बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024

डढेलोपछि कुश्मामा क्रमशः सहज बन्दै पानीको आपूर्ति

पर्वत : विशाल डढेलोका कारण खानेपानी योजनामा पुगेको क्षतिले पानीको अभावमा रहेको पर्वत सदरमुकाम कुश्मा बजारमा पानीको आपूर्ति बिस्तारै सहज बन्दै गएको छ ।

कुश्मासँगै जोडिएको कुश्मा नगरपालिका–३ दुर्लुङ र वडा नं.–८ चुवाको सिमानाबाट गत आइतबार सुरु भई मङ्गलवारसम्म भएको आगलागीले कुश्मामा पानी आउने दुई ओटै योजनामा क्षति पुग्दा पानीको आपूर्ति सकसपूर्ण बनेको थियो । फराकिलो वन क्षेत्र नै लगभग सखाप बनेको अवस्थामा पानी ल्याउन प्रयोग गरिएका ‘पोलिथिन पाइप’ जल्दा पानीको आपूर्ति बन्द भएको थियो ।

शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था कुस्माका अध्यक्ष रविकुमार श्रेष्ठका अनुसार मोदी गाउँपालिकाको पाती खोला र कुश्मा नगरपालिकाको क्यादी खोला गरी दुई ठाउँबाट ल्याइएका दुवै योजनाको मर्मत गरेपछि पानीको आपूर्ति सहज भएको हो । तर क्यादी खोलाबाट ल्याएको पानीमा अझै पनि समस्या नै देखिएकोले पूर्ण क्षमतामा भने पानी आउन सकेको छैन ।

क्यादी खेलाबाट ल्याएको योजना अन्तर्गत फाप्रे खोला नजिकै रुख ढलेर पाइप नै फुटेर पानी बाहिर जानुका साथै आगलागीमा परेर कतिपय स्थानमा ‘पाइप’ नै जलेको पाइएको छ । ती स्थानमा संस्थाको टोलीले मङ्गलवार नै मर्मत गरेको छ । मोदी गाउँपालिकाको पाती खोलाबाट आएको योजनामा पनि क्षति भएका ठाउँहरूमा मङ्गलवार नै गरिएको मर्मतले पूर्ण क्षमतामा पानीको आपूर्ति भइरहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

अहिले कुश्मामा प्रति सेकेन्ड ४० लिटर पानी खसिरहेको छ। फाप्रे खोला लिफ्टबाट पाँच लिटर, क्यादी खोलाबाट १२ लिटर, डिप बोरिङबाट पाँच लिटर र पाती खोलाबाट १७ लिटरका दरले प्रति सेकेन्ड पानीको आपूर्ति भइरहेकोले पानीको समस्या अब समाधान भएको छ । क्यादी खोलाबाट आएको योजनामा भएका थप क्षति पत्ता लगाएर मर्मत गरेपछि उक्त योजनाको पानी पनि पूर्ण क्षमतामा आउने छ ।

क्यादी खोलाबाट ल्याइएको खानेपानी योजनाबाट बर्खा याममा प्रति सेकेन्ड ३५ लिटरसम्म पानीको आपूर्ति हुने गरेको छ । मोदी गाउँपालिकाको पाती खोला मुहानबाट ल्याइएको पाइप लाइनबाट प्रतिसेकेन्ड १८ लिटरसम्म पानी झर्ने गरेको छ ।

पानी आपूर्तिको लागि राखिएका चार ठुला ट्याङ्कीमा क्यादी खोला र पाती खोला दुवै तर्फको मुहानबाट दैनिक २६ लाख लिटरसम्म पानी आउने गरेको छ । बजारमा संस्थामार्फत दुई हजार ५०० भन्दा बढी धारा जडान गरिएका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive