पर्वत : साहित्यको क्षेत्रमा बिभिन्न कामहरु गर्दै आइरहेको पर्वतका साहित्यकारहरुको संस्था पर्वत साहित्य सङ्गमले छ जना साहित्यकार र एक पुस्तकालयलाई सम्मान गरेको छ।
साबिकको धौलागिरिका चार जिल्लाहरु पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा बढी केन्द्रित रहँदै साहित्यको क्षेत्रमा बिभिन्न कामहरु सहित साहित्यकारलाई प्रेरणा प्रदान गर्दै आइरहेको संस्थाले बिभिन्न व्यक्तिहरुले स्थापना गरेका पुरस्कारहरु वितरण गरेको हो। सम्मानित छ जना साहित्यकार र पुस्तकालयलाई जनही १० र १५ हजार रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो।
सङ्गमका अध्यक्ष डि.आर शर्माका अनुसार सङ्गमले नै स्थापना गरेको सङ्गम पुरस्कार तथा सम्मान–२०८० ईन्द्रमान खत्रीलाई प्रदान गरिएको छ। मनको तृष्ण (गजल सङ्ग्रह), समय (हाइकु सङ्ग्रह) र घामछायाँ (हाइकु सङ्ग्रह) प्रकाशन गरेका खत्री कृति सम्पादनदेखि सामाजिक काममा समेत सक्रिय रहँदै आएका छन्। उनले पुरस्कार स्वरुप १५ हजार रुपैयाँ पाएका छन्। गोपि–नन्द स्मृति साहित्य पुरस्कार तथा सम्मान–२०८० साहित्यकार टुकनाथ रेग्मी ‘बेलुराम’ लाई प्रदान गरिएको छ। सृजनाका धुन (कविता सङ्ग्रह), बेलुराम (पद्य खण्डकाव्य), हरितारा (झ्याउरे खण्डकाव्य) र कति राम्रो कुश्मा शहर गीतका रचनाकार उनी २०४८ सालमा कविता सङ्ग्रह निकालेपछि औपचारिक रुपमा साहित्य क्षेत्रमा प्रवेश गरेका हुन्।
डिल्ली–राधा साहित्य पुरस्कार तथा सम्मान–२०८० मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको भूमि स्मृति थाक पुस्तकालयलाई प्रदान गरिएको छ। थकाली जातीको मुख्य उद्गम स्थल तथा ऐतिहासिक, साँस्कृतिक, धार्मिक तथा सामाजिक दृटिले पनि महत्वपूर्ण रहेको पुस्तकालयलाई सम्मान गरिएको हो। यस्तै मान–पदम साहित्य पुरस्कार तथा सम्मान–२०८० ललितकलाको क्षेत्रमा सक्रिया रहँदै आएका गणेश जि.सी.लाई प्रदान गरिएको छ। उनी नेपाली कलाको अन्तराष्ट्रिय प्रसारमा सक्रिय रहँदै जि.सी.ले अग्नियात्रा र सीमान्त अक्षरहरु नामक दुई कृति प्रकाशन गरेका छन्।
नमुना शिक्षा तथा साहित्य पुरस्कार तथा सम्मान–२०७७ बाट साहित्यकार यमबहादुर के.सी.लाई सम्मान गरिएको छ। जीवनका लहरहरु, शिवगीता, बगैँचाका फूलहरु, बादलभित्रका कविताहरु लगायतका कृति प्रकाशन गरेका उनी शैक्षिक जनशक्ति विकास केन्द्रको केन्द्रीय अनुगमनकर्ताको रुपमा समेत काम गरेका व्यक्ति हुन्। संस्कृति साहित्य पुरस्कार तथा सम्मान–२०८० (मरणोपरान्त) स्व.मानजी सुरागमलाई प्रदान गरिएको छ। गायन तथा सङ्गीतको माध्यमबाट सक्रिय रहँदै आएका उनको २०७८ सालको जेठ १५ गते निधन भएको थियो।
यस्तै कृष्णा–उद्योग साहित्य पुरस्कार तथा सम्मान–२०८० बाट गणनाथ पौडेल ‘निरमाया ठूली’ लाई सम्मान गरिएको छ। राष्ट्रिय स्तरको भलिबल खेलाडी रहँदै शिक्षा क्षेत्रमा प्रवेश गरेका उनले यसअघि उत्कृष्ट शिक्षक पदक, दीर्घ सेवा शिक्षक सम्मान लगायतका पुरस्कार र सम्मान पाएका व्यक्ति हुन्। भलिबलका पूर्व प्रशिक्षक समेत रहेका उनले पाँचओटा साहित्यिक कृति प्रकाशन गरेका छन्।
सोही कार्यक्रमको अवसरमा जिल्लाको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले आफ्नी आमा केशकुमारी जोशीको चौरासी पूजा लगाएको खुसीयालीमा ५१ हजार रुपैयाँ रहेको अक्षयकोष स्थापना गरेका छन्। साहित्य सङ्मले साहित्यको प्रबद्र्धनमा गरिरहेको प्रयासमा सघाउने लक्ष्य सहित उनले अक्षयकोषको स्थापना गरेका हुन्। नगरप्रमुख जोशीले अभिभावक र बिद्यार्थीको अङ्ग्रेजी मोहका कारण नेपाली साहित्य प्रभावित भएको बताउँदै पहिलेका जस्ता रचनाहरु आजभोलि आउन छाडेको तर्क गरे।
मान–पदम साहित्य पुरस्कार तथा सम्मान–२०८० बाट सम्मान पाएका कलाकार जि.सी.ले आफूले पुरस्कार स्वरुप पाएको १० हजारमा थप ४० हजार रुपैयाँ थपेर मूल धन ५० हजार रुपैयाँ रहेको अक्षयकोष स्थापना गरेका छन्। के.सी पाएको पुरस्कारमा उनका दाजु बिजेन्द्र जिसी र दिदी माया के.सी.ले २०÷२० हजार रुपैयाँ थप गरेका हुन्।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले संगमले गरेको कामले साहित्यलाई प्रोत्सहान दिएबो भन्दै कुश्मा नगरपालिकाको तर्फबाट बजेटमा संस्कृति र भाषा जगेर्नाका लागि बजेट बिनियोजन हुने बताईन्।
पुरस्कारको स्थापनाकर्ता तथा साहित्यकारहरुको तर्फबाट गणनाथ शर्मा, गणेश जि.सी., टुकनाथ रेग्मी ‘बेलुराम’, इन्द्रमान खत्री, शुशीलबाबु थकाली, ईन्द्रकुमार बिकल्प लगायतले बोलेका थिए। संस्थाका अध्यक्ष डी.आर शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गोकुल शर्मा ‘मञ्जरी’ ले गरेका थिए।