मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

अज्ञात रोगले थलिएकी बालिकाको उपचार गर्न बुहारी ग्रुपले फेसबुकबाट उठायो ७५ हजार

बैशाख १२, २०८१

पर्वत : अज्ञात रोगका कारण सङ्कटपूर्ण स्वास्थ्य अवस्थामा बाँचिरहेकी जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीस्थित नुवारकी १४ वर्षिया सपना घिमिरेको उपचारको लागि ‘बुहारी ग्रुप अफ नेपाल’ले आर्थिक सहयोग गरेको छ ।

सामाजिक सञ्जाल ‘फेसबुक’ मा २०७७ सालमा विवाहित महिला (बुहारी) हरूद्वारा स्थापना भएको समूहले सामाजिक सेवाका क्षेत्रमा विभिन्न कामहरू गर्दै आइरहेको छ । विशेषतः महिला र बालबालिकाहरू समस्यामा रहेको सूचना पाएपछि ‘एडमिन’ ले ‘ग्रुप’ मा सहयोगको अपिल गर्छन् । अनि उक्त समूहमा रहेका ८२ हजार बुहारीमध्ये कोही न कोहीले केही न केही सहयोग गर्दा रकम सङ्कलन हुँदै आएको ‘ग्रुप’ की संस्थापक लक्ष्मी तिवारीले जानकारी दिइन् ।

गत चैत १८ गते सपनाको अवस्थाको बारेमा सामग्री प्रकाशन भएपछि ‘बुहारी ग्रुप अफ नेपाल’ ले आर्थिक सहयोग सङ्कलनको अभियान सुरु गरेको थियो । सोही अभियानका क्रममा उठेको ७५ हजार एक सय पाँच रुपैयाँ मङ्गलवार बालिकाको घरमा नै पुगेर हस्तान्तरण गरिएको हो । समूहका संस्थापक तिवारी सहित ‘मोडरेटर’ हरू गीता घिमिरे र पूजा शर्मा सहित गएका प्रतिनिधिहरूले बालिकाको अवस्थाको अवलोकन सहित रकम हस्तान्तरण गरेका हुन् ।

रोजगारीका लागि भारतको मन्द्रासमा पुगेका सपनाका बाबु आनन्दबहादुर घिमिरे पछिल्लो छ महिनादेखि परिवारको सम्पर्कमा छैनन् । सपना बिरामी परेपछि आमा शारदा घिमिरेले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार थालिन् । धेरै रोगको निदान गर्ने मणिपालले नै सपना देखिएको स्वास्थ्य समस्या पत्ता लगाउन नसकेपछि क्यान्सर भएको हुनसक्ने आशङ्कामा चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा जान सुझाएको थियो ।

सकसपूर्ण आर्थिक अवस्थाबाट गुज्रिरहेको परिवारका मुख्य व्यक्ति नै सम्पर्कविहीन हुँदा झनै समस्यामा परेको परिवारकी उनै सपनालाई चितवनसम्म लैजान नसक्ने अवस्था आएपछि आर्थिक सहयोगका अभियानहरू सुरु भएका थिए । पोखरबाट चितवन लैजानुपर्ने छोरीलाई पैसाकै अभावमा पोखराबाट घरतर्फ फर्काएर राख्नुपरेपछि उनको अवस्थामा थप समस्या आएको थियो ।

सुरुमा ज्वरो आएपछि सपनालाई पर्वत अस्पतालमा ल्याएर उपचार गरिएको थियो। औषधी खाने बेलासम्म निको हुने अनि फेरि ज्वरो आउने क्रम चलेपछि उनलाई एक हप्ता अगाडी मणिपाल शिक्षण अस्पताल लगिएको थियो। सबै परीक्षण गरेपछि मणिपालले भरतपुर क्यान्सर अस्पताल रिफर गरेको हो ।

सपना अध्ययनरत जनसहयोगी माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गा गिरीका अनुसार परीक्षणको क्रममा दिइएका दुई ओटा नमुनाको ‘रिपोर्ट’ आउन बाँकी छ । नमुना दिएपछि एउटाको नतिजा २० दिनमा र अर्कोको नतिजा ५० दिनमा आउने भनिएकाले सपना कुन रोगबाट ग्रस्त छिन भन्ने कुरा यकिन नभएको उनको भनाइ छ । सपनाकी आमा शारदा समेत बोलाई सम्बन्धी अपाङ्गता भएकी महिला हुन् । यही कारण पनि समस्याको उपचारमा आर्थिक व्यवस्थापनका लागि चुनौतीहरू आइरहेका छन् ।

शारदाका श्रीमान् आनन्द चौकीदारीको काम पाउने भएपछि गत असोजमा भारत पसेका थिए । उनी मङ्सिरदेखि सम्पर्कविहीन छन्। श्रीमान् भारत जाँदा ऋण लिएको १५ हजार तिर्न नसकेर समस्यामा परेकी शारदालाई अब फेरि छोरीको समस्याले गम्भीर समस्यामा पारेको छ । शारदा र सपना ढुङ्गाले अँठ्याएको टिनको छाप्रामुनि बस्दै आएका छन्। उनी बस्ने झुपडी पनि छिमेकीको हो ।

सहयोग गरेको ‘बुहारी ग्रुप आफ नेपाल’ की संस्थापक तिवारीले आफूहरूको समूह समस्यामा परेकाहरूको दुःख बिसाउने चौतारी भएको बताइन् । हालसम्म १३ लाख रुपैयाँ भन्दा बढी रकम सहयोग गरिसकेको समूहले ‘महिलाले पनि पुरुषकै जसरी काम गर्न सक्छन’ भन्ने उदाहरण देखाउन पनि यो अभियान चलाइरहेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive