पर्वत : चितवनको भरतपुर महानगरपालिका–१० वालमन्दिर रोडमा रहेको अरोमा कलेजले पर्वतका शिक्षकहरूसँग अन्तरक्रिया छ ।
पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजना भएको कार्यक्रममा पर्वतबाट अरोमामा गएर उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीको अभिभावकहरूलाई समेत बोलाएर मायाको चिनो प्रदान गरिएको छ । काठमाडौँ उपत्यका बाहिरको श्रेणीमा पहिलो तथा नेपालको श्रेणीमा चौथो स्थानमा रहेको कलेजमा पर्वत सहित यस क्षेत्रका धेरै विद्यार्थीहरूको चाप बढेपछि आगामी दिनमा अरोमामा जाने विद्यार्थीहरूको पूर्व तयारी, कलेजले प्रदान गरिरहेको गुणस्तरीय शिक्षा, विद्यालयले अवलम्बन गरिरहेका असल अभ्यास लगायतका बारेमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै कलेजका प्रधानाध्यापक शेरबहादुर क्षेत्रीले करिब एक सय जना भन्दा बढी शिक्षकहरू कार्यरत रहेको कलेजको कक्षा ११ र १२ मा मात्रै करिब दुई हजार विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो । टिम अरोमामा रहेका १९ जना सञ्चालकहरूले विद्यालयमा शिक्षककै रूपमा खटेर विद्यार्थीको उपलब्धि स्तर वृद्धि गर्न खटेका कारण नै विद्यालयले देशमा नै साख कमाएको उहाँको भनाइ छ ।
उक्त कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष कृष्णप्रसाद सापकोटाले पर्वतबाट अरोमा कलेजमा पुगेका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । कुश्माको कालीगण्डकी एकेडेमी र नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयबाट गएका विद्यार्थीहरूले ईञ्जिनियरिङदेखि मेडिकल क्षेत्रतर्फ पनि छात्रवृत्तिमा नाम निकाल्दै उत्कृष्ट श्रेणीमा कायम हुन सकेकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी हुनुभएका सामुदायिक तथा निजी विद्यालयका शिक्षकहरुले देशमा नै उत्कृष्ट नतिजा निकाल्दै आएको अरोमा कलेजले पर्वतका विद्यार्थीहरुलाई विशेष ध्यान दिइरहेकोमा खुसी व्यक्त गर्नुभयो । विद्यार्थीको नतिजा र उनीहरूको व्यवहारिक परिवर्तनमा कलेजले विशेष ध्यान दिएकोले नै अरोमा सबैको रोजाइमा परेको उहाँहरूको भनाइ थियो ।
अन्तरक्रियाको समन्वय नमस्ते बुक्स एन्ड स्टेशनरी कुश्माले गरेको थियो ।