पर्वत : ‘सुन्दर र स्वस्थ पाङः हाम्रो अभियान’ अन्तर्गत पाङ क्षेत्रलाई सफा र सुन्दर बनाउने अभियानमा जुटीरहेको पाङ यूवा क्लबले पार्वती गुफा परिसरमा फोहोर व्यवस्थापनको लागि ‘डस्टबीन’ राखेको छ ।
बुधबार श्रीकृष्णजन्माष्टमीको बिशेष दिन पारेर कुश्मा नगरपालिका–१ पाङ र २ खुर्कोटको बीचमा रहेको पर्यटकीय धार्मिक स्थल पार्वती गुफा वरपरको बाटो तथा गुफा परिसरमा सरसफाइ गर्दै ‘डस्टबीन’ हरु राखिएको क्लबका अध्यक्ष जयराम सुवेदीले बताए । गुफाको प्रचारप्रसारसँगै यसको महत्वको बारेमा धेरैले थाहा पाउँदै गएपछि आजभोलि पार्वती गुफामा जानेहरुको सङ्ख्या क्रमिक रुपमा बढीरहेको छ ।
श्रद्धालु भक्तालुहरुको सङ्ख्या बढ्दै गुफा परिसरमा फोहोर पनि बढ्ने भएकाले ‘डस्टबीन’ राखेर फोहोर व्यवस्थापनको प्रयास सुरु गरिएको हो ।
क्लबकै आयोजनामा बुधबार नै पाङमै रहेको पाङ धैरेनी माध्यमिक विद्यालयको बाल समूहद्वारा पनि गुफा परिसरमा सरसफाइ गरिएको छ । विद्यार्थीहरुलाई पनि सामाजिक क्रियाकलापहरुप्रति सक्रिय गराउन तथा आफू रहँदै आएको वातावरण संरक्षणको महत्वको बारेमा लगाव बसाल्नको लागि विद्यालयमा सरसफाई कार्यक्रमको आयोजना गरिएको हो । ‘सुन्दर र स्वस्थ पाङः हाम्रो अभियान’ भन्ने मूल नाराका साथ चलाएको अभियानले दिन प्रतिदिन सार्थकता पाउँदै गइरहेको अध्यक्ष सुवेदी बताउँछन् ।
शनिबार, अशोज १९, २०८१
Saturday, October 5, 2024