सोम, फाल्गुन १८, २०८२
Mon, March 2, 2026

महाशिलामा उच्च शिक्षा पढ्ने विद्यार्थीलाई अनुदान

फाल्गुन २६, २०८०

पर्वत : जिल्लाको महाशिला गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउन थालेको छ। उच्च शिक्षामा राम्रो विषय लिएर पढ्ने विद्यार्थीको संख्या घटी दक्ष जनशक्तिको अभाव भएपछि अनुदान दिएर पढाउन थालिएको हो।

दक्ष जनशक्तिको उत्पादनका लागि उच्च शिक्षासम्म पढ्न प्रोत्साहित गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको गाउँपालिका कार्यालयले जनाएको छ।

गाउँपालिकाले उच्च मावि र स्नातक वा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई छुट्टाछुट्टै अनुदान दिने भएको हो। उच्च माविमा गणित, विज्ञान तथा स्टाफ नर्स अध्ययन गर्ने विद्यार्थीलाई वार्षिक ५० हजार रुपैयाँ उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले जानकारी दिए। उनका अनुसार यो वर्ष विपन्न तथा जेहेन्दार ६ जना विद्यार्थीलाई उक्त अनुदान उपलब्ध गराइनेछ।

विपन्न तथा असहाय परिवारका विद्यार्थीलाई उच्च शिक्षामा सहज पहुँच पुर्‍याउन मेडिकल, इन्जिनीयरिङ, कृषि र भेटेरीनरी विषयमा स्नातक तह अध्ययन गरिरहेका वा अध्ययन गर्न इच्छुकलाई पनि अनुदान दिइने पराजुलीले बताए।

‘यस्ता विद्यार्थीलाई वार्षिक एक लाख रुपैयाँ अनुदान उपलब्ध गराइनेछ। जतिसुकै संख्यामा भए पनि स्नातक तहका विद्यार्थीलाई अनुदान दिनेछौँ’, उनले भने।

आर्थिक अभावका कारण कोही पनि विद्यार्थी गुणस्तरीय शिक्षाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले विद्यार्थी अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए। उनका अनुसार गाउँपालिकाले गत आइतबार सूचना जारी गरी १५ दिनभित्र इच्छुक विद्यार्थीलाई पालिकामा सम्पर्क गर्न आग्रह गरिसकेको छ।

अहिले पनि गाउँपालिकामा कृषि, पशु, स्वास्थ्यसम्बन्धी जनशक्ति र गणित तथा विज्ञान पढाउने शिक्षकको अभाव रहेको भन्दै यी विषय अध्ययन गर्ने विद्यार्थीलाई वार्षिक एक लाख रुपैयाँका दरले चार वर्षसम्म अनुदान दिइने अध्यक्ष भुसालले जानकारी दिए। पालिकामा विज्ञान र गणित पढाउने शिक्षकको अभाव लामो समयदेखि खड्किँदै आएको भन्दै पटकपटक सूचना गर्दा पनि यी विषयका शिक्षक पदपूर्ति गर्न नसकिएको अध्यक्ष भुसालको भनाइ छ।

‘पालिकाभित्रबाट उच्च शिक्षा पढ्ने विद्यार्थीलाई चार वर्षसम्म सहयोग गर्नेछौँ। उक्त कार्यक्रम दक्ष जनशक्ति उत्पादन गर्न लागू गरिएको हो’, उनले भने। उक्त सुविधा लिने विद्यार्थीले पढाइ सकिएपछि न्यूनतम दुई वर्ष पालिकामा सेवा गर्नुपर्ने शर्त राखिएको गाउँपालिकाका अध्यक्ष भुसालले बताए।

यस्तो अनुदानले विद्यार्थीलाई मासिक शुल्क भुक्तानी र स्टेशनरी खरिद लगायतमा सहज हुने अपेक्षा पालिकाको छ। पछिल्ला केही वर्षयता गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धिलाई जोड दिँदै आएको छ। जिल्लाका सात पालिकामध्ये निजी विद्यालय नभएको महाशिला मात्रै रहेको अध्यक्ष भुसालले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive