ययनका लागि आएको एपेक्स इन्जिनियरिङ कन्सल्टेन्सीका प्राविधिकहरूको टोलीले पुलको डिपिआर तयार गर्ने, जमिनको माटो परीक्षण गर्ने, पुलको दुबैतर्फका पिलरको स्थान, लम्बाइ, चौडाइ लगायतबारे अध्ययन गरिरहेको छ।

विभागले चालू वर्ष नै काम सुरु गर्ने गरी पुलको विस्तृत परियोजना प्रतिवेदन पेस गर्न निर्देशन दिएकाले अबको दुई साताभित्र सबै काम सकेर विभागलाई प्रतिवेदन पठाइने कन्सल्टेन्सीका इन्जिनियर चन्द्रदेव बोहोराले बताए। आगामी दुई साताभित्र डिपिआर बुझाएलगत्तै पुलको ठेक्का प्रक्रिया सुरु हुने उनको भनाइ छ।

पुलको अवस्था जीर्ण भएकोबारे सडक विभागमा कैयौँपटक दबाब दिएपछि फलेवासका नगरपालिकाका प्रमुख गंगाधर तिवारीले लगत्तै पुलको निर्माण सुरु गर्ने आश्वासन पाएको बताए। पुरानो पुलसँगै जोडेर नयाँ पुल निर्माण गर्नेबारे कन्सल्टेन्सीका प्राविधिकहरूसँग कुराकानी भएको उनको भनाइ छ।

कुश्मा नगरपालिका–८ चुवा र ११ पकुवा जोड्ने पुल ६० मिटरको हुने र मोदी खोलाका दुई किनारका साथै बीचमा समेत गरी ३ वटा पिलर हुने प्राविधिकहरूले बताएका छन्। २०५६ सालमा ट्रयाक खुलेको दोबिल्ला फलेवास सडकमा यो अस्थायी बेलीब्रिज शैलीको पुल २०६३ सालमा डिजाइन गरिएको थियो।

सुरुमा पक्की पुल राख्न सरोकारवाला र उपभोक्ताहरूले दबाब दिए पनि केही समयका लागि भन्दै तत्कालीन जिल्ला विकास समितिले कमजोर पुल डिजाइन गरेको स्थानीय बासिन्दाको आरोप छ।

पुरानो पुल निकै जीर्ण भएपछि केही महिनाअघि कुस्मास्थित अमृत जोशी स्मृति प्रतिष्ठान र पूर्वाधार विकास कार्यालयले फरक–फरक मितिमा मर्मत गरेर पुललाई तत्कालका लागि काम चल्ने बनाइएको छ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive