बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

सेनाको नयाँ रणभीम गुल्मको आयोजनामा मुडिकुवामा स्वास्थ्य शिविर

पर्वत : पाको उमेरका कारण स्वास्थ्य संस्थासम्म जान समस्या भोगेका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै नेपाली सेनाको नयाँ रणभीम गुल्मले जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवामा स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

 

 

नागरिक–सैनिक सम्बन्धलाई थप प्रगाढ बनाउन तथा सैनिकका तर्फबाट नागरिकको स्वास्थ्य सुविधामा थप पहुँच विस्तार गर्न शिविर आयोजना गरिएको आयोजक नयाँ रणभीम गुल्म गोदाम ब्यारेक कुश्माका गुल्मपति सेनानी राजन पाण्डेले बताए।

स्थानीय नागरिक र जनप्रतिनिधिबाट समेत अस्पतालसम्म पुगेर स्वास्थ्य अवस्था जाँच गराउन समस्या भोग्दै आएको ज्येष्ठ नागरिकलाई ध्यानमा राखेर स्वास्थ्य शिविर राख्न सुझाव आएपछि सोहीअनुसार शिविर राखिएको हो। फलेवास नगरपालिकाका सबै ११ वटै वडासहित कुश्मा नगरपालिकाका बासिन्दाले पनि त्यसको फाइदा लिन सक्ने भएकाले मुडिकुवामा शिविर राखिएको उनको भनाइ छ।

शिविरमा १५ महिने बालकदेखि ८८ वर्ष उमेरसम्मका एक सयभन्दा धेरैले स्वास्थ्य परीक्षण गराएका छन्। पर्वत अस्पताल र नेपाली सेनाको बागलुङमा रहेको २३ नं. फिल्ड अस्पताल गुल्मबाट आएका चिकित्सकसहित मुडिकुवा स्वास्थ्यचौकीबाट समेत खटिएका १६ जना स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण गरिएका हो। स्वास्थ्य परीक्षणपछि औषधि सेवन गर्नुपर्ने विरामीलाई नेपाली सेना र पर्वत अस्पतालका तर्फबाट व्यवस्थापन गरिएका औषधि वितरण गरिएको सेनानी पाण्डेले बताए।

‘स्वास्थ्य परीक्षणका काम शिविरबाट सम्पन्न गरिएको छ। दीर्घ रोगबाट समस्या भोगिरहेका धेरै ज्येष्ठ नागरिकले शिविरबाट लाभ लिनुभएको छ। कतिपय भने दीर्घ रोगबाट पीडित भए पनि स्वास्थ्य संस्थामा नगएकाले औषधि सुरु गर्नुपर्ने खालका बिरामी पनि पत्ता लाग्नुभएको छ’, उनले भने, ‘यसले नागरिक–सैनिक सम्बन्धलाई थप प्रगाढ बनाउने त भइहाल्यो। अर्कोतर्फ बुढ्यौली वेलामा अस्पतालसम्म जान नसकेर रोग पालेर बस्नुभएका बुबाआमालाई केही राहत पनि मिलेको छ।’

शिविरमा स्वास्थ्य परीक्षणको काम गरेका पर्वत अस्पतालका चिकित्सक डा.कुशल अधिकारीका अनुसार हाड, जोर्नी, दम, बच्चाको नाक, कान र घाँटी, प्रसूति तथा महिनाबारी, मोतीविन्दु, टाउकोको समस्या, पाचन प्रणाली, दीर्घ रोग, लगायतका समस्या भएका व्यक्तिले शिविरमा स्वास्थ्य परीक्षण गराएका छन्। कतिपय विरामी दीर्घ रोगबाट पीडित भई औषधि सेवन गर्नैपर्ने अवस्थामा रहेको भए पनि अहिलेसम्म स्वास्थ्य जाँच नै नगरी बसेको समेत पाइएकाले उनीहरूलाई थप परीक्षण सहित औषधिका लागि सिफारिस गरिएको उनको भनाइ छ।

मधुमेह, उच्च रक्तचाप र थाइरोइड सम्बन्धी समस्या भोग्दै आएका मुडिकुवाकै ७८ वर्षीय युवनाथ गौडेलले शिविरबाट स्वास्थ्य लाभ लिन पाउँदा खुसी लागेको बताए। गाउँमा रहेको स्वास्थ्यचौकीबाट सामान्य स्वास्थ्य सेवा मात्रै पाउँदा जटिल समस्या पालेर गाउँमै बस्न बाध्य भएकाहरूले आँगनबाटै स्वास्थ्य सेवा पाउँदा धेरै सजिलो भएको उनको भनाइ छ।

शिविरको शुभारम्भ कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, नेपाली सेनाको बागलुङ स्थित २३ नं. बाहिनीका बाहिनीपति सहायक रथी रोशन खड्का लगायतको उपस्थिति रहेको थियो।

नेपाली सेनाले पर्वतका विभिन्न स्थानमा सामाजिक सेवाका काम गर्दै आइरहेको छ। दैवीप्रकोप तथा विपद्का वेला मात्रै नभएर पदमार्ग, मन्दिर, सार्वजनिक स्थल, परम्परागत मौलिक सम्पदा, विद्यालय, स्वास्थ्य, सरसफाइ, खानेपानी, लगायतका क्षेत्रमा पनि सेनाले संरक्षण, निर्माण र पुनः निर्माणका काम गर्दै आइरहेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive