बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024

अविरल वर्षाले घरमा पहिरो आउँदा कास्कीमा दुई जनाको मृत्यू, सडक र घरमा क्षति

पर्वत : गए रातीदेखि भइरहेको अविरल वर्षाका कारण कास्कीमा दुई जनाको मृत्यू भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माका अनुसार गए राती करिब सवा दुई बजेको समयमा मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा रहेको प्रकाश रानाभाटको घर पछाडिबाट घरमा पहिरो आउँदा १३ वर्षिया बालिकाको मृत्यू भएको छ।
स्थानीय प्रकाश रानाभाटको ब्लक र टिनले बनेको तीन कोठे घर पछाडि माटोको ढिस्को खस्दा घरमा सुतिरहेका हजुरआमा र नातिनीलाई पहिरोले पुरेको थियो। पहिरोको बारेमा थाहा पाएपछि इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको थियो। उद्धारका क्रममा नातिनी मृत अवस्थामा भेटिएको र ७० वर्षिया लालमाया बन्जारीलाई सकुशल उद्धार गरिएको प्रहरीले बताएको छ। उनको सामान्य अवस्थामा नै उपचार भइरहेको छ।
यस्तै बुधवार बिहान तीन बजेको समयमा पोखरा महानगरपालिका–२७ आरूपाटा पनि घरमा पहिरो आउँदा तीन वर्षिय बालकको मृत्यू भएको छ। स्थानीय हरि सुनारको ढुङ्गा र माटोले बनेको कच्ची घर माथिबाट पहिरो आई घर भत्किएको थियो। प्रहरीले उद्धार गर्ने क्रममा सुनारको छोरा अनमोललाई मृत अवस्थामा फेला परेको थियो भने हरिकी श्रीमती २७ वर्षिय रितु सुनार घाइते अवस्थामा भेटिएकी थिइन्। गम्भीर अवस्थामा रहेकी उनको उपचार गण्डकी मेडिकल कलेजमा चलिरहेको छ। हरि र उनकी ९ वर्षिया छोरी अञ्जलीको भने सकुशल उद्धार गरिएको छ। घरमा पूर्ण रूपमा क्षति भएको छ।
वर्षाकै कारण पृथ्वी राजमार्गमा सडक पनि भासिएको छ। बुधवार बिहान करिब साढे छ बजेको समयमा पोखरा महानगरपालिका–१४ चाउथेस्थित आनन्द टोलमा घट्टे कुलोमा पानीको बहाव बढ्दा सडक भासिएको हो। अहिले सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।
वर्षाले बुधवार बिहान पोखरा महानगरपालिका–७ गैरी खेतमा रहेको एक घरमा क्षति भएको छ। अविरल वर्षाले स्थानीय कुमार सुनारको घर र रेसम गुरुङको घरमा पानी पसेको थियो। घर डुबानमा परेपछि प्रहरीले मोटरद्वारा पानी तानेर उद्धार गरेको छ। यस्तै बुधवार राती नै पोखरा महानगरपालिका–३३ बागमारामा रहेको सिप्लिङ तारा टोलमा अविरल वर्षाले घरमा पानी पसेर क्षति भएको छ। अस्थायी प्रहरी पोस्ट बागमाराबाट गएको प्रहरी टोली उद्धार गरेको तर मानवीय क्षति नभएको प्रहरीले बताएको छ। उक्त राम्जी बास्तोला, सुमन बि.क. र बाबुराम बस्नेतको घरमा क्षति भएको हो।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive