पर्वत : कास्कीको अन्नपूर्ण गाउँपालिका–४ सल्लाघारीमा आइतबार अपराह्न भएको जिप दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ।
वडा प्रहरी कार्यालय बगरका अनुसार कास्कीकै पोखरा महानगरपालिका–२३ कार्कीतगराका ५५ वर्षीय लक्ष्मण सुनार र सोही वडाको ठूलाखेतका अन्दाजी ५२ वर्षीय जयराम सुनारको मृत्यु भएको हो। उनीहरूको फूलबारी स्थित मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार सुरु गर्ने क्रममा चिकित्सकले मृत्यु घोषणा गरेका थिए।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये अरू छ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार चलिरहेको छ। उनीहरू अन्नपूर्ण गाउँपालिका–५ सल्यानका ३५ वर्षीय प्रकाश सुनार, ३५ बर्षिया सुशीला सुनार, १५ बर्षिया सोनिशा सुनार, २२ महिनाका बालक सुप्रिम सुनार, पोखरा महानगरपालिका–२३ का वर्षीय ६० वर्षीय राम प्रसाद सुनार र अन्नपूर्ण गाउँपालिका–४ की ५० वर्षीय देउमाया के.सी.रहेका छन्। उनीहरू सबैको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ। देउमायालाई भने पश्चिम क्षेत्रीय अस्पतालबाट रिफर गरेर मणिपालमा लगिएको हो।
यस्तै पश्चिम क्षेत्रीय अस्पतालमा पोखरा महानगरपालिका–२३ का ५८ वर्षीय लक्ष्मण कामी, चालक अन्नपूर्ण गाउँपालिका–४ का २२ वर्षीय धनराज सुनार, अन्नपूर्ण गाउँपालिका–५ का ७ वर्षीय आरुष बि.क. र ४१ वर्षीय राज कुमार बि.क.को मध्यम अवस्थामा उपचार भइरहेको छ।
आइतबार अपराह्न करिब साढे तीन बजेको समयमा पोखराबाट भदौरेका लागि जाँदै गरेको ग १ ज ५५४७ नम्बरको बोलेरो दुर्घटनामा परेको थियो। चालकले नियन्त्रण गुमाउँदा जिप सडकबाट करिब दुई सय ५० मिटर तल खसको थियो।
शनिबार, अशोज १९, २०८१
Saturday, October 5, 2024