पर्वत : घाँस काट्न जाने क्रममा लडेर घाइते हुनुभएका पर्वतको फलेवास नगरपालिका–२ थापाठानाको बान्द्रे निवासी पूर्ण बहादुर भण्डारी (दीपक) लाई बुहारी ग्रुप अफ नेपालले आर्थिक सहयोग गरेको छ ।
आर्थिक अवस्था निकै कमजोर रहेका पूर्णको उपचार जसोतसो चलिरहेको भए पनि दैनिक आवश्यकताका विभिन्न बस्तुहरूको समस्या भएपछि बुहारी ग्रुपले खाद्यान्न सहितका विभिन्न सामग्रीहरू उपलब्ध गराएको छ । बुहारी ग्रुप अफ नेपालकी संयोजक लक्ष्मी तिवारीका अनुसार पूर्णको परिवारमा दैनिक उपभोग्य बस्तुको अभावले दैनिकीमा नै समस्या आउन थालेपछि करिब २५ हजार मूल्य बराबरको खाद्यान्न सहित लत्ता कपडाहरू उपलब्ध गराइएको हो ।
गत पुस एक गते बिहानको समयमा घाँस काट्न जाँदा अचानक भिरबाट लडेर शरीरको देब्रे भागको टाउकोदेखि खुट्टासम्मको सबै भाग छियाछिया भएको थियो । तत्काल नै पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार गरेर उनी बाँचेको भए पनि अहिलेको अवस्था निकै कष्टप्रद रहेको छ । अस्पतालबाट निस्किएर घरमा नै आएर बसेको भए पनि उनलाई बेला बेलामा फलो अप जाँचका लागि अस्पताल लैजाँदा र आवश्यक औषधिको व्यवस्था गर्दा धेरै रकम खर्च हुने गरेको पूर्णको परिवारले बताएको छ ।
पूर्णको परिवारको अवस्था दयनीय अवस्थामा रहेको भन्दै वडा कार्यालयले समेत उनको उपचारमा सघाउन आम नागरिकलाई अनुरोध गरेको थियो ।