पर्वत : ४४ औं विश्व पर्यटन दिवसको अवसर पारेर ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ पर्वतमा पनि कार्यक्रम गरी मनाइएको छ ।
पर्यटन तथा उद्योग कार्यालय पर्वतको आयोजना तथा जिल्ला समन्वय समिति पर्वत र जिल्ला प्रशासन कार्यालय पर्वतको समन्वय तथा पर्वत उद्योग वाणिज्य संघ र पर्वत पर्यटन प्रवर्धन केन्द्र पर्वतको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो । पर्यटन तथा उद्योग कार्यालय वडागाउँबाट स्थानीय भेष भुषामा व्यानर सहितको प्रभातफेरि तथा ¥याली सहित कुश्मा नगर परिक्रमा गरी पर्वत उद्योग वाणिज्य संघको हलमा कार्यक्रम गरी मनाइएको हो ।
जिल्ला समन्वय समिति पर्वतका समन्वय प्रमुख विष्णुराम वि.क.को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा पर्वत पर्यटन प्रबर्धन केन्द्रका अध्यक्ष मिनप्रसाद श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । जिल्लाका समग्र पर्यटनको सम्बन्धमा निमित्त कार्यालय प्रमुख नारायणदत्त उपध्यायले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद पौडेल, जिल्ला समन्वय उप प्रमुख सोमबहादुर जि.सी, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमका बक्ताहरुले पर्वत जिल्लमा भएका पर्यटकिय स्थलहरुको व्यापक प्रचार प्रसार गर्ने र पर्यटकिय पूर्वाधार निर्माणमा राज्यले पप लगानी गर्नुपर्ने धारणा राखेका छन् । पर्यटन क्षेत्र तुलनात्मक लाभको क्षेत्र भएकोले निजी क्षेत्रले समेत यसबाट प्रसस्त लाभ लिन सक्ने उनीहरुको भनाइ छ । जिल्लामा भएका धार्मिक स्थलहरू गप्तेश्वर गुफा, मोदीबेनी, सेतीवेनी (शालिग्राम शिला) गलेश्वरधाम, सहस्रधारा, पार्वती गुफा अल्पेश्वर गुफा, कालान्जर पर्वत जस्ता धार्मिक स्थलका साथै दुर्लङकोट, पन्चासे लेक, पैयुँकोट जस्ता पर्यटकिय स्थलहरुको प्रचारप्रसारको कमी र पुर्वाधार निर्माण हुन नसकेका कारण ओझेलमा परेकोमा उनीहरुले चासो व्यक्त गरेका छन् ।
लामो र अग्लो पुलको जिल्ला भनेर चिनिने पर्वतको कुश्मामा यान्त्रिक पुल, बन्जीजम्प जस्ता साहसिक खेलले पर्यटकलाई थप आकर्षण गरेको छ भने जिल्लामा जलयात्राको पनि उत्तिकै सम्भावना रहेको छ । स्थानीय उत्पादनलाई बढवा दिन र यहाँको मौलिकता नस्ट हुन नदिन सबै सरोकारवाला लाग्नुपर्ने वक्ताहरुले बताएका छन् । पर्यटकीय नगरी पोखरामा आएका पर्यटकहरुलाई पर्वतमा आउने वातावरण बनाई केही दिन यहाँ राख्न सकेमा यसबाट पर्वतबासी थप लाभान्वित हुने र यसको लागि सुविधा सम्पन्न होटेल, रेस्टुरेन्ट र अन्य पर्यटकिय क्रियाकलाप हुनुपर्ने उनीहरुको भनाइ छ ।
कार्यक्रममा जिल्लास्थित विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु, सुरक्षा निकाय, पर्वत उद्योग वाणिज्य संघ, पर्वत पर्यटन प्रवर्धन केन्द्र, होटल व्यवसायी संघ, नेवा सांस्कृतिक समूह, महिला उद्यमी संघ, नेपाल पत्रकार महासंघ पर्वत, स्थानीय होमस्टे लगायतका विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्था र स्थानीय नागरिकको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पर्यटन तथा उद्योग कार्यालयका अधिकृत भिमप्रसाद अर्यालले गरेका थिए ।
बिहिबार, अशोज १७, २०८१
Thursday, October 3, 2024