शनिबार, साउन ५, २०८१
Saturday, July 20, 2024

पाङ युवा क्लबको सक्रियतामा पाङमा बाल क्लबहरू गठन

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१ पाङमा स्थापना भई सामाजिक सेवामा सक्रिय रहेको पाङ युवा क्लबको आयोजनामा पाङमा रहेको माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको उपस्थितिमा बाल क्लब गठन भएको छ ।

पाङ युवा क्लबका अध्यक्ष जयराम सुवेदीका अनुसार खरीबोट गोविन्दनाथ देव शर्मा माध्यमिक विद्यालयमा स्वस्तिका परियारको संयोजकत्वमा गौँरीशंकर बाल क्लब गठन भएको छ । यो समितिको सदस्यहरूमा लक्ष्मी बि.क., विद्या पौडेल, आदित्य परियार र श्रवण परियार रहनुभएको छ ।

यस्तै पाङ धैरेनी माध्यमिक विद्यालयमा बादल रिजालको संयोजकत्वमा सगरमाथा बाल समूह गठन गरिएको छ । जसको समितिमा स्वीकृति रिजाल, रेजिना रिजाल, अरूका रिजाल, समिता रिजाल, शर्मिला कँडेल, आशिष् चालिसे र मनोज नेपाली रहनुभएको छ । नुवार सुवेदीथर माध्यमिक विद्यालयमा प्रकृति परियारको संयोजकत्वमा माछापुच्छ्रे बाल समूह गठन भएको छ । जसको सदस्यहरूमा अमिर परियार, सफल सुवेदी, अर्पण चापागाईँ, अजय परियार र सोनिया शर्मा शर्मा रहनुभएको छ ।

सोही भेलाबाट सागर रिजालको नेतृत्वमा खेलकुद विभाग गठन भएको छ । उक्त विभागको लागि वडाध्यक्षको संयोजकत्वमा संरक्षक समिति तथा विज्ञान बम मल्लको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । उक्त कार्यक्रममा स्थानीय कृष्ण रिजालले १० हजार रुपैयाँ बराबरको स्टेसनरी प्रदान गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष खगराज पौडेलले वडामा कार्यालय स्थापनाको लागि कोठा उपलब्ध गराउने उदघोष गर्नुभएको छ । क्लबहरू हरेक विद्यालयका अभिन्न अङ्गको रूपमा विकास हुनुपर्ने सल्लाहकार भक्ति विलास रिजालले बताउनुभयो । यस्तै सल्लाहकार रामप्रसाद रिजालले क्लबले गरेका राम्रा कामहरूको प्रशंसा गर्दै हरेक असल काममा आफूहरूको साथ रहने उहाँको भनाइ छ । उक्त कार्यक्रमको सहजिकरण सचिव टेक बहादुर परियारले गर्नुभएको थियो ।

पाङ युवा क्लबले विभिन्न समस्यामा परेका नागरिकहरूको दैनिकीलाई सहज बनाउन राहत उठाउने काम सहितका सामाजिक कामहरू गर्दै आइरहेको छ । क्लबको नवनिर्वाचित कार्यसमितिको बैठक बसेर कुनै पनि आपत्–विपतमा तत्काल सहयोग गर्न सकियोस् भन्ने स्वच्छ उद्देश्यका साथ परोपकारी कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेअनुसार आर्थिक सहयोग सङ्कलनको काम पनि चलिरहेको क्लबका अध्यक्ष सुबेदीले बताउनुभयो । जन्म दिन, विवाह, व्रतबन्ध लगायतका कार्यमा गरिने फजुल खर्च कटाएर कोषमा जम्मा गर्न सके क्लबको कामले सार्थकता पाउने उहाँको भनाइ छ ।

यही अभियानमा जोडिएर बाल क्लब गठन कार्यक्रमको अवसर पारेर क्लबका आजीवन सदस्य तथा सल्लाहकार गणेश बहादुर मल्लले अक्षय कोषमा २५ हजार पाँच सय २५ रुपैयाँ २५ पैस जम्मा गर्नुभएको छ । यो सँगै अक्षयकोषमा हालसम्म एक लाख रुपैयाँ जम्मा भएको छ ।

क्लबले आउँदो वर्षलाई लक्षित गरेर करिब दुई हजार वटा अमलाका बिरुवा रोप्दै छ । विद्यार्थीबाट परिवर्तन सम्भव रहेकोले भ्रमण कार्यक्रम पनि आयोजना गरिने तथा गरिबिका कारण विद्यालय जान नसकेका बालबालिकालाई प्रोत्साहन गर्न शैक्षिक सामाग्री उपलब्ध गराउने पनि लक्ष्य राखेको क्लबका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive