पर्वत : दश वर्षको अवधिमा पर्वत जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक अवस्थामा पुगेको देखिएको छ ।
राष्ट्रिय जनगणना, २०७८ सालको पर्वत जिल्लाको नतिजा सार्वजनिक गर्दै तथ्याङ्क सहायक सुरेन्द्रराज पौडेलले २०६८ सालको जनगणना र २०७८ सालको जनगणनाको १० वर्षे अवधिमा पर्वतमा माइनस १.०९ प्रतिशत बृद्धिद्धर रहेको बताए ।
पछिल्ला तीन पटक भएका जनगणनाको तथ्याङ्कलाई हेर्दा हरेक पटकको गणनामा जनसङ्ख्या घट्दै आइरहेको देखिएको छ। २०५८ सालमा एक लाख ५७ हजार आठ सय २६ रहेकोमा २०६८ सालमा एक लाख ४५ हजार पाँच सय ९० मा झरेको थियो । २०७८ सालको गणनामा भने झनै घटेर एक लाख ३० हजार आठ सय ८७ कायम भएको छ । वृद्धिदर हेर्दा २०५८ सालमा ०.९५ प्रतिशत वृद्धिदर रहेकोमा २०६८ मा ०.७४ प्रतिशत रहेको रहेको थियो । जनसङ्ख्या कम भएसँगै जनघनत्व पनि घटेको छ । प्रति वर्ग किलोमिटरमा २०५८ मा तीन सय १९, २०६८ मा दुई सय ९७ र २०७८ मा दुई सय ६५ जना बसोबास गरेको देखिएको छ ।
सात ओटा स्थानीय तह रहेको पर्वतमा ती सबै स्थानीय तहको जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेको छ । बिहादी गाउँपालिकामा सबैभन्दा धेरै माइनस २.०५ तथा जलजला गाउँपालिकामा माइनस ०.१५, कुश्मा नगरपालिकामा माइनस ०.३७, महाशिला गाउँपालिकामा माइनस १.८७, मोदी गाउँपालिकामा माइनस १.१९ र फलेवास नगरपालिकामा माइनस १.८० प्रतिशत रहेको छ ।
२०७८ सालको तथ्याङ्क अनुसार बिहादीमा १० हजार आठ सय २८, जलजलामा २१ हजार एक सय १९, कुश्मामा ३८ हजार एक सय एक, महाशिलामा आठ हजार एक सय ३६, मोदीमा १८ हजार सात सय ९४, पैयुँमा १२ हजार सात सय ७५ र फलेवासमा २० हजार चार सय ६८ जनसङ्ख्या रहेको छ । होस्टल, इन्स्टिच्युट वा ब्यारेकमा बस्दै आएकाहरूलाई संस्थागत जनगणना भनी राखिएको छ । पर्वतमा त्यस्तो जनसङ्ख्या नौ सय २३ रहेको देखिएको छ ।
जिल्लामा पुरुषको कुल सङ्ख्या ६१ हजार छ सय ७८ र महिलाको सङ्ख्या ६९ हजार दुई सय नौ रहेको छ । तथ्याङ्क सहायक पौडेलका अनुसार जिल्लामा कुल परिवार सङ्ख्या ३६ हजार एक सय ३७ रहेको पाइएको छ भने परिवारको औसत आकार (परिवारमा सदस्य सङ्ख्या) ३.६२ देखिएको छ । तर २०६८ सालको गणनामा परिवारको औसत आकार ४.१ रहेको थियो। यो तथ्याङ्कले सन्तान कम जन्माउने वा संयुक्त परिवार भन्दा एक्ल परिवारमा बस्ने रुचाउनेहरूको सङ्ख्या बढी भएको देखिएको छ ।
जिल्लाका ३६ हजार एक सय ३७ परिवारमध्ये ११ हजार सात सय ७२ ओटा परिवारबाट कम्तीमा पनि एक जना विदेशमा बसोबास गर्ने गरेको पाइएको छ । ती परिवारबाट दुई हजार ती सय ३२ जना महिला र १४ हजार एक सय १४ जना पुरुष गरी कुल १६ हजार चार सय ४६ जना वैदेशिक रोजगारीमा रहेको देखिएको छ । यस्तै चार हजार दुई सय ५९ जनामा अपाङ्गता रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्क अनुसार पाँच वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसङ्ख्याको साक्षरता प्रतिशत देशभरमा ७६.२ प्रतिशत रहेकोमा पर्वतमा भने ८०.१२ प्रतिशत रहेको छ ।
राष्ट्रिय रूपमा हेर्ने हो भने पनि २०७८ को जनगणनामा जनसङ्ख्या वृद्धिदर घटेको पाइएको छ । २०५८ सालमा २.२५, २०६८ सालमा १.३५ वृद्धिदर रहेकोमा २०७८ मा ०.९२ प्रतिशत रहेको छ । तर राष्ट्रिय रूपमा पनि जनघनत्व बढ्दै गएको छ । प्रति वर्ग किलोमिटरमा बसोबास गर्नेहरूको सङ्ख्या २०५८, २०६८ र २०७८ मा क्रमशः एक सय ५७, एक सय ८० र एक सय ९८ रहेको छ ।
यस पटक भएको जनसङ्ख्या देशको १२ औँ जनगणना हो । यस पटकको गणना ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ सञ्चालन गरिएको थियो । जनगणनाका लागि तथ्याङ्क सूचीकरणको काम २०७८ भदौ ३० देखि असोज १८ सम्म भएको थियो भने तथ्याङ्क सङ्कलनको काम २०७८ कार्त्तितक २५ देखि मङ्सिर नौ गतेसम्म भएको थियो ।
जनगानाबाट प्राप्त भएको तथ्यलाई सामाजिक तथा आर्थिक अवस्था थाहा पाउन, जनसङ्ख्याको प्रक्षेपण गर्न, कृषि गणना तथा अन्य सर्वेक्षणमा नमुना छनोट गर्न, विकासका लक्ष्य मापन गर्न लगायतका क्षेत्रमा प्रयोग गर्ने गरिएको छ । २०७८ सालको मुख्य विशेषतामा सङ्घीय संरचनाको पहिलो जनगणना, पूर्ण गणना, सामुदायिक प्रश्नावलीको प्रयोग, सम्पूर्ण घरको प्रयोजन सहितको गणना, करारका गणक तथा सुपरिवेक्षकबाट तथ्याङ्क सङ्कलन र स्थानीय तह र वडा अनुसारको नतिजा प्रकाशन रहेका छन् ।
थाहा खबरबाट साभार गरिएको




