पर्वत : नेपाल भूतपूर्व सैनिक सङ्घ पर्वतको छैटौँ जिल्ला अधिवेशनबाट निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरूलाई नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतले सम्मान गरेको छ ।
नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालय बि.पी. स्मृति भवनमा भएको कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशी, उपसभापति डा. चूडामणि शर्मा र शिवप्रसाद सुवेदी, सदस्य राजु बि.क. लगायतले उनीहरूलाई बधाई सहित सम्मान व्यक्त गर्नुभएको हो । अधिवेशनबाट सङ्घको सभापतित्वमा टेकबहादुर गुरुङ, सचिवमा निरबहादुर थापा, कोषाध्यक्षमा कृष्णबहादुर मल्ल तथा सदस्यहरूमा कृष्ण पुरी, यम बहादुर खड्का, राम बहादुर भण्डारी, सान बहादुर राना, खिमबहादुर के.सी, सन्तबहादुर गुरुङ, टङ्कबहादुर थापा मगर, होमबहादुर खत्री, मीनबहादुर गुरुङ, लिल बहादुर खड्का, बलबहादुर क्षेत्री र तुलबहादुर थापा निर्वाचित हुनुभएको थियो ।
अधिवेशनले प्रदेश प्रतिनिधिमा प्रदेश सभा क्षेत्र ‘क’ बाट भीमबहादुर के.सी र प्रदेश सभा क्षेत्र ‘ख’ बाट रामप्रसाद भुसाल, प्रदेश प्रतिनिधिहरूमा बलबहादुर थापा, गुणाखर न्यौपाने र मीन बहादुर गुरुङ चयन हुनुभएको थियो।
उहाँहरूलाई सम्मान गर्दै सभापति जोशीले सैनिक सङ्घका जुझारु व्यक्तिहरूका कारण नै नेपाली काँग्रेसको राजनीति बलियो बनेको बताउनुभयो । लामो समय सेवा गरेपछि पाएको अवकाशपछि जीवनलाई राजनीतिको माध्यमबाट समाजसेवामा लगाउनु खुसीको कुरा भएको भन्दै उहाँले सैनिक सङ्घको इमान्दारीताको प्रशंसा गर्नुभयो । हरेक आन्दोलनमा नेपाली काँग्रेसको अग्रपङ्क्तिमा रहेर सङ्घले साथ दिँदै आइरहेको र आगामी दिनमा पनि यस्तै साथ पाउने अपेक्षा रहेको सभापति जोशीले बताउनुभएको छ ।
सङ्घका सभापति टेकबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव निरबहादुर थापाले गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति डा. चूडामणि शर्मा र शिवप्रसाद सुवेदी लगायतले पनि मन्तव्य राख्नुभएको थियो ।