पर्वत : पर्वतका सहिद हरिदत्त तिवारीको २१ औँ स्मृति दिवसको अवसर पारेर आउँदो माघ एक गते आयोजना गर्न लागिएको कार्यक्रमको तयारीको बारेमा जानकारी गराइएको छ । हरिदत्त तिवारी स्मृति प्रतिष्ठानको आयोजनामा माघ एक गते सहिद तिवारीको गृह फलेवास नगरपालिका–३ शंकरपोखरीको नुवारमा शनिवार आयोजित पत्रकार सम्मेलन गरेर माघ एक गतेको कार्यक्रमको बारेमा जानकारी दिइएको हो ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष तथा शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले विगतका वर्षहरुमा काँग्रेस सभापति शेरबहादुर देउवा, वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायतका नेताहरु आएको स्मृति दिवसको अवसरमा यस वर्ष गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायतका नेताहरु आउन लागेको जानकारी दिए ।
सहिद तिवारीकै गृहमा आयोजना गर्न लागिएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य अर्जुनप्रसाद जोशी, गण्डकी प्रदेश सरकारका प्रवक्ता उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापा, लगायतको नेता तथा पदस्थ व्यक्तिहरुको उपस्थितमा कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सहिद तिवारी विकासप्रोमी नेता रहेकै अवस्थामा तत्कालिन द्धन्द्धको बेलामा २०६० साल माघ एक गते साँझ तत्कालिन नेकपा (माओवादी) बाट घर नजिकै लगेर हत्या गरिएको बताए ।
सो अवसरमा बोल्दै सहिदपुत्र तथा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले सहिद तथा पिता तिवारीको इतिहासलाई जोगाइराख्नको लागि प्रतिष्ठानमार्फत बिभिन्न कामहरु भइरहेको बताए । आफ्नो बुबा पूर्व गाविस अध्यक्ष तथा धेरै पटक प्रधान पञ्च समेत भएर गाउँको विकासका लागि खटीरहेको अवस्थामा हत्या गरिएको स्मरण गर्दै अब सहीदको सपना पूरा गनुर््पर्ने बताए । बुबाले सहादत प्राप्त गरेपछि आफू राजनीतिमा होमिनु र अहिले फलेवास नगरपालिकाको प्रमुख बनेर जनताको सेवा गर्न पाउनुले पनि बुबाको सपना पूरा गर्न केही यात्रा तय गरेको उनको भनाइ छ । बुबाको स्मृतिमा हरेक वर्ष बिभिन्न कार्यक्रमहरु गर्दै आएको तथा त्यस अवसरमा स्थानीय विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना पनि हुँदै आएका तिवारीले बताए । शिक्षा र विकासको क्षेत्रमा उल्लेख्य काम गर्न खोजेका आफ्ना हरिदत्तको सपना पूरा गर्नको लागि आफूले शंकरपोखरीका सबै विद्यालय सहित नगरपालिकाका अन्य केही विद्यालयहरुमा ५१ हजार रुपैयाँदेखि एक लाख रुपैयाँ राशी रहेका अक्षयकोष स्थापन गरेको सहिदपुत्र तिवारीको भनाइ छ ।
यस बर्ष पनि विद्यार्थीहरुका लागि बिभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रमहरु सहित सांस्कृतिक कार्यक्रमहरुको पनि तयारी भइरहेको छ । माघ एक गते बिहान १० बजेबाट नै कार्यक्रम सुरु हुने भएकोले आयोजक प्रतिष्ठानले जिल्लाबासीहरुलाई सोही समयमा नै कार्यक्रमस्थलमा उपस्थित हुनका लागि अनुरोध गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस फलेवास नगरपालिकाका सभापति हिरामणी सापकोटा लगायतले पनि सहिद तिवारीको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाल प्रेस युनियन पर्वतका उपाध्यक्ष रोशन तिवारीले गरेका थिए ।
वि.सं. १९८७ सालको पुसमा जन्मिएका हरिदत्तको २०६० सालको माघ १ गते राति तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताले हत्या गरेका थिए । माघे संक्रान्तिको दिन घरका परिवारसँग बसिरहेको अवस्थामा घरमा प्रवेश गरेका उनीहरूले त्यहीँ खाना खाएर तिवारीसँग केही सोधपुछ रहेको भन्दै घरबाट लिएर गएका थिए ।
त्यो बेलामा नेपाली काँग्रेस पर्वतको क्षेत्र नं. २ का क्षेत्रीय सभापति समेत रहेका तिवारी घरबाट करिब पाँच सय मिटर टाढा रहेको जङ्गलमा लगेर राति करिब १० बजेको समयमा खुट्टा भाँचेर छाडेको अवस्थामा तिवारी भेटिएका थिए । कर्फ्यूकै बीचमा पनि उपचारका लागि सदरमुकाम लैजाँदै गर्दा हालको कुश्मा नगरपालिका–९ कटुवाचौपारीको साइकल चोकमा पु¥याउँदा तिवारीको मृत्यु भएको थियो ।
शंकरपोखरी क्षेत्रमा सडक विस्तार तथा खानेपानी व्यवस्थापनका लागि उनी आफ्नो कार्यकालमा निकै खटेका थिए । यही कारण पनि हरेक वर्ष उनको स्मृतिमा आयोजना गरिने कार्यक्रममा शंकरपोखरीबासीहरु सहित जिल्लाका बिभिन्न ठाउँका नेता तथा कार्यकताहरु उनको सम्झनामा आयोजना गर्ने कार्यक्रममा उपस्थित हुने गरेका छन् ।