७ असोज २०८० पर्वत-“पुस्तौं पुस्ताका लागि पुस्तकालय” भन्ने नारासहित पर्वतको फलेवास नगरपालिका-५, खानीगाउँ स्थित जिल्लाकै पुरानो मोती सामुदायिक पुस्तकालयको १२ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
पुस्तकालयको सभाहलमा एक भव्य कार्यक्रमको आयोजना गरि सनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनबाट तेस्रो कार्यकालको लागि कृष्णराज पौडेल पुनः संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । उपाध्यक्षमा इन्दिरा तिवारी, कोषाध्यक्ष हरिप्रसाद शर्मा पोख्रेल,सचिव ईन्द्रप्रसाद सापकोटा सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा नारायणप्रसाद लामिछाने, गोविन्दप्रसाद सापकोटा, लकास सुवेदी, नेत्र बराल, सिताराम लामिछाने, हेमशर्मा तिवारी, पूर्णप्रसाद सापकोटा, ल्याम बहादुर दर्जी र दिना शर्मा चयन हुनुभएको छ ।पुस्तकालयको संरक्षकमा पुस्तकालयका संस्थापक तथा समाजसेवी भोलानाथ शर्मा रहनुभएको छ ।
सल्लाहकार समिति सदस्यहरुमा आत्मराम पौडेल, ध्रुव लम्साल, अर्जुनब हादुर क्षेत्री, दुर्गा सुवेदी लम्साल र दुर्गा शर्मा पोख्रेल चयन हुनुभएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सविधानसभा सदस्य विकास लम्सालले पुस्तकालय ज्ञानको भण्डार भएकाले सबैले पुस्तक पढ्न पुस्तकालय आउनुपर्ने बताउनुभयो । पुस्तकालयको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा बोल्दै पुस्तकालयका संरक्षक, शैक्षिक अभियन्ता तथा सामाजिक व्यक्तित्व भोलानाथ शर्माले पुस्तक अध्ययनले ज्ञान र चेतनाको स्तर वृद्धि गरेर सफल व्यक्ति बन्न प्रेरित गर्ने बताउदै जुनसुकै उमेरका व्यक्तिहरु पुस्तकालय आएर पुस्तक अध्ययन गर्नुपर्ने बताउनुभयो ।
अध्ययनका लागि पुस्तकालयमा सबै बिधाका पुस्तक उपलब्ध भएको उहाँले बताउनुभयो । आफ्नो गाउँठाउँमा भएको पुस्तकालयको भरपुर उपयोग र सदुपयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभएको । पुस्तक पढ्ने बानीले व्यक्तिलाई सकारात्मक चिन्तन,बौद्धिक, लगनशील र उर्जाशिल बनाउने बताउदै पठन संस्कृतिको विकासमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै उद्यमशिलता विकास प्रशिक्षक तथा शैक्षिक अभियन्ता शान्ता दाहालले पुस्तकालयमा पुस्तक पढ्ने व्यक्ति अब्बल र सक्षम हुने बताउदै अध्ययनशिल व्यक्ति नै असल नेतृत्वकर्ता हुने बताउनुभयो । पुस्तकालयको उन्नयन तथा व्यवस्थापनका लागि प्रत्येक दिन १ रुपैयाँ सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो ।
सोही अवसरमा कार्यक्रममा उपस्थित ३० जना भन्दा बढीले दिनको एक रुपैयाँका दरले १ बर्षको सहयोग रकम पुस्तकालयलाई प्रदान गर्नुभएको छ । कार्यक्रममा बोक्दै नवनिर्वाचित अध्यक्ष कृष्णराज पौडेलले आफ्नो कार्यकालमा सबैको सहयोग र सहकार्यमा पुस्तकालयको उन्नयनका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्षमा निर्वाचित गराएकोमा पुस्तकालयका सस्थापक अध्यक्ष तथा सदस्य,सल्लाहकार समिति ,सम्पूर्ण संरक्षक सदस्य ,आजीवन सदस्य ,साधारण सदस्यलगायत कार्यक्रममा उपस्थित प्रमुख अतिथि ,विशिस्ट अतिथि ,अतिथि एवम् सम्पूर्णलाई पौडेलले धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा समाजसेवी नारायण प्रसाद शर्मा, दुर्गादत्त लम्साल, जगन्नाथ लम्साल, सुवोध पोख्रेल, गोमा कुमारी लम्साल, सकुन्तला शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा बोल्ने वक्ताहरुले ज्ञानको विस्तार र पठन संस्कृतिको विकासका लागि ग्रामीण भेगमा पुस्तकालय स्थापना गरि असल कर्म गरेको भन्दै मोती सामुदायिक पुस्तकालयका संस्थापक भोलानाथ शर्माको प्रसंशा गर्नुभएको थियोे ।
उक्त अवसरमा पुस्तकालयलाई योगदान पुर्याउनुहुने स्वर्गीय यज्ञ प्रसाद लम्साललाई मरणोपरान्त सम्मान गरिएको छ । त्यस्तै समाजसेवी दुर्गादत्त लम्साल ,जगन्नाथप्रसाद लम्साल र सुबोध पोखरेललाई सम्मान गरिएको छ । कार्यक्रममा लाइब्रेरीयन इन्द्र प्रसाद सापकोटाले पुस्तकालयको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष हरि शर्मा पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वि.सं २०१६ सालमा स्थापित जिल्लाकै पुरानो उक्त पुस्तकालयले शैक्षिक तथा सामाजिक गतिविधिहरु संचालन गर्दै आइरहेको छ । पुस्तकालय संचालन समितिका अध्यक्ष कृष्णराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नवनिर्वाचित उपाध्यक्ष इन्दिरा तिवारीले गर्नुभएको थियोे ।