पर्वत : नेपाल रेडक्रस सोसाइटीको ६१ औँ स्थापना दिवसको अवसर पारेर नेपाल शिक्षक संघ कुश्मा नगरपालिकाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
गत वर्षको रेडक्रस दिवसमा पनि रक्तदान कार्यक्रमको आयोजना गरेको नगर कार्यसमितिले यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिने गरी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतमा खसला रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । एक व्यक्तिले दिएको रगत कोही अरुको जीवन बचाउनमा सहयोग पुग्ने भएकाले मानवीयतालाई आत्साथ गर्दै यस वर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यसमितिका अध्यक्ष मिम शर्मा लामिछानेले बताए ।
कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले रगत दिँदै रक्तदान कार्यक्रमको सुरुवात गरेका थिए । सो अवसरमा बोल्दै उनले रगत दान दिनुजस्तो पवित्र दान अरु नभएकाले अरु व्यक्तिको जीवन रक्षाका लागि रक्तदान गर्नुपर्ने बताए । कोही व्यक्तिको रगतले अरु कोही व्यक्तिको प्राण बाँच्ने भएकाले रक्तदान गर्न हिचकिचाउनु नपर्ने उनको भनाई थियो । विगतमा रगत नपाएकै कारण धेरै बिरामीहरुले ज्यान गुमाउनुपर्ने अवस्था रहेको भए पनि पछिल्लोमा समयमा भइरहेको प्रबिधिको विकास र त्यसमा सघाउँदै रक्तदान गर्ने दानवीरहरुका कारण रगत अभावकै कारण मर्नुपर्ने अवस्थामा न्यूनीकरण हुँदै आइरहेको नगरप्रमुख तिवारीले बताए ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालले पछिल्लो समयमा मानिसहरुको आहार र बाँच्ने शैलीका कारण बिभिन्न प्रकृतिका स्वास्थ्य समस्याहरु देखिएकोप्रति चिन्ता व्यक्त गरे । मानिस जति धेरै अस्वस्थ बन्दै जान्छन उती नै रगतको आवश्यकता पर्दै जाने भएकाले बिरामी भएपछि मात्रै स्वास्थ्य परीक्षण गर्ने बानीमा सुधार गर्नुपर्ने उनको सुझाव छ । पर्वत रेडक्रसले अस्पतालमा आवश्यकता अनुसारको रगत उपलब्ध गराउन हरसम्भव प्रयास गर्दै आइरहेको भन्दै सभापति रिमालले रेडक्रसको उद्धेश्य नै सामाजिक सेवा भएकाले रेडक्रसकर्मीहरु मानवीयतालाई आत्मसाथ गर्दै निरन्तर लागिरहेको बताए ।
शिक्षक संघ कुश्मा नगर कार्यसमितिका सभापति मिम शर्मा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक जिल्ला कार्यसमिति अध्यक्ष यज्ञनाथ बास्तोला, पर्वत अस्पतालका मेडिकल अधिकृत मनिष सिंह, पर्वत रेडक्रसका पदाधिकारी, समाजसेवी सहित शिक्षकहरुको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रम सुरु हुनु अगाडि भएको औपचारिक कार्यक्रममा स्वागत मन्तब्य संघ कुश्मा नगरकार्यसमितिकी उपाध्यक्ष भोजकुमारी शर्माले गरेकी थिइन भने कार्यक्रमको सञ्चालन सचिव महेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।