बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

स्थानीय तहको कार्यसम्पादन बढाउन पैयुँका जनप्रतिनिधिलाई प्रशिक्षण

पर्वत : पर्वतको पैयुँ गाउँपालिका जनप्रतिनिधिहरु कर्मचारीहरुको कार्यसम्पादनमा सुधार गर्नको लागि जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन सुरु गरेको छ।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिहरुलाई कार्यसम्पादनमा अब्बल बनाएर गाउँपालिकाका सेवालाई प्रभावकारी बनाउन तीन दिवसीय ‘क्षमता विकास तथा अभिमुखीकरण तालिम’ सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले बताए। स्थानीय सरकारको संस्थागत स्वमूल्याङ्कन प्रणाली (लिजा) मा गत आर्थिक वर्षमा गाउँपालिका राम्रो अवस्थामा रहेको बताउँदै उनले चालु आर्थिक वर्षमा पनि राम्रो नतिजा आउने गरी जनप्रतिनिधि र कर्मचारीहरुलाई प्रशिक्षण दिइएको जानकारी दिए।
कार्यसम्पादनको विषयमा वडाध्यक्षहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सदरमुकाम कुश्मा बजारमा भेला गरेर प्रशिक्षण दिएको भए पनि कार्यपालिका र वडाका सदस्यहरुले यसबारेमा प्रशिक्षण नपाएकोले वार्षिक बजेटमा नै समावेश गरेर प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो।
‘गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट आउनुभएका जनप्रतिनिधिहरु नयाँ हुनुहुन्छ। वडाध्यक्ष ज्यूहरुलाई संघीय मन्त्रालयले नै सदरमुकाममा बोलाएर प्रशिक्षण गरेको थियो। तर वडा सदस्य तथा नगर कार्यपालिका सदस्यहरुले तालिम पाउनुभएको थिएन’, लामिछानेले भने, ‘हामीले अघिल्लो वर्षमा नै जनप्रतिनिधि र कर्मचारीहरुलाई एकै ठाउँमा राखेर तालिम दिन आवश्यक ठानेर वार्षिक बजेटमा नै व्यवस्था गरेका थियौँ। कर्मचारी प्रशासनमा काम गर्ने वडा सचिव ज्यूहरु लगायत गाउँकार्यपालिकाको कार्यालयमा काम गर्ने कर्मचारीका लागि पनि यो तालिम केन्द्रीत छ।’ प्रशिक्षणमा सहायक स्तरका कर्मचारीहरुलाई समेत राखेर नेपालमा प्रचलित कानुनी तथा कागजी प्रक्रियाको बारेमा सिकाईँदै छ।
स्थानीय सरकार र संघ सरकारकाबीचको साझेदारीलाई सहज गराउनका लागि पनि जनप्रतिनिधिहरुका लागि दिइएको यो प्रशिक्षण महत्वपूर्ण रहने गाउँपालिकाको अपेक्षा छ। नागरिकताको प्रमाणपत्र लिनको लागि वडाबाट हुने सिफारिसदेखि राहदानी लिनका लागि जिल्ला प्रशासन कार्यालयमार्फत पूरा गर्नुपर्ने प्रक्रिया र राष्ट्रिय परिचयपत्रका बारेमा पनि जनप्रतिनिधिहरुले यो प्रशिक्षणमा थप जानकारी पाउने छन्। नेपालमा प्रचलित कानुनहरुको बारेमा कम जानकारी हुँदा टोलटोलमा हुने सामान्यदेखि जटील विषय झनै जटील बन्न नपरोस भन्नका लागि प्रहरी, प्रशासन, अदालती प्रक्रिया लगायतका विषयमा पनि जनप्रतिनिधि र कर्मचारीहरुलाई थप ज्ञान दिइने छ।
कार्यसम्पादनका क्रममा जनप्रनितिधिको भूमिका कहाँनेर के रहन्छ? भन्ने बारेमा पनि छलफल गरेर जनप्रतिनिधि र कर्मचारीहरुले गर्नुपर्ने कामका बारेमा स्पष्ट हुने गरी तालिममा सिकाईँदै छ। गाउँपालिकामा रहेको न्यायिक समितिको भूमिकालाई थप सक्रिय बनाउन तथा स्थानीय तहका समस्याहरुलाई सकेसम्म न्यायिक समितिबाट नै किनारा लगाउनको न्यायिक समितिका सूचकहरुमाथि पनि छलफल भइरहेको छ। समितिको भूमिकाका बारेमा छलफल गरेर क्षेत्राधिकारका बारेमा जानकारी दिनुका साथै समस्या समाधान सिपको विकासमा सहिजीकरण गर्ने गरी प्रशिक्षण चलीरहेको प्रमुख प्रशाशकीय अधिकृत लामिछानेले बताए।
राजश्व सुधार योजना निर्माण, लैङ्गीक समावेशीकरण लगायतका विषयमा पनि प्रशिक्षण दिइने गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी (राज) बताउँछन्। यो प्रशिक्षणले वडादेखि गाउँपालिकासम्मको सेवा प्रवाहमा सुधार आउनु मात्रै नभई नेपालका भइरहेका अभ्यासका बारेमा पनि जनप्रतिनिधिहरुले थाहा पाउने उनको भनाई छ।
‘कतिपय कानुनी व्यवस्थाहरुको बारेमा जनप्रतिनिधिहरुलाई नै थाहा नभएको अवस्थामा पिडित पक्ष झनै पिडित बन्ने, समस्या झनै जटील बन्न सक्ने जोखिम पनि रहेको हुन्थ्यो। तर यो अभिमुखीकरणले उहाँहरुलाई सामान्य कानुनी प्रक्रिया लगायत नेपालमा प्रचलित तरिकाहरुको बारेमा केही न केही ज्ञान पाउनुहुन्छ।’, ठकुरी भन्छन्।
स्थानीय सरकारको संस्थागत स्वमूल्याङ्कन प्रणाली (लिजा) का १० वटा क्षेत्रभित्र रहेका एक सय वटा सूचकहरुमाथि नै छलफल गरेर प्रत्येक सूचकको अवस्थामा सुधार गर्नेमा पनि तालिम केन्द्रीत छ।
अभिमुखीकरणमा संघीय प्रणालीमा संघीय सरकारको अवधारणा र कानुनी व्यवस्था, स्थानीय प्रशासन तथा अन्तर तह समन्वय, स्थानीय सरकार सञ्चालन, नागरिकता र नागरिकताका सवालहरु लगायतका विषयमा प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल, जिल्ला प्रशासन कार्यालयका अधिकृत नवीन सुवेदी सहित सन्तोष दनाई र दिलिप सुवेदीले सहजीकरण गरेका छन्।
अभिमुखीकरणको उदघाटन गर्दै अध्यक्ष तोरण मल्ल ठकुरीले जनप्रतिनिधी र कर्मचारीहरुको दक्षता क्षमता र सेवालाई सहज र दिगो बनाउन तालिमले ठूलो योगदान दिने बताए। सिकेका कुरा व्यवहारमा लागु गर्न सके देश र जनताको लागि सहज हुने उनको भनाई छ।
गाउँपालिकाकी उपाध्यक्ष याम कुमारी रानाले तालिमले जनपिरतिनिधि र कर्मचारीहरुमा उत्प्रेरणा तथा पुनर्ताजगी दिने बताईन्। तालिममा सहजीकरण गर्दै प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जनताको सहजताको लागि सुशासन पारदर्शिता रजवाफदेहिताले जनतामा सेवा सहज बनाउने उल्लेख गरे। उनले कर्मचारी र जनप्रतिनिधि मिलेर सेवाको भावले जनताको काम गर्नुपर्ने बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive