पर्वत : ७६ औँ विश्व स्वास्थ्य दिवसको अवसर पारेर पर्वतका सरकारी कार्यालयहरुमा कार्यरत कर्मचारीहरुमा नसर्ने रोगको स्क्रिनीङ गरिएको छ ।
‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नारा राखिएको यस वर्षको दिवसको अवसरमा स्वास्थ्य कार्यालय पर्वतको आयोजना र पर्वत अस्पतालको समन्वयमा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लामा रहेका सम्पूर्ण कार्यलयका कार्यालय प्रमुख, कर्मचारीहरु, सुरक्षा सुरक्षाकर्मीहरु र संचारकर्मीहरूको उपस्थितिमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा कुल एक सय ६५ जनाको उचाई, तौल, उचाई तथा तौल अनुसार शरीरको मोटोपन, रक्तचाप, मधुमेह र पिसाबमा प्रोटिन मात्राको स्क्रिनिङ गरीएको थियो । जसमध्ये ६५ प्रतिशत अर्थात एक सय आठ जनामा मोटोपन, २६ प्रतिशत अर्थात ४३ जनामा उच्च रक्तचाप र दुई प्रतिशत अर्थात चार जनामा मधुमेह देखिएको थियो । उनीहरुलाई नियमित स्वास्थ्य जाँच, नियमित व्याम, खानपान शैलीमा व्यवस्थापन गर्ने जस्ता सुझाव चिकित्सकले दिएका छन् ।
स्वास्थ्य परिक्षण तथा परामर्श कार्यक्रम स्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख प्रविण शर्माको अध्यक्षता, जिल्ला समन्वय समितिका संयोजक विष्णु राम वि.क.को प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो ।





