पर्वत : मुलुकमा सङ्घीयता कार्यान्वयनमा आएपछि संविधान अनुसार स्थानीय तहमा दुई वटा निर्वाचन सम्पन्न भइसकेका छन्। २०७४ मा भएको पहिलो निर्वाचन जनप्रतिनिधिहरूका लागि सिकाइको अवसर बन्यो। स्थानीय तहको अभ्यास मुलुकको लागि पहिलो भएकोले अभ्यासमा नै पहिलो पाँच वर्ष बित्यो। २०७९ मा भएको दोस्रो स्थानीय तहको निर्वाचनमा भने राजनीतिक दल तथा उम्मेदवारहरूले आफ्ना घोषणापत्रमा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विविध विषयमा घोषणापत्रमा उल्लेख गरे। निर्वाचनको बेलामा मत पाउनको लागि घोषणापत्रमा आकर्षक योजनाहरू राखेको भए पनि ती योजनाहरूको कार्यान्वयनको बारेमा चासो घट्दै जान्छ। अहिले पदमा रहेका जनप्रतिनिधिहरूको अवधि दुई वर्ष पूरा भएको छ। यही परिवेशमा सघन न्यूजले पर्वतको पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीसँग जनतासँग गरिएका प्रतिबद्धताको कार्यान्वयनको विषयमा गरेको कुराकानी सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
जनतालाई स्थानीय सरकारको महसुस हुने गरी काम गर्नको लागि नै हामी निर्वाचित भएर आएका हौँ। यो दुई वर्षको अवधिमा हामीले धेरै उल्लेखनीय कामहरू गरेका छौँ। यहाँको आर्थिक, सामाजिक, शैक्षिक एवं समग्र पूर्वाधारको विकासमार्फत समृद्ध पैयुँ निर्माणको अभियानमा हामी छौँ। निर्वाचनको बेलामा जारी गरिएका घोषणापत्र हेरेर त्यहाँ राखिएका योजनाहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ। विभिन्न आठ वटा शीर्षकमा हामी आफूले आफूलाई मूल्याङ्कन गरेर अगाडि बढिरहेका छौँ।
गुणस्तरीय शिक्षाको खोजीमा बसाइसराइ बढ्दा सबैभन्दा टड्कारो समस्या सामुदायिक विद्यालयमा छ। सामुदायिक विद्यालयमा करोडौँ लगानी भइरहेको बेलामा ती विद्यालय रित्ता बनेका छन्। यसको समाधानको प्रयास केही भएको छ?
हामीले सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि गरिरहेका विभिन्न अभ्यासहरू स्पष्ट छन्। पछिल्ला दिनहरूमा देशभरि नै गुणस्तरीय शिक्षाका नाममा दिइने घोकन्ते विद्या मात्रै भन्दा पनि गरी खान सक्ने प्रयोगात्मक शिक्षामा राम्रो आकर्षण भइरहेको छ। हामी त ग्रामीण क्षेत्रमा छौँ, यहाँको आवश्यकता अनुसार विद्यार्थीलाई कृषिमा जोडेर ‘पढ्दै कमाउँदै’ कार्यक्रममा जोड्न सुरु गरेका छौँ। विद्यालयमा दरबन्दी मिलान, कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यमको पनि शिक्षण, अङ्ग्रेजी माध्यममा पढ्नेहरूलाई पनि निःशुल्क पाठ्यपुस्तक दिएका छौँ। अङ्ग्रेजीकै खोजीमा बजार जानुपरेको हो भने सामुदायिक विद्यालयमा पनि त अङ्ग्रेजी माध्यम राखौँ भनेर यसो गरिएको हो। सबै विद्यालयमा प्रयोगशाला, पुस्तकालय र सूचना तथा प्रविधि ल्याब स्थापना गरेका छौँ। पालिका आफैले नमुना विद्यालय छानेर अनुदान दिने, स्थानीय पाठ्यक्रमको कार्यान्वयन, परीक्षा व्यवस्थापनका काम गरेका छौँ।
जनप्रतिनिधिहरूको ध्यान डोजर प्रयोग हुने विकासे क्षेत्रमा मात्रै भयो भन्ने गुनासो छ। सदरमुकाम कुश्माबाट टाढा रहेकोले पैयुँका बिरामीले आधुनिक स्वास्थ्य सेवा पाउन नसकेको अवस्था छ। कोही त त्यतैबाट स्याङ्जाको वालिङमा जाने गरेका छन्। उनीहरूले राहत पाउने गरी के गर्नुभएको छ?
हो यहाँका नागरिकले आफ्नै जिल्ला सदरमुकामको अस्पतालमा पुगेर स्वास्थ्य लिने अवस्था छैन। गाउँपालिका आफैले त्यति ठुलो अस्पताल सञ्चालन कसरी गरोस्? यहाँका स्वास्थ्य चौकीमा उपचार सम्भव नभए वालिङ जान नजिक पनि छ। नागरिकले आफ्नै ठाउँमा स्वास्थ्य सेवा पाउन सकुन् भनेर स्वास्थ्य क्षेत्रलाई पनि हामीले प्राथमिकतामा राखेका छौँ। हुवास स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर १० शय्याको आधारभूत अस्पताल बनाउने, मेडिकल अधिकृत र रेडियोग्राफर सहितको सुविधा, डिजिटल एक्स–रे सेवा यहीँबाट दिन सकेका छौँ। बेला बेलामा स्वास्थ्य शिविर पनि राखेर दीर्घ रोगको खोजी र निदानमा धेरै अभ्यासहरू भएका छन्।
पैयुँ कृषि उत्पादनका हिसाबले राम्रो सम्भावनाको क्षेत्र हो। बाँदरले दिएको हैरानी त देशभरिकै भयो। तर कृषि नै आत्मनिर्भरताको आधार हो। हामीले सुरुमा नै कृषकहरूको सूचीकरण गर्दा करिब दुई हजार घर यसमा समावेश भएका छन्। विद्यालयमा नै करेसाबारी निर्माण गरेर विद्यार्थीलाई कृषि र आम्दानीमा जोड्ने नयाँ अभ्यास थालेका छौँ। मौरीघारदेखि धानको बीउसम्म थुप्रै बीउबीजन अनुदानमा दिएका छौँ। बाँदर लगायतका वन्यजन्तुबाट हुने क्षति कम गर्न ‘वन्यजन्तु हेरालु कार्यक्रम’ चलाउनु, चिस्यान केन्द्रमा कृषि उपजलाई भण्डारण गर्नु लगायतका उपलब्धि हामीले प्राप्त गरेका छौँ। धानको उत्पादनलाई प्राथमिकता दिएर तालिम, अनुदान, क्षेत्र विस्तार, कुटनी र पिसनी मिल वितरण लगायतका काम गरेका छौँ। कृषिलाई आधुनिक र यान्त्रिक बनाउन हामीले जति गर्न सक्छौँ त्यो गर्ने नै छौँ।
बेरोजगारी समस्याको समाधान गर्ने तथा युवालाई आम्दानी जोड्न उद्यमशीलताका कार्यक्रमहरू उपयोगी मानिन्छन्। उद्यमशीलतातर्फ तपाईँहरूले गर्नुभएका अभ्यास के छन्?
बसाइसराइ, युवा पलायन, बेरोजगारी यी सबै कुराहरू आम्दानीसँग जोडिएर आउँछन्। र आम्दानी उद्यमशीलता र कृषिसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। युवालाई उद्यमशीलताको बानीको विकास गर्नको लागि उद्यमशीलता विकास तालिम, डलकुशन तालिम सञ्चालन र उत्पादनको लागि उपकरण हस्तान्तरण, ब्युटीसियन तालिम, प्लम्बीङ तालिम, विभिन्न उत्पादनबाट अचार उत्पादन, बुटीक तालिम प्रदान, नयाँ लघु उद्यमी सृजनातर्फ अभिमुखीकरण, प्राविधिक सीप विकास तालिममा सेनेटरी प्याड र बाँसको मुडा तथा अन्य सामग्री उत्पादन लगायतका सीपमहरु प्रदान गरिएको छ। हामीले सीप दिएपछि इच्छुकहरूले काम थाल्नुपर्छ, केही समस्या आएमा हामी सहकार्यका लागि तयार नै छौँ।
जनताको सुझावका आधारमा तपाईँहरूले निर्माण गर्न लाग्नुभएको पञ्च वर्षीय आवधिक योजनामा के–कस्ता कुरा आए? अनि गाउँपालिकाले अब कस्तो योजना बनाउला?
गाउँपालिकाको दीर्घकालीन सोच, लक्ष्य र रणनीति तय गर्न सामूहिक रूपमा उपभोक्ता, राजनीतिक दलका प्रतिनिधि, विज्ञ, जनप्रतिनिधि, कर्मचारी लगायतबाट सुझाव लिएका छौँ। तिनकै आधारमा पैयुँका सम्भावित आयोजना तथा कार्यक्रमहरू, गाउँपालिकाको दीर्घकालीन सोच, लक्ष्य र रणनीति तय गरिँदै छ। सुझावलाई समेटेर जेठ मसान्त वा असार १५ सम्ममा यसलाई बाहिर ल्याउने योजना छ। आवधिक योजनाले अबको पाँच वर्षपछिको पैयुँको अवस्थालाई अहिले नै चित्रण गर्छ। कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, लगायतका क्षेत्रमा केन्द्रित सुझाव आएका छन्। हाम्रो स्थानीय तहका प्रमुख सम्भावना तथा अवसरहरू गाउँपालिका भित्रका सबै क्षेत्र, वर्ग, लिङ्ग, जात जाती सहितको समावेशी स्थानीय जनप्रतिनिधिहरूको नेतृत्व, स्थानीय सरकारमा कर्मचारी दरबन्दी अनुसारको पद पूर्तिको व्यवस्था, पछाडि परेकाहरूलाई मूल धारमा ल्याउनु, नदीमा खोलामा बहु उपयोगी प्रयोजन, पर्यटकलाई आकर्षण गर्ने कार्यक्रम, कृषि तथा गैर कृषि उपजको बजारीकरण, खाली जमिनको सदुपयोग, नगदे बालीको उत्पादन, पैयुँको उत्पादन निर्यात, प्राकृतिक तथा अन्य आर्थिक स्रोतहरूको परिचालन लगायत छन्।