पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका विद्यालयलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धि सहजीकरण गरिएको छ ।
विद्यालयका बिभिन्न तथ्याङ्कहरुलाई एकीकृत रुपमा व्यवस्थापन गर्नका लागि देशैभर कार्यान्वयनमा रहेको इमिस सफ्टवेयरमा तथ्याङ्क प्रविष्ट गर्ने र तिनीहरुलाई व्यवस्थापन गर्नका लागि दुई दिने सहजीकरण गरीएको हो । जेठ ३१ र ३२ गते आधारभूत तहका विद्यालयहरुलाई प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणमा नयाँ शैक्षिक सत्र २०८० मा भर्ना भएका, कक्षा चढेका, विद्यालयबाट बाहिरिएका विद्यार्थीहरुको विवरण, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको विवरण, विद्यालयको भौतिक अवस्था, विद्यालयमा रहने बिभिन्न समितिहरुको प्रविष्टी, परीक्षा सञ्चालन तथा प्रविष्टी व्यवस्थापन लगायतका विषयमा शिक्षा शाखाका प्रमुख बिष्णुप्रसाद तिवारी, शिक्षा अधिकृतद्धय दीपक सुवेदी र अर्जुन पौडेल तथा नारायण माध्यमिक विद्यालयका शिक्षक संजय रेग्मीले सहजीकरण गरेका थिए ।
सहजीकरणको समापनको अवसरमा बोल्दै नगर शिक्षा, यूवा तथा खेलकुद शाखाका प्रमुख बिष्णुप्रसाद तिवारीले प्रबिधिको प्रयोगका विषयमा पछाडि पर्न नहुने बताए । अहिलेसम्मको सिकाई अभ्यासले राम्रो काम गरिरहेको बताउँदै उनले अझै दक्ष बन्नको लागि सिकाईलाई निरन्तरता दिनुपर्ने सुझाव दिए । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुबाट माग अनुसार आएका कुराहरुको समाधानको लागि नगरपालिकाले प्रयास गरिरहेको भन्दै शाखा प्रमुख तिवारीले नगरपालिकाले केही पनि गरेको छैन भन्नु गलत भएको तर्क गरे ।
शिक्षा अधिकृतद्धय दीपक सुवेदी र अर्जुन पौडेलले नगरपालिकाले छुट्टै प्राबिधिक समूह निर्माण गरेर विद्यालयमा आई.टी.लाई शसक्तीकरण गर्नका लागि प्रयास गर्ने तयारीमा आफूहरु रहेको बताए । आई. टी स्रोत शिक्षक निर्माणका लागि कम्तीमा पनि पाँच दिनको प्रशिक्षण आयोजना गरेर सिकाएपछि उनीहरुलाई नै प्रयोग गरेर नगरपालिकाभित्रका बिद्यालयमा रहेका आई.टी समस्या समाधानको प्रयास गरिने उनीहरुको भनाई छ ।
कुश्मामा आधारभूत विद्यालयलाई ईमिश प्रशिक्षण
