बुधबार, अशोज १६, २०८१
Wednesday, October 2, 2024

सहकारीको कर्जा र ब्याज तिर्न जलजला गाउँपालिकाको अनुरोध

पर्वत : पर्वतको जलजला गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सहकारीहरुबाट ऋण लिएका व्यक्तिहरुलाई तिर्नुपर्ने मितिमा नै कर्जा र त्यसको ब्याज तिर्न अनुरोध गरेको छ ।
जिल्ला सहकारी संघ कुश्माले ऋणीहरुले समयमा नै कर्जा र त्यसको ब्याज नतिर्दा सहकारी संस्थाहरु समस्यामा परेको र बचतकर्ताहरुलाई समेत असर परेकोले जलजला गाउँपालिकामा रहेका सहकारीका ऋणीहरुलाई रकम चुक्ता गरिदिन निर्देशन दिन अनुरोध गरेको थियो । सोही अनुसार गाउँपालिकाले केही सहकारी संस्थाका सदस्यहरूले तोकिएको म्यादभित्र नियमित किस्ता, ऋणको साँवा ब्याज बुझाउन अटेर गरेको अवस्थाले गर्दा सहकारी संस्था नै समस्यामा पर्न जाने भएकाले जलजला गाउँपालिका क्षेत्रभित्रका ऋणीहरुलाई रकम चुक्ता गर्न आह्वान गरेको हो ।
संचालनमा रहेका सहकारी संस्थाहरूबाट ऋण लिई नियमित रूपमा किस्ता नबुझाउने, तोकिएको म्याद भित्र ऋणको साँवा व्याज नबुझाउने ऋणी सदस्यहरूले आफ्नो संस्थाको सम्पर्कमा आई ऋण तिर्ने बुझाउन, संचालक समितिसँग आवश्यक छलछल गर्ने, आँफूले लिएको ऋणको किस्ता नियमित गर्ने ऋणको साँवा ब्याज तोकिएको म्याद भित्र बुझाई आँफू जस्तै अन्य सदस्यहरूको बचत रकम फिर्तामा सहयोग गरी आफ्ना सहकारी संस्थालाई समस्याग्रस्त हुनबाट बचाउन गाउँपालिकाले अनुरोध गरेको छ ।
सहकारी वा अन्य वित्तीय संस्थाहरूबाट लिएको कर्जा नतिर्ने भनी व्यवसायी दुर्गा प्रसाईँले अभियान चलाएपछि ती संस्थाहरूले केही समस्याहरू भोगिरहेका छन् । कोभिड–१९ का कारण वित्तीय संस्थाहरू पनि आर्थिक कारोबारको समस्यामा परे भने नागरिकले पनि समस्या भोग्दै आइरहेका छन् । त्यसमा पनि ऋण र ‘लोन’ तिर्न नसकेकै कारण आत्मदाह र आत्महत्या गरेका घटनाहरू बढेपछि वित्तीय संस्थाहरूको आर्थिक कारोबारमा झनै समस्या भइरहेको छ ।
कर्जाको किस्ता वा ब्याज जसोतसो तिर्दै आएका ऋणीहरूले पनि यही शून्य अवस्थाको मौका छोपेर साँवा ब्याज तिर्नमा मौनता देखाइरहेका छन् । यही बेलामा फेरि सहकारीका सञ्चालकहरू ठुलो रकम हिनामिना गर्दै फरार हुन थालेपछि पनि बचतकर्ताहरू समेत समस्यामा पर्दै आइरहेका छन् । सहकारीहरूमा देखिएको आर्थिक हिनामिनाको मौका छोपेर वित्तीय संस्थामा ऋण चुक्ता गर्न नखोज्नेहरू पनि भेटिने गरेका छन् । सहकारी संस्थाहरुले तत्कालका लागि तिर्न बाध्य नपारे पनि कानुन बमोजिम त्यस्ता व्यक्तिहरु दोषी हुने भएकाले एकै पटक कर्जा, किस्ता र ब्याज असुली गर्दा धेरै रकम बुझाउनेपर्ने अवस्था आउने देखिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive