बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

पर्वतका करिब ६ हजार बालबालिकालाई दुई चरणमा आइपिभी खोप लगाइँदै

जेष्ठ १०, २०८१

पर्वत : नियमित खोप कार्यक्रमअन्तर्गत खोपको अभावमा छुटेका पर्वतका करिब ६ हजार बालबालिकाहरूलाई पोलियो विरुद्धको आइपिभी खोप दिइने भएको छ।

२०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाहरूले यो खोप नपाएकाले उनीहरूको लागि खोप अभियान सुरु गर्न लागिएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माले बताए। आइपिभी (इनएक्टीभेटेड पोलियो भ्याक्सिन) खोपमा पोलियोको मृत भाइरस हुने र यो सुईको माध्यमबाट दिन लागिएको हो।

यो खोपले वाइल्ड पोलियो भाइरसबाट हुने पोलियोमाईलाईटिस, ओपीभी खोपसँग सम्बन्धित पोलियोमाईलाईटिस र आइपीभी खोपबाट उत्पन्न भएको पोलियोमाईलाईटिस हुनबाट सुरक्षा प्रदान गर्ने उनको  भनाइ छ। ओपिभि खोपमा भने निष्क्रिय पारिएको जीवित पोलियो भाइरस हुने र यसलाई मुखबाट खुवाउने गरिएको छ।

खोप तालिकाअनुसार बच्चा जन्मिएको छ हप्ता, १० हप्ता र १४ हप्तामा ओपीभीको पहिलो, दोस्रो र तेस्रो मात्रा दिएको हुनुपर्छ भने आइपिभीको पहिलो मात्रा जन्मिएको १४ हप्तामा र दोस्रो मात्रा नौ महिनाको उमेरमा दिनुपर्छ।

जिल्लाका सात वटै स्थानीय तहमा अभियान नै सञ्चालन गरेर यही जेठ १३ देखि २६ गतेसम्म आइपीभी खोप लगाउन थालिएको हो। जिल्लाको फलेवास नगरपालिका, महाशिला, विहादी र पैयुँ गाउँपालिकामा जेठ १३ गतेदेखि १७ गतेसम्म र कुश्मा नगरपालिका, मोदी र जलजला गाउँपालिकामा २१ गतेदेखि २६ गतेसम्म खोप लगाउने कार्य तालिका निर्धारण गरिएको छ।

खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लास्थित पालिका, अस्पताल, स्वास्थ्य चौकीसँग सहकार्य गरिनेछ। खोप लगाइसकेपछि बालबालिकामा सामान्य असर देखिन सक्ने भएकाले हरेक स्थानीय तहमा एक÷एक जना चिकित्सकले आवश्यक निगरानी गर्नेछन्। नियमित खोप भन्दा फरक हुने भएकाले लक्षित समूहका सबै बालबालिकाले अनिवार्य लगाउनुपर्ने कार्यालयले बताएको छ।

पोलियोमाईलाईटिस पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो। यी भाइरस तीन प्रकारका छन्। यसबाट सङ्क्रमित भएको व्यक्तिलाई पक्ष घात हुन सक्ने र त्यो भएमा निको नहुने चिकित्सकहरूले बताएका छन्। यो भाइरसले जुनसुकै उमेरका मानिसलाई सङ्क्रमण गर्न सक्ने भए पनि पाँच वर्ष मुनिका बालबालिकाहरू बढी जोखिममा हुने पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले बताए।

पोलियो भाइरसबाट दूषित भएको पानी, खानेकुराबाट पनि यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकोले सचेत हुनुपर्ने उनको भनाइ छ। पोलियो भाइरसबाट सङ्क्रमित हरेक दुई सय जनामध्येका एक जनामा पक्ष घात हुने गरेको तथ्याङ्क छ। यस्तै सङ्क्रमितमध्ये पाँचदेखि १० प्रतिशतमा श्वासप्रश्वास मांसपेशी नचल्ने र व्यक्तिको मृत्यु हुने गरेको छ। यो रोग लागेपछि यसको निश्चित उपचार नभएकोले यस विरुद्धको खोप लगाउनु नै सङ्क्रमणबाट बच्ने सबैभन्दा उत्तम विकल्प रहेको डा. बास्तोलाले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive