मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

पर्वत अस्पतालमा ३५ जनाको निःशुल्क शल्यक्रिया‚ ३१५ जनाले जाँचाए आँखा

चैत्र १, २०८०

पर्वत : बागलुङको बागलुङ नगरपालिकास्थित बलेवाको बिचुवा घर भएकी ज्येष्ठ नागरिक धूमकुमारी बुधवार पर्वत अस्पतालमा भेटिइन्।

केही दिनअगाडि दुवै आँखाले देख्न नसक्ने अवस्थामा पुगेकी उनले छोटो समयमा नै आँखाको शल्यक्रिया गर्ने मौका पाइन्। अस्पतालमा राखिएको शिविरमा दुवै आँखाको शल्यक्रिया गरेपछि उनी खुशी देखिइन्।

धूमकुमारी जस्तै अरू ३ जनाले दुवै आँखाको शल्यक्रिया गरेर फेरि संसार देख्ने मौका पाएका छन्। अरू ३१ जनाले एउटा आँखाको शल्यक्रिया गराए।

अस्पतालमा राखिएको शिविरमा ३५ जनाको शल्यक्रिया गरिनुका र ३ सयजनाभन्दा धेरैको आँखा परीक्षण गरिएको छ।

आँखाको उपचारका लागि पर्वतबाट नजिक भनेको पोखरास्थित हिमालय आँखा अस्पताल हो। आर्थिक अवस्थाले गर्दा उपचार गराउन टाढा जानुपर्ने बाध्यताका कारण पनि आँखामा समस्या भएका सबै जना पोखरा पुगिरहेका हुँदैनन्।

समयमा नै आँखाको उपचार नगर्दा आँखामा सामान्यदेखि जटिल समस्या भोग्नेदेखि दृष्टि नै गुमाएकाहरू भेटिने गरेका छन्।

यस्तै विरामीहरूलाई केन्द्रित गरेर पर्वतमा रहेका लायन्स क्लबहरूको संयुक्त आयोजनामा भएको चारदिने शिविरमा ३१५ जनाको आँखा परीक्षण गरिएको हो।

पर्वत अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीका अनुसार ३ दिनसम्म आँखा जाँच तथा मोतियाबिन्दुका विरामीको पहिचान गरेपछि मंगलवार र बुधवार मोतियाबिन्दुको समस्यामा रहेकाहरूको शल्यक्रिया गरिएको हो।

लायन्स क्लब अफ शिवालय, लायन्स क्लब अफ पर्वत मोदी काली, लायन्स क्लब अफ पर्वत कुश्मा सिटी र लायन्स क्लब अफ पर्वत कालीगण्डकीको आयोजनामा राखिएको शिविरमा पर्वत अस्पताल र हिमालय आँखा अस्पताल पोखराले चिकित्सकदेखि उपकरणसम्मको संयुक्त व्यवस्थापन गरेका थिए।

‘सामाजिक संघसंस्थासँग जोडिएर पर्वत अस्पतालले आफ्ना सेवा अगाडि बढाउन पाउनु खुशीको कुरा हो। सरकारी अस्पतालहरूको गुमेको विश्वासलाई पुनर्स्थापित गर्नका लागि पनि हामीले सहकार्यमा विभिन्न रोगलाई लक्षित गरेर शिविरहरू राख्दै आएका छौँ’, उनले भने, ‘अस्पतालमा भौतिक सुविधा राम्रो भएको छ। जुनसुकै प्रकारका शिविर राखे पनि हामी सम्पन्न गर्न सक्छौँ। यहाँ आवश्यकताअनुसार जनशक्ति नभएको भए पनि भएको जनशक्ति दक्ष छ। यसले पनि सरकारी स्वास्थ्य संस्थाप्रति उब्जेका शङ्काहरूको निराकरण गर्दै आएको छ।’

शिविरमा शल्यक्रिया गरेका अधिकांश ज्येष्ठ नागरिकहरूले आफ्नै ठाउँमा राखिएको शिविरबाट फेरि आँखा देख्न पाउँदा खुशी लागेको बताए।

आँखामा सामान्य समस्या देखिँदा उपचारकै लागि भनेर पोखरासम्म नगएको अवस्थामा शिविर राख्दा आफूहरूले फेरि संसार नियाल्न पाएको भन्दै उनीहरू हर्षित भएका थिए।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive